यो देशका शासकहरुलाई संसदीय चुनावमा परिणाम ल्याएर देखाउँछौं : सुरेन्द्र चौधरी

पहिचानको आन्दोलनलाई नेतृत्व गर्ने रेशम चौधरी र थरुहट आन्दोलनको बिगुल फुक्ने लक्ष्मण चौधरीको काँध आज जोडिएको छ। हामी यो देशको नागरिक हौं, यो देशको भूमिपुत्र हौं। हामीले विभिन्न माध्यमबाट आफ्नो माग मुद्दाका विषयहरु उठाउँदै आएका छौं। संघर्षका कार्यक्रम गर्दैगर्दा यो देशका साशकहरुले गैरराजनीतिक, आतंकवादी र जातिवादीको ट्याग लगाउँदै आएका छन्।

यो देशका उत्पडित थारु मधेसी दलित, खस पहाडी, हिमाली आजको दिनसम्म सशक्तरुपले उभिएका छौं। जसरी हामीलाई जातिवादीको रुपमा उभ्याउँदै आए, त्यसविरुद्ध हामी अभियानको थालनी गर्दैछौं। कसरी तराई, पहाड, हिमालका नागरिकहरु पनि यो देशको नीति निर्माणमा उभिन सक्छ भन्ने संकल्प बोकेर नागरिक उन्मुक्ति पार्टीमा उभिएका छौं।

मैले यो देशको आन्दोलनलाई अभियन्ताको रुपमा हेर्दै आइरहेको छु। संयुक्त राष्ट्रसंघको विभिन्न निकायमा काम गर्दा मैले संसारमा भएका धेरे उथलपुथल देखेको छु। क्रान्तिका धेरै राजनीतिक वार्ताहरुमा पनि बसेको छु। तर यो देशको प्रशासकहरुले बिर्सेका छन् कि उत्पडित वर्गले पनि यो देशमा बाँच्ने अधिकार राख्छ।

त्यही उत्पीडित वर्गहरुको पार्टीको रुपमा नागरिक उन्मुक्ति पार्टीलाई उभ्याउने छौं। हामीलाई पहाडविरोधी वा मधेसविरोधी भनियो होला, तर हामी राष्ट्रिय निर्माण प्रक्रियाकै लागि यो सब गर्दै आएका छौं। यो देशलाई हामीले तीन खण्डमा बाँडेर हेरेका छौं। हिमाल, पहाड र तराई मधेस, यो भूगोललाई नजोडीकन विकास हुँदैन। त्यसअर्थ हाम्रो मान्यता के हो भने तराई भनेको खाद्यको भण्डार हो, पहाड भनेको नगद हो र हिमाल भनेको सम्पत्ति हो। यी तीन कुरालाई मिलाएर राष्ट्र निर्माणमा अगाडि बढ्ने अभिप्रायले नै नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो।

यो पार्टीमा थारु वा थरुहट राखिएको छैन। केन्द्रीय समितिको बनोट पनि समावेशी छ। रञ्जिता चौधरी काठमाडौंमा हुर्किएकी नेवारकी छोरी र थारुकी बुहारी हुन्। दामोदर पण्डित राष्ट्रिय प्रवक्ता र कोषाध्यक्ष कोमल ज्ञवाली हुनुहुन्छ। यो देशका साशकहरुले भनून्, उनीहरु जातिवादी हुन् कि हामीहरु?

उदाहरणका रुपमा रामलाल डंगौराजीलाई हेर्न सक्नुहुन्छ। उहाँ टीकापुरको मेयरमा बहुमतका साथ निर्वाचित हुनुभएको छ। टीकापुरमा ४२ प्रतिशतमात्रै थारुहरु छन्, ५८ प्रतिशत गैर थारुहरु छन्। त्यहीँका जनताले हो थारुको छोरालाई मेयर बनाएको। थारुको भोटले मात्रै जितेको होइन भन्ने सन्देश यो हो। नागरिक उन्मुक्ति पार्टीले स्थानीय चुनावमा उदाहरण दिइसकेको छ। राष्ट्र निर्माण प्रक्रियामा यो पार्टी उभिनेछ।

रेशम चौधरीलगायत थारुहरु जेलमा हुनुहुन्छ। हामीले भनिरहेका छौं, दोषीलाई सजाय दिनुस् तर यहाँ निर्दोषहरुलाई सजाय दिइँदैछ। विगतमा तीन चार वटा सरकारी प्रतिवेदनहरु आए। त्यतिबेलै संसदीय समिति पनि बनेको थियो। त्यो समितिले संसदमा प्रतिवेदन बुझाएको छ। त्यो प्रतिवेदन बुझाएको वर्षौं भइसक्यो, योबीचमा कयौंपटक संसद बैठक बस्यो र स्थगित भयो। संसद सचिवालयमा रहेको त्यो प्रतिवेदनमाथि संसदमा छलफल गराइयोस् भन्ने हाम्रो माग हो। तर किन त्यसमाथि छलफल हुन सकिरहेको छैन? कसले रोकिरहेको छ छलफलका लागि? हामीलाई कारण चाहियो।

राष्ट्रिय मानव अधिकार आयोग र एमनेस्टी इन्टरनेशनलले पनि प्रतिवेदन तयार गरेको थियो, त्यसमा कुनै थारुहरु दोषी देखिएका थिएनन्। अनि छानबिन समिति केका लागि बनाइयो। कि भनिदिनुपर्‍यो थारु भएकै कारण पञ्चायतदेखि अहिलेसम्म दासको रुपमा बसेका थियौं, त्यसरी नै बस। स्पष्टरुपमा कसैले भनोस् अनि हामी पनि हिसाब किताब गरेर अगाडि बढ्छौं।

स्थानीय तह निर्वाचनमा कैलालीको चार पालिका जितेर देखाइसकेका छौं। आउँदो संसदीय चुनावमा लक्ष्मण थारु, मलगायत सम्पूर्ण दलित, जनजाति, हिमाल पहाडका खसहरु मिलेर सम्मुनत समाजको निर्माणका लागि होमिन्छौं। संसदीय चुनावमा हामीले यो देशका शासकहरुलाई परिणाम ल्याएर देखाउनेछौं।

(पार्टी प्रवेश गरेपछिको मन्तव्य)




One thought on “यो देशका शासकहरुलाई संसदीय चुनावमा परिणाम ल्याएर देखाउँछौं : सुरेन्द्र चौधरी

Leave a Reply to Sundar Lal Tharu Cancel reply

Your email address will not be published. Required fields are marked *