कांग्रेस महाधिवेशनमा गच्छदार पनि सक्रिय, थारु नेताहरुलाई एकीकृत गर्लान्?

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

‘शीर्ष नेताहरुको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ, यसको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्छ,’ उनले भने । संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई कांग्रेस पार्टीसँग एकता गरेको उनको भनाइ थियो । पार्टीको १४ औँ महाधिवेशनमा कांग्रेसभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने उनले बताए । महाधिवेशनको मिति सारेर टार्ने अवस्था नरहेको उपसभापति गच्छदारको भनाइ थियो ।

काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले लोकतन्त्र बलियो बनाउनका लागि काग्रेस बलियो हुनुपर्ने बताए । ‘कांग्रेसभित्रको व्यवस्थापन कमजोर छ, यसलाई सुढृढ र गतिशील बनाउनका लागि कांग्रेसका सबै नेता तथा कार्यकर्ताको उत्तिकै दायित्व छ,’ उनले भने । पूर्वमन्त्री खाँडले नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने अवस्था निर्माणमा नेतृत्व लाग्नुपर्ने बताए । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए जनताको अधिकार कमजोर हुने उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले नीति, कार्यक्रम र सक्षम नेतृत्वविना पार्टी अगाडि बढ्न नसक्ने बताए। समयमा महाधिवेशन गर्न नसक्दा कांग्रेस कमजोर बन्दै गएको उनको भनाइ थियो । उनले पार्टीभित्रको गुट उपगुटको अन्त्यका लागि सबल नेतृत्व पार्टीलाई आवश्यक रहेको उल्लेख गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *