रेशम चौधरीबारे भोलि सरकारसँग ‘सिरियस’ कुरा गर्ने प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेलमा रहेका रेशम चौधरीको सम्बन्धमा सरकासँग ‘सिरियस’ कुरा गर्न लागेको दाबी गरेका छन्। कैलालीको मसुरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भोलि (शुक्रबार) रेशम चौधरीबारे सरकारसँग गम्भीर छलफल गर्न लागेको बताए।

‘टीकापुर घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्। तपाईँहरुलाई थाहै छ रेशम चौधरी। म दोस्रोपटक प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई नयाँ दिल्लीमा भेटेको थिएँ। रेशमलाई भेट्यो भनेर मिडियामा ठूलो आलोचना भएको थियो,’ सम्बोधनको क्रममा उनले भने, ‘मैले रेशमलाई भेट्न नहुने के कारण छ? मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु, भित्र पनि भेट्न सक्छु। हिजो मात्रै मेरो सचिवालय प्रतिनिधि र रेशम चौधरीसँग कुरा भएको छ। उहाँको समस्या समाधान गर्न सरकारसँग म भालि नै सिरियस कुरा गर्दैछु।’

उनले टीकापुर घटनाप्रति दुःख व्यक्त गर्दै त्यसले ठूलो असर पारेको बताए। घटनामा सामेल नभएकाहरु जेलजीवन काट्नुपरेको भन्दै उनले दुःख व्यक्त गरेका थिए। प्रचण्डले नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए। पुस्कल बेलौरी नगरपालिका-२ को वडा कार्यसमिति सचिव हरिराम जोशीसहित माओवादी प्रवेश गरेका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *