भूमि व्यवस्था मन्त्री रञ्जिताले गरिन् कोहलपुरमा मालपोत र नापीको शुभारम्भ

मालपोत र नापीको सेवा प्रवाह बाँकेको कोहलपुरबाट समेत हुन थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयलको आज सेवा प्रवाह शुभारम्भ गरिन्।

सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिक आफ्नो काम काज गराउनका लागि अब नेपालगञ्ज धाउनु नपर्ने बताइन्। उनले भनिन्, ‘कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिकले आजबाट मालपोत र नापीको काम गराउन कागजपत्र बोकेर नेपालगञ्ज जान पर्दैन।’

उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य ढकालले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहजरूपले सेवा दिने विश्वास व्यक्त गरिन्। उनले जनताको कामसँग प्रत्यक्ष जोडिने मालपोत र नापी कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी रहेको उल्लेख गर्दै चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिइन्।

कोहलपुरबाट सेवा प्रवाह गर्नका लागि गत असोज २६ गतेदेखि नै नेपालगञ्जबाट हुने कामकाज रोकिएको थियो। नापी र मालपोत कार्यालय कोहलपुरको कार्य क्षेत्रमा पर्ने सबै वडाको कामकाज आजदेखि कोहलपुरबाट नै हुने मालपोत कार्यालय कोहलपुरका प्रमुख निरबहादुर दाहालले जानकारी दिए।

उनले भने, ‘कोहलपुर कार्यक्षेत्र रहेका साविकका गाविसको कामकाज पाँच दिन रोकेर आवश्यक कागजात सबै नेपालगञ्जबाट कोहलपुर ल्याइसकेका छौं। अब नापी र मालपोतसम्बन्धी कामका लागि कोहलपुर कार्य क्षेत्रभित्रका नागरिक नेपालगञ्ज जानुपर्दैन।’

नापी र मालपोत कार्यालय कोहलपुरबाट सेवा प्रवाह हुने भएपछि तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी काम कोहलपुरबाटै हुनेछ। कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी कामका लागि नेपालगञ्ज जानुपर्ने अन्त्य भएको छ। दुवै कार्यालयले कोहलपुरमा आवश्यक पर्ने कागजात नेपालगन्ज कार्यालयबाट लगिसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *