बस दुर्घटनामा बर्दियाका तीन थारूसहित ७ जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गमा बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटना हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बेतहनीका सात जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख इन्सपेक्टर गोपीकृष्ण सुवेदीका अनुसार अनुसार दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज नजिक बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग शुक्रबार राति ९:११ मा ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको मृत्यु भएको हो।

प्रमुख सुवेदीका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा ९ को बेतहनी सामुदायिक वन समितिको पदाधिकारी सहितको भ्रमण टोली दाङको धारापानी पुगेर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा ठाकुरबाबा-९ की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काँशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, बस चालक ४५ वर्षीय जुबहादुर चन्द (ठाकुरबाबा-८ ) र ३५ वर्षीय गाडी सहचालक रहेका छन् । सह चालकको भने पहिचान खुलेको छैन ।

बसमा सवार ४१ जनामध्ये २ जना गम्भीर, १२ जना मध्यम, १५ जना सामान्य घातइते भएको प्रहरीले जनाएको छ। अन्य ५ जना भने सकुशल रहेका छन्। दुर्घटनामा घाइते भएकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा रिफर गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *