स्थायी कमिटी र पदाधिकारीमा नपरेपछि प्रचण्डसँग ‘विद्रोह’ गर्ने मुडमा थारु नेताहरु

लामो प्रयासपछि नेकपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको पदाधिकारीको नाम नै सर्वसम्मतले पारित भएको हो।

निर्णयअनुसार पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन्। त्यस्तै महासचिवमा देवप्रसाद गुरुङ, उपमहासचिवमा नेता हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत चयन भएका छन्।

त्यस्तै सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य चयन भएका छन् भने कोषाध्यक्षमा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाललाई चयन गरिएको छ।

स्थायी कमिटी सदस्य र पदाधिकारीमा नपरेपछि थारु नेताहरु असन्तुष्ट भएका छन्। सशस्त्र जनयुद्धमा ठूलो सहभागिता रहेको थारु समुदायलाई बाइपास गरेको भन्दै थारु नेताहरु प्रचण्डसँग असन्तुट बनेका हुन्।

‘कमरेड प्रचण्डले पछिल्लो समय थारु नेताहरुलाई बाइपास गर्दै आउनुभएको छ। तीन जनामा सीमित पारिदिनुभएको पोलिटव्युरोमा उहाँले स्थायी समिति र पदाधिकारीमा एउटा थारुलाई पनि ल्याउनुभएन। यस्तै हो भने थारुहरु विद्रोह गर्ने दिन आउनसक्छ,’ एक केन्द्रीय सदस्यले थारुवानसँग भने।

माओवादीको पोलिटव्युरोमा बर्दियाका सन्तकुमार चौधरी र कैलालीका श्रीमान श्रीमती नेपबहादुर चौधरी र रुपा चौधरी चयन भएका थिए।

गत पुसमा भएको आठौं महाधिवेशनबाट १२ जना थारुहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। खुलातर्फ नेपबहादुर चौधरी, इन्द्रजीत थारु र वीरमान चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने थारु कोटातर्फ पुरुषमा सन्तकुमार चौधरी, हरिनारायण चौधरी र देवीलाल चौधरी निर्वाचित भएका थिए।

त्यस्तै महिलातर्फ रुपा चौधरी, अन्जना चौधरी, मञ्जु चौधरी र कृष्णा चौधरी निर्वाचित भएका थिए भने थारु कोटाकै पुरुष युवाबाट अमनलाल मोदी र महिला युवाबाट रामकुमारी चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।




One thought on “स्थायी कमिटी र पदाधिकारीमा नपरेपछि प्रचण्डसँग ‘विद्रोह’ गर्ने मुडमा थारु नेताहरु

  1. चोक्टा खाना गएकी बुढी झोलामा डुबेर मरी भनेको यही हो

Leave a Reply to दहित गोपाल Cancel reply

Your email address will not be published. Required fields are marked *