दुर्घटनामा दाङका अजय चौधरी र सन्ध्या चौधरी र बाराका भोलिया देवी थरुनीको मृत्यु

दाङमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। राही-धारापानी सडकखण्डमा मंगलबार मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो।

घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा अटो चढ्ने क्रममा मोटरसाइकले ठक्कर दिँदा गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यस्तै गढवा गाउँपालिका-२ महादेवा पुल नजिकै कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका-७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीकी छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गम्भीर घाइते भएकी बालिकाका लमही अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो। त्यस्तै कार र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु२च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा४प ३४६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन्।

बारामा पनि एक जनाको मृत्यु
बारामा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएकी वृद्धाको मृत्यु भएको छ। बारा कोल्हबी नगरपालिका ६ अधन्वा बस्ने करिब ८३ वर्षीया भोलिया देवी थरुनीको मृत्यु भएको हो। मंगलबार साँझ ७ बजे पैदल हिँडिरहेको बेलामा ना६४प ७२४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित सुर्या अस्पतालमा ल्याइएको थियो।

उनलाई राति १० बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। ठक्कर दिने मोटरसाइकल भोलिया देवीको घरमा रहेको र मोटरसाइकल चालक बारा कोल्हबी नगरपालिका-८ का २५ वर्षीय बशिष्ठ चौधरी वडा प्रहरी कार्यालय विर्ता, वीरगञ्जको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *