ट्रकको ठक्करबाट नेकपा एसका नेता रामनारायण चौधरीको मृत्यु

नेकपा एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका-५ स्थित सोमबार राति खरचुहिया सडक खण्डमा चौधरी सवार स१०प ४६११ नम्बरको स्कुटरलाई कवाडी बोकेको ना६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

रञ्जितपुर विधालय नजिक सडकखण्डमा ट्राफिक प्रहरीले चेकजाँच गर्न रोकेको बेला विराटनगरबाट नारायणघाट गइरहेको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनास्थलमै चौधरीको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्राफिक प्रहरीलाई कुटपिट गर्नुका साथै खरचुहियामा टायर बालेर अबेर रातिसम्म सडक अवरुद्ध गरेका थिए। ठक्कर दिने ट्रकका चालक रामबहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले जनाएको छ।

स्थानीय तह २०७९ को निर्वाचनमा चौधरी नेकपा (एकिकृत समाजबादी) बाट उम्मेदवार भई ४२१७ मत ल्याएर निकट्तम प्रतिद्वन्द्वी रहेका थिए। त्यसअघि २०७४ को निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार हुँदा चौधरीले ५०६९ मत ल्याएर २१० मतान्तरले मात्र पराजित भएका थिए।

चौधरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) सप्तरीको जिल्ला कमिटी सदस्य तथा सुरुङ्गा नगर कमिटीका अध्यक्षका साथै नेपाल रेडक्रस सोसाइटी सप्तरीका उपाध्यक्ष समेत थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *