थारु चेली सरस्वती चौधरी ‌ओलम्पिकका लागि छनोट, अर्को महिना जापान जाने

जापानमा हुन गइरहेको टोकियो ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने पक्का भए पनि अन्तिम समयमा धेरै सहभागी भएकाले उनको सट्टा सरस्वतीले प्रतिस्पर्धा गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले संयुक्त विज्ञप्ति जारी गर्दै गोपीचन्द्रको सहभागिता सम्भव नभएको र सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने जनाएका हुन् ।

‘युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनको हकमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभई एथ्लेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भयो। यस सम्बन्धमा नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघबाट सम्बन्धित निकायहरुमा पार्कीको सहभागिताको लागि अथक प्रयास गरिएको थियो । तर सम्भव नभएको हुँदा नेपालका लागि कोटा अनुसार १०० मिटर दौडमा संघको सिफारिस अनुसार सहभागिता सुनिश्चित गर्नका लागि नेपालकी उत्कृष्ट खेलाडी सरस्वती चौधरीको नाम पठाइएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *