मोटरसाइकल दुर्घटनामा बुद्धसागर चौधरीसहित दुईको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको बायाँ साइडको ह्यान्डिल बसको बीच भागमा ठोकिएको थियो।

मोटरसाइकल बसमा ठोक्किएर अनियन्त्रित भएकै समयमा विपरीत दिशाबाट आउँदै गरेको प्र.न.२-०१-००१ प ९५५६ नम्बरको अर्को मोटरसाइकल उक्त मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स११प ४०३८ नम्बरको मोटरसाइकलका चालक सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय बुद्धसागर चौधरी र प्र.न.२-०१-००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादवको मृत्यु भएको छ।

चौधरीको घटनास्थलमै र यादवको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनामा स.११.प. ४०३८ नम्बरको मोटरसाइकलमा पछाडि सवार सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय आन्नद चौधरी र प्र.न.२-०१-००१ प ९५५६ नम्बरको मोटरसाइकलको पछाडि सबार सिरहाको लहान नगरपालिका २० बस्ने २३ वर्षीय सोनम चौधरी घाइते भएका छन्।

दुर्घट्ना भएको मोटरसाइकल बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *