टीकापुर, जोशीपुर, जानकी र भजनीमा नागरिक उन्मुक्ति पार्टीको मत कति?

पछिल्लो मतपरिणाम अनुसार कैलालीका २ पालिकामा रेशम चौधरीको अगुवाइमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो अग्रता फराकिलो पार्दै गएको छ। जिल्लाको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा आफ्नो अग्रता कायमै राखेको छ।

आइतवार बिहान ७ बजेसम्मको मतगणना अनुसार जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चित्रबहादुर चौधरी ४९७ मतका साथ अग्रस्थानमा छन्। उनलाई राप्रपाका उम्मेदवार भीमबहादुर बमले पछ्याइरहेका छन्। बमले ४७९ मत प्राप्त गरेका छन्। ३०३ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार बन्सराम वडायक तेस्रो स्थानमा छन् ।

टीकापुर नगरपालिकामा पनि हालसम्म नागरिक उन्मुक्ति पार्टीले नै अग्रता लिएको छ। नगरपालिकाको वडा नम्बर ५ मा पार्टीका वडाध्यक्षका उम्मेदवार वलवीर थारु आफ्नो पूरै प्यानलसहित विजय भएका छन्।

वडामा मेयर पदका उम्मेदवार रामलाल डंगौराथारुले १ हजार ६२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवारले ५०८ मतका साथ पछ्याएका थिए। हालः टीकापुरको वडा नम्बर ३ को मतगणना जारी छ। सो वडामा पनि ४२८ मतका साथ रामलाल डंगौराले नै अग्रता लिएका छन्।

जिल्लाको भजनी नगरपालिका र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी दोस्रो स्थानमा छ। ती पालिकामा नागरिक उन्मुक्तिले नेकपा एमालेलाई पछ्याइरहेको छ।

जानकीमा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवारले १५५ मत प्राप्त गर्दा नागरिक उन्मुक्तिका उम्मेदवारले १४२ मतका साथ पछ्याइरहेका छन्। भजनी नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवारले ७५७ मत प्राप्त गर्दा नागरिक उन्मुक्तिका उम्मेदवारले ६५१ मत मात्रै प्राप्त गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *