थारू महिलाले आज जितिया पर्व मनाउँदै

थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ।

यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन्। पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन्।

उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया मनाउँछन्। थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताए। उनले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको उनले जानकारी दिए।

हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उनको भनाइ छ। यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ। त्यस्तै जितियामा कोसेली (पहुरा) पुर्‍याउने चलन पनि छ।

सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहर) ‘उपास’ व्रत बस्ने मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताइन्। बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन्। त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उनको भनाइ छ।

भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने उपप्रमुख चौधरीको भनाइ छ। विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीतवाहनको कथा (जितिया व्रत कथा) घण्टौं लगाएर सुनाउने गर्ने प्रचलन रहेको भए पनि विस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ। कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे।

जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ‘गरग्वाङ’ बनाएर मासको गेडाले पूजा गर्छन्। खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन्। तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएरमात्र खान्छन्। त्यसलाई ‘पारन’ भनिन्छ।

यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ। हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताइन्। पछिल्लो समय जितिया पर्वको रौनकता हराउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन्।

‘पुरानो पुस्ताले मनाउने गरेको जसरी अहिले जितिया मनाउने प्रचलन हराउँदै गएको छ,’ उपप्रमुख चौधरीले भनिन्, ‘यो पर्वको संरक्षणमा सम्पूर्ण थारू समुदायसहित सरकारले पनि चासो दिनुपर्छ।’ पछिल्ला दिनहरूमा जितिया पर्वमा विकृति भित्रिँदै पार्टीप्यालेसमा मनाउने प्रचलनसमेत बढ्दै गएको उनले बताइन्।




Leave a Reply

Your email address will not be published.