प्रहरीको गोलीबाट नविना चौधरीको मृत्यु, अन्यलाई पनि गोली लागेको स्थानीयको दाबी

समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन-२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ। काखीमुनि गोली लागेका राकेश चौधरीको उपचार भइरहेको छ।

एसपी वीरबहादुर शाहीका अनुसार स्थानीयको ढुंगामुढाबाट प्रहरीतर्फ ९ जना घाइते छन्। बर्दियाका वन्यजन्तुपीडितले सोमबार बिहानैदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन्। साँझ ६ बजे ओराली बजारमा झडप भएको हो। समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन्।

प्रहरीले सडकमा प्रदर्शन नगर्न आग्रह गरे पनि प्रदर्शनकारी सोमबार बिहानैदेखि सडकमा मोर्चा कसेर बसेका थिए। वनका प्रमुख र प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता नजनाएसम्म सडक जाम नखोल्ने भन्दै उनीहरूले प्रदर्शन गरिरहेका थिए। भीड नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार, १० राउन्ड अश्रुग्यासका साथै गोली चलाएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए। प्रदर्शनकारीले ढुंगा हान्न नरोकेपछि प्रहरी गोली चलाउन बाध्य भएको उनले बताए।

स्थानीयवासी खगेन्द्रबहादुर शाहीले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले एक्कासि निर्मम आक्रमण गरेको दाबी गरे। प्रहरीको लाठी र अश्रुग्यासबाट दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएको उनले बताए। शाहीले समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक-पटक आग्रह गरेको दुई साता बितिसक्दा पनि वास्ता नगरेकाले बाध्य भई सडकमा उत्रिनुपरेको सुनाए।

‘गोली नै चलाउनुपर्ने अवस्था थिएन,’ स्थानीयवासी सुरेश पन्थले भने, ‘प्रहरीको ज्यादती भयो। वन्यजन्तुपीडितमाथि प्रहरीले थप पीडा थपेको छ।’ स्थिति तनावपूर्ण देखिएपछि अहिले त्यहाँ थप प्रहरी बल तैनाथ गरिएको छ। गाउँगाउँबाट ठूलो संख्यामा मानिसहरू ओराली बजारमा भेला हुन थालेको स्थानीयले बताएका छन्।




10 thoughts on “प्रहरीको गोलीबाट नविना चौधरीको मृत्यु, अन्यलाई पनि गोली लागेको स्थानीयको दाबी

  1. कि त बन्यजन्तु मार्न पाउनु पर्‍यो, कि त नियन्त्रण गर्नु पर्‍यो । यसरी जनतालाई सामान्य विषयमा गोली हानी हत्या गर्न थालेपछि के जनताको सरकार भन्नू र ! गोलीको बिकल्प थिएन ? जवाफ चाहियो सरकार ।

      1. नेपाल सरकार गुङाको साथ साथै बहीरो र अन्धो पनि छ।

    1. जनता लडाएर जात्रा हेर्ने गृह मन्त्रीले नैतिकता देखाउनु पर्यो । तुरून्तै राजिनामा दिनुपर्छ।

  2. नेपालको कानुन दैबले जानुनु यहाँ मानिस ले हैन जनावर ले न्याय पाउँछन्। म मेरो देशलाइ सराप्दिन म मेरो देशका नलायक भ्रष्ट पाजीहरुलाइ सराप्छु।

  3. बिचरी को के दोष उनी त १२ को परीक्षा दिएर घर फर्किदै थिइ! तर पुलिस को गोलिबाट मुत्यु सम्म पुगि अहिले को महोल हेर्ने हो भने २ बर्षमा १५+ बाघ ले मान्छे खाइ सक्यो तर सरकार ले सुने को खोइ??? के पुलिस सोझसाझा जनतालाई खताए को कि जनता को सेवा? जोवाफ चहियो सरकार

  4. स्थानीय रैथाने जनताहरुलाई सिध्याउने मेसो ! बाहुन क्षेत्री मारिएको भए, मानवअधिकारबादी, महिला अधिकारबादी सबै जाग्थे । के गर्नु अरु जातिका मानिसहरु राज्यसत्ताबाट मारिनु भनेको गल्लीको कुकुर मारिनु बराबर भो ! आदिवासी जनजातिहरु पनि जाग्दैनन्, आँफुमा टुटफुट भएर बसेका छन् । फुटाउ र राज्य गर । राष्ट्रिय निकुञ्ज भनेको आदिवासी नागरीकहरु, स्थानीयहरुलाई सिध्याउन ल्याइएको परियोजना हो, विदेशीहरुसँग वातावरण जोगाएको, जैविक विविधता जोगाएको भनी वाह वाह पाउने र नेपालमा आदिवासीहरु सिध्याउन पाइने, क्या गजब !

  5. फेरि पनि केही षड्यन्त्र हुन सक्छ होसियार थारु हरुको बाहुल्यता भयको ठाउमा कुनै राज्नितिक दलको घुसपैत होला अनि सोझा साझा नै परियला

Leave a Reply

Your email address will not be published. Required fields are marked *