जाँदाजाँदै ओलीले भने- संसद र सरकार सही सलामत रहला भन्नेमा शंका छ

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमै पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र हटाउने काम भएको टिप्पणी गरेका छन्। मंगलबार देशवासीमा नाममा सम्बोधन गर्दै उनले यो नै विश्वमा अनुकरणिय भएछ भने विडम्वना नै भन्नुपर्ने टिप्पणी गरे। ओलीले देशका लागि विकास र सार्वभौमिकताको कुरा उठाएका कारण नेकपा (एमाले)को सरकार ढालिएको दाबी गरे।

‘जनताका बीचमा जाउँ भन्दा जान नखोज्ने। जनता भन्ने बित्तिकै थरर हुने’, ओलीले भने, ‘विश्वमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री हटाउने र तोक्ने काम भयो।’ सरकार ढाल्न बाहिरबाट कोशिस भएको पनि उनले बताए। ‘एमाले पार्टी फुटाइयो। केही मानिसहरुको महत्त्वकांक्षाका कारण पदको कहिल्यै तृप्त नहुने महत्त्वकांक्षाले पार्टीभित्र असन्तुष्टि फैलियो’, उनले भने, ‘म निर्वाचित अध्यक्षलाई थाहै नदिइ हटाइयो।’

उनले एमालेभित्रबाट अदालतमा हस्ताक्षर गर्दै विपक्षीसँग मिलेर षडयन्त्र गरिएको दाबी गरे। विपक्षीलाई बल दिने अनुशासनहीन र अराजक काम भएको ओलीको टिप्पणी छ।

उनले जनताको जनादेश नभई सर्वोच्चको परमादेशले बाहिरिन परेको बताएका छन्। ‘मेरो पक्षमा जनताको जनादेश थियो तर सर्वोच्चको परमादेशले विदा लिँदैछु,’ मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले भने, ‘मलाई चिन्ता छैन। मैले यसकारण पद छोडेको छु, मैले देशको समृद्धि र शुसासनलाई ध्यानमा राखेर काम गरेको छु।’

आफूले पदमा रहँदा इमानदारीका साथ काम गरेको पनि उनले दाबी गरे। ‘सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन। इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्‍याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु,’ ओलीले भने।

‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ, समयमा निर्वाचन होस्, मलाई शंका छ,’ उनले भने, ‘लोकतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ। राष्ट्रिय आवश्यकतातिर सबैको ध्यानाकर्षण गराउन चाहन्छु । हामी कुनै उन्मादमा जानु आवश्यक छैन, निराश हुनु पनि आवश्यक छैन।’

देशका घटनाक्रम र पात्रले शंका उब्जिएको ओलीले बताए। ‘जे जस्ता घटना हुँदैछन्– संसद रहला, अब बन्ने सरकार सही–सलामत अगाडि बढ्ला शंकै छ। यसमा परिचित पात्रहरू छन्, ती पात्रका इतिहास र भूमिका देश र जनतालाई थाहा छ, मैले भनिराख्नु पर्दैन। आजको आवश्यकता एकताबद्ध भएर जानुपर्ने थियो। राष्ट्रिय सार्वभौमसत्ता र स्वाधिनतालाई सबल बनाउँदै जानुपर्ने आवश्यक थियो। तर त्यस्तो हुन सकेन।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *