बाघ स्थानान्तरणको माग गर्दै प्रदर्शनमा उत्रिए बर्दियाका थारु, झडपमा १८ वर्षीया नविना चौधरीको मृत्यु

बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र सडक संघर्षमा उत्रिएका समुदायबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ। झडपका क्रममा २० जना घाइते भएका छन्। घटनास्थलबाट बर्दिया अस्पताल गुलरियामा आपतकालीन उपचारका लागि ल्याइएका घाइतेमध्ये एक जना महिलाको मृत्यु भएको अस्पतालका डाक्टर विश्वनाथ शाहले पुष्टि गरे।

मृतकको आफन्तहरु अस्पतालमा नआएका कारण मृतकको नाम जानकारी नभएको डा. शाहले बताए। मृत्युको कारण भने पोष्टमार्टम पछि मात्र भन्न सकिने उनको भनाइय छ। घटनास्थल ओराली बजारका स्थानीय विनय गौतमका अनुसार मृतक मधुवन नगरपालिका-२ निवासी १८ वर्षीया नविना चौधरी रहेको बताएका छन्। उनी १२ कक्षामा अध्ययनरत थिइन्।

झडपका क्रममा मधुवन-२ सोनाहाका २२ वर्षीय राकेश थारु घाइते रहेको गौतमको भनाइ छ। सोमबार घरकै बारीमा दाउरा भाँचिरहेको अवस्थामा चितुवाले आक्रमण गरी मधुवन सोनाहाकी ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि बन्यजन्तुबाट सुरक्षाको माग गर्दै स्थानीय सामुदायिक वनका समुदायहरु सडकमा उत्रिएका थिए।

सडक खुलाउने क्रममा प्रहरी र समुदायबीच झडप हुँदा घटना घटेको हो। प्रर्दशनकारीहरुले प्रहरीको २ वटा मोटर साइकलमा आगजनी गरेको बुझिएको छ। आक्रामक बाघ स्थानान्तरण गरिनुपर्ने, जंगल क्षेत्रमा तारबार गरिनुपर्ने समुदायलाई सुरक्षा दिनुपर्ने समुदायको माग छ।

झडपका क्रममा जनपद प्रहरीका १२ जना र शसस्त्र प्रहरीका ७ जना गरी १९ जना सुरक्षाकर्मीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक हृदेश सापकोटाले जानकारी दिए। ‘घाइतेको संख्या बढ्न सक्छ,’ उनले भने ‘भिडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ११ सेल अश्रुग्यास र शसस्त्र प्रहरीले ९ सेल गरी २० सेल अश्रुग्यास प्रहार भएको छ।’ प्रहरीले १ राउण्ड हवाई फायर गरेको उनले दाबी गरे। घटनाको अनुसन्धान भइरहेकाले यकिन विवरण अझै आइनपुगेको उनको भनाइ छ।

भारतको कर्तनियाघाट वन बिहार र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविक मार्ग खातामा वन्यजन्तुहरुको संख्या बृद्धि भएसँगै आक्रमणको क्रम बढेको छ। जेठ १० गते सोही क्षेत्रको जनजागृति सामुदायिक वनमा बाख्रा चराउन गएकी मधुवन नगरपालिका-२ निवासी ४७ वर्षीया कौसिला पालको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको छ। वन्यजन्तुको आक्रमण न्युनीकरण गर्दै सुरक्षित संरक्षण हुनुपर्ने स्थानीय समुदायले मागगर्दै आएका छन्।

  • अन्नपूर्णपोष्टबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *