नेपालगञ्जमा ‘थारू गाउँ’, थारू परिकार खानेको भीड

नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारु संस्कृतिमा दर्शक रमाउने गरेका छन्। प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारु संस्कृति हेर्न र थारु परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने गरेको छ।

महोत्सवका १७ वटा कक्षमा थारु गाउँ सञ्चालन गरिएको सञ्चालक हेमन्त चौधरीले बताए। थारु गाउँमा थारु संस्कृति र खानाका परिकारको स्वाद लिन दर्शकको भीड हुने गरेको उनको भनाइ छ। महोत्सवभित्र राखिएको थारु गाउँका कक्षमा थारु परिकार सजिएका छन्। महोत्सव हेर्न आएका दर्शकको थारु परिकारको स्वाद लिन लाइन लाग्ने गरेको छ।

थारु गाउँमा थारु परिकार घोघी, बङ्गुरका परिकार, स्थानीय जातको कुखुराको मासु, माछाका परिकार, झिङ्गे माछा, गङ्गटाका परिकार, डोकनीमा पिसेको अचारलगायत अनदिको झोल पाइने गरेको चौधरीले बताए।

महोत्सव हेर्न आउने अधिकांश दर्शक थारु गाउँ जाने गरेकाले थारु गाउँका हरेक कक्षमा ग्राहक भरिभराउ हुने गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले जानकारी दिए।

महोत्सवमा थारुको कला संस्कृतिको प्रवर्द्धनका लागि थारु गाउँ सञ्चालन गरिएको उनको भनाइ छ। पश्चिम नेपालमा औद्योगिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नेपालगञ्जमा महोत्सव आयोजना गरिएको हो।

गत मंगलबारदेखि नेपालगञ्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महासंघका महासचिव जीआर भुसालले बताए। महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिनेगरी कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका तीन सय स्टल राखिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *