टोकियो ओलम्पिकको भव्य उद्घाटन, एथलेटिक्सबाट खेल्दैछिन् सरस्वती चौधरी

विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकको शुक्रबार भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो । यसपटकको टोकियो ओलम्पिकको नारा ‘युनाइटेड वाई इमोसन र स्ट्रोङ्गर टुगेदर’ (अर्थात भावनाले एकतृत तथा एकसाथ बलियो) रहेको छ । उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोकेकी थिइन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले गत मार्चमा नै लैंगिक समानता भन्दै ओलम्पिकमा महिला र पुरुष खेलाडीले झन्डा बोक्न प्रेरित गरेको थियो । नेपालको मार्चपासमा पौडीका दुई खेलाडी गौरिका सिंह र एलेक्स शाहसँगै ६ पदाधिकारी गरी कुल ८ जना रहेका थिए ।

जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ । जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन् । ६८ हजार दर्शक क्षमताको रंगशालामा कोरोना भाइरसको महामारीको कारण उद्घाटन समारोहमा करिब एक हजार भीआईपीको मात्रै उपस्थिति रहेको छ । जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति रहेको छ ।

टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्स शाह, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरी रहेकी छन् ।

कल्पना र सोनियाको खेल भोली नै हुनेछ । कल्पनाले विहान ५:१५ बजे सुरु हुने १ सय मिटर राइफलको छनोटमा खेल्नेछिन् । त्यस्तै सोनियाले विहान ८ बजेपछि सुरु हुने ४८ केजी तौल समूहमा रसियाकी इरिना डोल्गोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *