थारू समुदायमा गुञ्जन्छ रोपाइँमा सजना गीत

कृष्णराज सर्वहारी।

यतिबेला नेपाली किसान खेत रोप्न ब्यस्त छन् । मानो रोपेर मुरी फलाउने समय हो यो । तराईवासी थारू सुमदायको पनि पुख्र्यौली पेशा हो कृषि । थारू समुदायले सजना गीत घन्काउँदै रोपाइँमा थकाइ मेट्छ । हिन्दीमा सजना र सजनी शब्दले क्रमशः प्रेमी प्रेमिकालाई इंगित गरेझैँ थारू लोकसाहित्यमा पनि सजनाको अधिकांश गीत प्रेमी पे्रमिकाको विरह, मिलनको गाथाको रुपमा आएको देखिन्छ । यद्यपि सजनामा त्यसबाहेक थारू संस्कृतिको अभिन्न पाटो खेतीप्रणाली, शिकारी संस्कार, पौराणिक पात्रका गाथाका गीत आदि पनि पर्छन् ।

धान खेतीको समय प्रायः जेठदेखि साउनसम्म होे । त्यसैले सजना प्रायः जेठदेखि साउनसम्म गाइन्छ । कुनै वर्ष खेतीको समयमा वर्षात् नभएमा गोरु÷गैया बेंढना (गाईलाई बन्दी बनाउने) संस्कृति अन्तर्गत गाउँ गाउँमा सजना गाउँदै पानी पार्न अनुरोध गरिन्छ । यसमा केटीहरु केटाको पोशाक लगाई छाता ओढेर गीत गाउँदै हिँड्छन् । गोरु बेंढनेहरुले मेघवा बाबा (भ्यागुता)लाई पनि बन्दी बनाउँछन् र भोजन गराउँछन् । अनि सजना गाउँदै गाउँबाहिर निस्किन्छन् ।

चारु कोना कलस ढरैबुँ रे कि कलसा मैँ छुआइटुँ
हाँठ जोरि विन्टि सुरुजा डेउटा कि मै बर्खा मनाइटुँ
पस्चिवैसे उमरल कारि रि बडरिया रे,
एक बुन्डा पनिया गिराइडेउ मोर हिरना भिजाइ डेउ​

अर्थात् चारै कुना कलश राख्न लगाउँला, कलश म छोऔँला, ए सूर्य देउता, तिमीसँग कर जोडी विन्ती गर्दै वर्षाको लागि आह्वान गर्दैछुँ । पश्चिमबाट कालो बादल आयो तर पूर्व भाग्यो । एक बुँद त पानी पार्देउ, मेरो हिरना (धर्ती) भिजाइ देऊ । अध्येता छविलाल कोपिलका अनुसार आश्चर्यको कुरा के छ भने जुन दिन गोरु बेंढना रित पूरा गरिन्छ, त्यो दिन संयोगले पानी परेको हुन्छ ।

जब पानी पर्छ, किसानहरु खेतमा ओइरिन्छन् । यता भर्खर भर्खर नयाँ दुलही भित्र्याएको श्रीमान् भने खेतमा कम, घरको यादले उसलाई बढी सताइरहेको हुन्छ । काम गर्ने मित्रले उसलाई सजनामार्फत् गिज्याउँछ ।

खेट्वा टे जोटल मुरसुवा रे…कि कोडरा छनाछन
कव अइहि लौलि डुल्हनिया, कलवा पानि डेहे ।

अर्थात् मुरसुवा नामक् व्यक्ति खेतमा दनादन कोदालो उजाउँदै छ, उसलाई भोकले सताइसक्यो । उसकी नयाँ दुलही कलवा (बिहानको खाना) दिन कति बेला आउँदैछिन् कुन्नी ? उता नयाँ दुलही खाना पानी लिएर खेत पुग्छिन् र सजनामार्फत् यसरी भाव व्यक्त हुन्छ ।

सिरे टे लेहल गगरिया रे, हाँठे र करुवा पानि
भुजवा टे लेहल कोछियाइ, चलल खेट पानि डेहे
ना मै डेखुँ रुख्वा, बरिख्वा, ना सिटल जुर छाँहि
घैला छलक चुन्डरि भिजे, कहाँ रे ढारु पैला ?
(कुशुम्हिया, २०५७ः १९)

अर्थात् शिरमा घैँटो, हातमा करुवाको पानी, कम्मरमा भोजन लिएर खेतमा गइरहेकी दुलहीले खेतमा न रुख देख्छिन्, न कुनै शित्तल स्थान । उनको घैला छल्किएर चुनरी भिजिरहेको हुन्छ । त्यसैले सोध्छिन्, ए स्वामी घैलाको पानी कता राखु, हँ ? यसरी किसानहरु खेतीपातीको लागि जब खेतमा छरिन्छन्, सजना गीतको रागले खेतै संगीतमय हुन्छ ।
सजनामा विछोडको पीडा

परदेशमा बस्ने श्रीमान्को विछोडको पीडा कुन पो श्रीमतीलाई हुँदैन र ? तर भर्खरको बेहुलीको विछोडको पीडा झन् कष्टकर हुन्छ । बरमासा सजनामा एक नवदुलहीले लामो समयको लागि विछोडिएको स्वामीलाई महिना (ऋतुं) अनुसार यसरी सम्झिन्छिन्–

पुस मासकै महिना रे, जारा कैनै बहुट
आज पिया मोरे हुइटै कि अग्नि जलैटैं
माघ मासकै महिना रे, पाला परलै ढुसला
आज पिया मोर हुइटै, कोरा लैके सुटटुँ
बैसाख मासकै महिना रे, ढारु धुप कैनै
आज पिया मोरे हुइटै कि बेनिया डोलैटुँ
(चौधरी, २०५७ः २०)

अर्थात् ओहो पुुुसको महिनामा कति जाडो भएको, यदि पिहा (श्रीमान्) भएको भए अग्नीको धुनी जलाउने थिएँ । माघमा कस्तो असिना परेको, हुस्सु लागेको, यदि श्रीमान् भएको भए उनको काखमा हराउने थिएँ । बैशाखमा कस्तो उखरमाउलो गर्मी, यदि श्रीमान् भएको भए बेना (पंखा) हौँकिने थिएँ । उता अर्को प्रसंगमा वैशाख महिनामा सँगसँँगै भएको लोग्ने सुख निंदका साथ सुतेर आफूलाई वेवास्ता गरेको देखेर सजना सिर्जिन्छ–

जाग्यो रे पिहा जाग्यो रे बैशाख भर जाग्यो
चलि जैबुँ गोहुँकि लँवागि खाए, पाछे रे पस्टैबो ।

अर्थात् ए पिहा बैशाख भर त जागा होऊ । गहुँको लँवागी (नयाँ रोटी चढाएर खाइने रिती) खान माइती गएँ भने पछि पछुताउलाऊ नि । यता लोग्नेले सजनामार्फत उत्तर दिन्छः

जायो रे ढानि जायो रे, टिकुलि छोडि जायो
टिकुलि हेरि हेरि जियरा बुझैबुँ, सिरहनि ढैके सुट्बुँ ।

अर्थात् ए ढानी (पियारी) माइती जाने नै भए टीका (बिन्दी) छोडी जानु है, त्यही हेरेर चित्त बुझाउनेछुँ । त्यसैलाई सिरानीमा राखेर सुत्नेछुँ । यी त भए नव वेहुला–वेहुलीका प्रसंग । उता आफ्नो इच्छा विपरित बाबुले सानै अवस्थामा विहे गरेर दूर देश पठाउँदा चेलीले सजनामार्फत् विछोडको पीडा ओकल्छे–

हारक टे हरले बाबा रे, अइसिन डुर हरले
गंगामे कुड्गि मरजैबुँ, खबर नहि पैबे
बलटल खबर पैबे बाबा रे, बहरिम बैठल रोइबे ।

अर्थात् ए बाबा, आफ्नो सामुन्नेबाट पठाउन त पठायो, निकै टाढा पो पठायो । गंगामा कुदेर मर्नेछुँ, खबर पाउने छैनौ । बल्लतल्ल खबर पाए, पिढीमा बसेर रुनेछौ ।
खेतीपातीको चिन्तनमा डुबेकी चेलीलाई जब उनकी नजिकको सखीले तिम्रा श्रीमान् त अरुसँग लागेर हिँड्छन्, किन आफ्नो मान्छेलाईं सँझाउदिनौ भन्छिन् । थकित मनस्थितिमा रहेकी उनले भन्छिन्–

अरे, नोन टेल हुइटैँ जोख्टुँ रे, पिहा कैसे जोखौं
गोरु भैंस हुइटैँ बँढ्टुँ रे, पिहा कैसे बाँढौँ
मुर्गि चिंग्ना हुइटैँ छोप्टुँ रे, पिहा कैसे छोपौँ
मोरे पिहा मरड भँवरवा, छट्टिस फूला लोह्रहिं

अर्थात् नुन, तेल भए कम भयो कि भनेर जोख्ने थिएँ, पिहा (श्रीमान्) लाई कसरी जोखौँ ? गोरु भैँसी भएको भए पिहालाई बाँध्ने थिएँ, पिहालाई कसरी बाँधौँ ? कुखुराको चल्ला भए छोप्ने थिएँ, पिहालाई कसरी छोपौँ, मेरा स्वामी त मर्द भमरा हुन्, छत्तीस फुल चुसुन्, म के नै गर्न सक्छुँ र ? यसरी यसमा महिलाको लाचारी व्यक्त भएको छ । यस्तो अवस्थामा जोगी भएर हिँड्न पाए नि हुन्थ्यो भन्ने भाव पलाउनु स्वाभाविकै हो ।

जोगिन्या बजावै सोनक् बसिया रे, रुपन लागल डोरि हो
अइसा मन लागल मयरि, जोगिन हुइ जैबुँ ।

अर्थात् आँगनमा जोगीको टोली आएको छ । जस मध्येकी एक जोगिनीले बाँसुरी बजाउँदै छिन् । बाँसुरीको डोरीको रुप पनि कति सुन्दर हो, ए मेरी आमा मलाई त जोगिनी हुन पो मन लाग्यो । यसरी जोगिया सजना भनेर कथावस्तु बोकेको छुट्टै सजना पनि थारू लोकसाहित्यमा छ । जसमा बयस्क युवतीले १६ सय जोगीबाट एक जोगी सुन्दर देखेको, उसैको पछि लाग्ने निर्णय बाआमालाई सुनाउँदा घर घर भिक्षा माँग्नुपर्छ, रनवन पुग्नुपर्छ, भन्दा पनि नमान्दा जोगीलाई नै सुम्पेको कथा छ । विदाईमा बा आमा त रुने नै भए, तर भाउजुको मन आनन्दित हुन्छ । घर छोड्दा दुलहीले गुरही (खेलौना) विर्सेर आएको, उसलाई घर छोड्न लागेको संझाउन नसकेकोेले दाजुलाई स्याहारेर राख्न भन्छिन् तर भाउजुले गुरही छिन्न भिन्न पार्छिन् ।
सजनाका अन्य पक्ष

थारू गुरुवा (धामी) हरुले वाचन गर्ने जति पनि मन्त्र छन्, त्यसमा महादेव पार्वतीको दुहाईमा तिनलाई संझिएको प्रसंग छ । सजनामा पनि यिनका प्रसंग छन् ।

गौरी टे गैनै जगाइ रे, उठो हो महाडेव
बसहा बरडा बेचि डारो, छिन भर सुटो ।

यसरी महादेवलाई पनि खेती प्रणालीमा थारू लोकसाहित्यमा ल्याएको देखिन्छ । यहाँ निदाएका महादेवलाई गौरी (पार्वती) ले भन्छिन्– कति सुत्छौ ए महादेव । यहाँ ग्राहक आएका छन्, बसहा (गोरु) बेँच अनि फेरि सुत्नु ।

सजना र सजनीको (प्रेमी र प्रेमिका) को प्रसंग सजनामा स्वाभवतः आउँछ । प्रेममा घात, प्रतिघात हुन्छ । विहे भएकी महिलाले अर्को प्रेमीसँग वार्तालाप गरेको प्रसंग हेरौँ ।
गोरे पहिरे चन्डन खरौला रे, जिउ रे पहिरे ढोटि
मोरे अंगना होके गैलो छैला, महि नै जगैलो ।

अर्थात् चन्दन काठको खराउ लगाएर, धोती कुर्तामा चमक दमक गरी राती मेरै आँगन भएर गयो रे, तर मलाई किन ब्यूँझाएनौ ए मेरा प्यारा ?

डुवारे टोर बाटै सग्गे ससुरवा रे, बहरि टोर जेठवा
सेज पठरि बाटैँ टोर समिया, कैसे रे टुहिन जगैबुँ ।

अर्थात् ढोकामै तिम्रो सहोदर ससुराको ओच्छ्यान छ, पिढीमा तिम्रा जेठाजु सुत्छन्, तिम्रो ओच्छ्यानमा तिम्रो स्वामी (पति) पनि छन्, यस्तोमा मैले तिमीलाई कसरी ब्यूझाउन सक्थेँ र ? प्रेमीले लाचारी व्यक्त गर्दा प्रथभ्रष्ट महिलाले नै उपाय सिकाउँछे ।

गोरियम मारि जगैटो रे, हम ढानि जगटुँ
छोडि जैटुँ पिहवा रे, टोहारे सँगे लगटुँ ।
(थारू, २०५७ः ११)

अर्थात् गोडामा सामान्य छोएजस्तो हानेको भए म ब्यूझिहाल्थेँ नि । त्यसपछि त पिहा (स्वामी) लाई छाडेर तिम्रै साथ लाग्ने थिएँ । यसरी बहुविवाहको प्रसँग मात्रै होइन, अन्तर्जातीय विवाहको संभावनाको प्रसंग पनि सजनामा देखिन्छ ।
सटरंग गोन्डिरि विछैनै रे, डरजि भैया बैठे
सुटुर सुटुर डरजि सिएनै कि सुवरनि मुस्कि मारे

यहाँ आफ्नो घरमा लुगा सिउन आउने दर्जीलाई रंगीन गुन्द्री ओच्छ्याएर स्वागत गरी लुगा सिएको हेर्ने र मुसुक्क मुस्कान छाड्ने सुवरनी नामक् जवान केटीको वर्णन छ । समग्रमा थारू लोकगीत सजनामा माया प्रेम, पौराणिक पात्रका गाथा, खेतीप्रणाली तथा पशुपालन वर्णन नै बढी भेटिन्छ । त्यस्तै, थारूहरुको शिकारप्रतिको मोहले शिकारी युगको झल्को पनि सजनामा पाइन्छ ।

भाग्यो रे सुगा भाग्यो रे, कजरि वनमेँ भाग्यो
गोहिक पिहा बटाँ रे सिकरिया बट्टिस गोलि मरहिं

यहाँ सजनाको सामान्य अर्थ लगाउँदा एक चेलीले आफ्नो सखीको लोग्ने निकै शिकारी भएकोले सुगालाई बत्तीस गोली मार्न सक्ने भन्दै कजरी वन अर्थात् घना जंगलमा भाग्न अनुरोध गछ्र्रिन् । प्रस्तुत सजनाको लाक्षणिक अर्थ केलाउँदा पोथी सुगालाई महिलाको रुपमा चित्रण गरिएको छ र सखीको लोग्नेबाट जोगिन अनुरोध छ । उनले घरमा आफ्नी श्रीमती छँदाछँदै अन्य एकतीस जनालाई प्रेमजालमा फँसाइसकेको तिमी बत्तीसौं नम्बरको शिकारमा पर्न सक्छ्यो भनी सचेत गराइएको छ ।

यसरी सजनाको सामान्य व्याख्या गर्नुभन्दा यसभित्र लुकेको भावार्थलाई विश्लेषण गर्नु जरुरी देखिन्छ, जसले थारू लोकसाहित्यको पाटोलाई बुझ्न अझ दरिलो बाटो खोल्ने छ ।

सन्दर्भ सामग्री
कुशुम्हिया, बालगोविन्द चौधरी । २०५७ । सजना । विहान, पृ.१९ ।
चौधरी, कनैयाँलाल । २०५७ । बरमासा सजना । विहान पृ.२० ।
थारू, कुलप्रसाद । २०५७ । सजना । बिहान, पृ. ८ –१४ ।
सर्वहारी, कृष्णराज । २०५७ । थारून्के लोकगीत सजना । बिहान । पृ.५–७

तस्बिर : विवेक चौधरी/दाङ

– रातोपाटीबाट साभार




Leave a Reply

Your email address will not be published.