सुदूरपश्चिममा सहमति विपरीत गठबन्धन गएको भन्दै सभामुख चयनमा नागरिक उन्मुक्ति बस्यो तटस्थ

सभामुख चयनका लागि बिहीबार भएको मतदानमा बहुमत जुटाउन नसकेको सुदूरपश्चिमको सत्ता गठबन्धन शनिबार राति भएको पुनः मतदानमा पनि बहुमत जुटाउन असफल भएर सभामुख चयन गर्न असफल भएको छ ।

सभामुख चयनका लागि दोस्रो पटक शनिबार भएको मतदानमा सत्ता गठबन्धनकातर्फबाट सभामुख पदका उम्मेदवार रहेका माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारीले बहुमत प्राप्त गर्न नसकेपछि सत्ता गठबन्धन नैतिक संकटमा परेको छ ।

पुनः मतदानमा पनि गठबन्नका उम्मेदवार भण्डारीको पक्षमा २२ मत मात्र पुगेपछि सभाध्यक्ष शिवराज भट्टले अस्विकृत भएको घोषणा गरे । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि उनका पक्षमा बहुमत जुट्न नसकेको हो ।

सुदूरपश्चिममा माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति (७) र राप्रपा (एक) गरी २९ जनाको सत्ता गठबन्धन छ । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसदको आवश्यकता पर्छ ।

बिहीबारको मतदानमा ५० जना मतदानमा सहभागी भएका थिए । त्यसमध्ये सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भण्डारीको पक्षमा २६ मत खसेको पछि एक मत अपुुग भएको थियो । विपक्षी गठबन्धनकातर्फबाट भने कांग्रेसका मानबहादुर रावल सभामुख पदका उम्मेदवार छन् । उनले पहिलो दिनको मतदानमा २३ मत पाएका थिए भने शनिबार भएको मतदानमा २२ मत पाए । विपक्षमा कांग्रेस, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसद छन् ।

सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री र माओवादी केन्द्रलाई सभामुखको बाँडफाँट छ । नागरिक उन्मुक्तिलाई उपसभामुख दिने भनिएको छ । तर मुख्यमन्त्री नियूक्त गर्न सघाएको नागरिक उन्मुक्तिले सभामुख निर्वाचनमा सघाइरहेको छैन ।

शनिबार बसेको प्रदेश सभा बैठकमा नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले भने ‘सहमतिविपरीत मन्त्री नियूिक्तको विरोधस्वरुप बिहिबार सम्पन्न पहिलो दिनको सभामुख चयनको मतदानमा अनुपस्थित भएको हुँ, हामीसँगका सम्झौता कहिल्यै पालन भएनन् । आजको मतदानमा हाम्रा सबै सांसदहरु तटस्थ बस्नेछन् ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *