अफ्रिकी देश हिँडेका नरेन्द्र चौधरी र जयनारायण चौधरीलाई जब अध्यागमनले रोक्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करको जालो रोक्न गृह मन्त्रालयले कडाइ गरेको महिनौं वितिसक्यो। तैपनि दिनहुँ रुट फेरेर मानव तस्करी भइरहेको बताइन्छ। पछिल्लो समय त्रिअबि अध्यागमन कार्यालयले विदेश जानेहरुसँग कडा सोधपुछ गर्न थालेको छ। यसै क्रममा पश्चिमी अफ्रिकी मुलुक बेनिन जान हिँडेका चार जना ‘शंकास्पद’ व्यक्तिहरुलाई अध्यागमन कार्यालयले रोकेको छ।

रुकुमका षडानन्द शर्मा गौतम, बर्दियाका चन्द्रबहादुर गोतामे, सुनसरीका नरेन्द्र चौधरी र जय नारायण चौधरीलाई अध्यागमनले रोकेको हो। उनीहरु गत १४ फागुनमा भिजिट भिसामार्फत् बेनिन उड्न विमानस्थल पुगेका थिए।

अध्यागमन कार्यालयका कर्मचारीले आशंकाका आधारमा उनीहरुसँग सोधपुछ गरेका थिए। तर, उनीहरुले चित्तबुझ्दो जवाफ दिन नसकेको अध्यागमन स्रोत बताउँछ। स्रोतका अनुसार चारै जनाले बेनिन जाने उद्देश्य खुलाउन सकेका थिएनन्। उनीहरुले गृह मन्त्रालयले तोकेको कागजात समेत पेश गर्न नसकेको स्रोतले बतायो।

‘सोधपुछका क्रममा उहाँहरुले भ्रमण उद्देश्य प्रस्ट पार्न सक्नुभएन। त्यतिमात्रै होइन, आवश्यक कागजातसमेत उहाँहरुले ल्याउन सक्नुभएन,’ स्रोतले भन्यो। पश्चिमी अफ्रिका बेनिनमा नेपालीहरु कुन उद्देश्यले भ्रमण जाने गरेकोबारे गृहले अनुसन्धान थालेको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *