प्रहरीद्वारा राना थारु हत्या घटनाका योजनाकार जयन्ती चौधरी सार्वजनिक, पाँच वर्षदेखि थियो अवैध सम्बन्ध

कैलालीको गोदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले रानाको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकी ३७ वर्षीया जयन्ती चौधरीलाई बिहिबार पत्रकार सम्मलेनमार्फत् सार्वजनिक गरेको हो। मृतक र चौधरीबीच पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ।

सोही ठाउँकी ती युवतीले साबिती बयानका क्रममा रानाले आफुलाई सताइरहने गरेका कारण हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेकी छिन्। उनले आफ्ना नाता पर्ने एक युवक र उनका सहकर्मीलाई केही रकम दिएर रानाको हत्या गर्न लगाएको समेत स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

साथै हत्यापछि फरार रहेका ती दुवै युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले बताए। यही फागुन १५ गते निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शिवचरण रानाको शव फेला परेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *