खानेपानी मन्त्री उमाकान्त चौधरीले आफन्तलाई दिए उपप्रमुखको टिकेट

नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले बाराको कोल्हबी नगरपालिकाको उपप्रमुखको टिकेट आफन्तलाई दिएपछि विवाद सुरु भएको छ। कांग्रेसको सक्रिय राजनीतिमा रहेका महिलाहरुलाई पाखा लगाउँदै नगर र जिल्ला समितिको निर्णय विपरीत आफन्त लक्ष्मी चौधरीलाई टिकेट दिएपछि जिल्ला नेताहरुले मन्त्री चौधरीको कडा विरोध गरेका छन्।

कोल्हबी नगरपालिकामै पनि उनको विरोध भइरहेको छ। कतिपयले त कांग्रेसबाट राजीनामा समेत दिएका छन्। कांग्रेसमा लामो समयदेखि सक्रिय रहेका कोल्हबी-५ का रविन्द्र चौधरी, शोभालाल चौधरी, राजेश्वर थापा, स्यन्द्रराज अधिकारी, रामपुकार चौधरी र शोम बहादुर केसीलगायतले राजिनामा दिएका छन्।

उपप्रमुखको आकांक्षीसमेत रहेका राधा चौधरीले पनि फेसबुकमा आक्रोश पोखेकी छन्। उनले मन्त्री चौधरीको नामै तोकेर नतावाद, कृपावाद हाबी भएको उल्लेख गरेकी छन्।

‘नेपाली कांग्रेस पार्टी कोल्हबी नगरपालिकामा राजनीतिक गर्नु छ भने पहिलो उमाकान्त चौधरी खानेपानी मन्त्रीको आफन्त हुनुपर्छ, दोस्रो उहाँको झोले हुनुपर्छ। यस्तै आसेपासे नातावाद, कृपावादमात्र हाबी रहेछ। यहाँ राम्रोको लागि हैन हाम्रोलाई मात्र नेपाली कांग्रेस भनिँदो रहेछ। उमाकान्त चौधरीको यस्तै व्यक्तित रबैया रहिरहन्छ भने आउने दिनमा कोल्हबी नगरपालिकामा दियो बालेर खोज्नुपर्छ,’ उनले लेखेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *