चट्याङ लागेर दुई जना थारुको मृत्यु, तीन जना घाइते

कैलालीमा चट्याङमा परी कैलारी गाउँपालिका-१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

घर नजिकैको खेतमा रोपाइँ गर्ने बेला उनी चट्याङबाट घाइते भएकी थिइन्। उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा चौधरीको बाटोमै मृत्यु भएको जोशीले बताए।

चट्याङबाट कैलारी-३ का ३२ वर्षीय धनिराम चौधरी र सोही गाउँपालिका-४ का ३४ वर्षीय कृष्ण चौधरी घाइते भएका छन्। आफ्नै खेतमा धानको बीउ निकाल्ने क्रममा चट्याङ पर्न गई दुवै जना घाइते भएका हुन्। दुवैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

त्यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। चट्याङ लागेर घाइते भएका राप्तीसोनारी-३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन्। उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *