कांग्रेस सभापतिमा देउवा निर्वाचित, पदाधिकारीको गणना आज साँझदेखि

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन्।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे। त्यस्तै डा. शेखर कोइरालाले १८५५ मत ल्याए ३५ मत बदर भएको थियो। सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो। दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो। दोस्रो चरणको मतदानमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका थिए।

त्यस्तै पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आज साँझबाट हुने भएको छ। कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले आज साँझबाट मतगणना हुने जानकारी दिए। पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *