संविधानको विरोध गर्दै धनगढीका थारुले मनाए ‘कालो दिवस’

लखन चौधरी/धनगढी।

संविधान दिवसकै अवसरमा ७ नम्बर प्रदेश सरकारले धनगढीमै विविध कार्यक्रम गरिरहँदा त्यसको विपरीत कालो दिनको रुपमा मनाइएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले बुधवार ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीको पार्क चोकमा विरोधसभा आयोजना गरी कालो दिनको रुपमा मनाएको हो ।

‘कैलाली, कञ्चनपुरसहित चितवनसम्मको तराईको भूभागलाई समेटेर थरुहट प्रदेश कायम गर । थरुहट थारुवान आन्दोलनले उठान गरेको मुद्दा संविधान संशोधन गरी माग पूरा गर । आन्दोलनको क्रममा भएको टीकापुर मुद्दालाई राजनीतिक रुपमा समाधान गर । टीकापुर राजबन्दीलाई यथाशीघ्र बिना शर्त रिहा गर’ भन्ने नाराका साथ कालो दिन मनाएको हो ।

संघर्ष समितिका संयोजक कृष्णकुमार चौधरी ‘कुन्दन’ले सभालाई सम्बोधन गर्दै नेपालको संविधान एक पक्षीय भएको दाबी गरे । उनले भने, ‘हामी संविधान मान्दैनौं भनेका छैनौ, तर वर्तमान संविधान नून बिनाको तरकारी जस्तै छ । अपूरो छ । वर्षौदेखि उत्पीडित वर्ग समुदायलाई उपेक्षित गरेको छ ।’

नयाँशक्ति नेपालका प्रदेश संयोजक समेत रहेका कुन्दनले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा लिएर समस्या समाधान गर्नुपर्ने बताए । ‘राजनीतिक आन्दोलनको क्रममा टीकापुर घटना घटेको हो । घटना दुःखद भयो, तर राजनीतिक रुपमा लिनुपर्छ । कुनै हालतमा आपराधिक होइन,’ उनले अगाडि भने, ‘म प्रश्न गर्न चाहन्छु, ए बाबुराम, प्रचण्ड, केपी ओली, शेरबहादुर देउवा, के तपाईहरू राम नाम जपेर यहाँसम्म पुगेको हो ?’

राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य मालामति रानाथारुले संविधान दिवसमा खुशी हुनुको कुनै अर्थ नरहेको बताइन् । संविधानमा आफूहरू अपनत्व खोजेको बताउँदै उनले आफूहरूले राखेको संविधान संशोधन, टीकापुर राजबन्दीको रिहाइ लगायतको माग राज्यले नसुनेपछि कालो दिन मनाउन बाध्य भएको उल्लेख गरिन् ।

प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई यथाशीघ्र शपथ ग्रहण गराउनुपर्ने पनि उनको भनाई थियो । सभालाई राजपा कैलालीका अध्यक्ष प्रेम राना, आदिवासी जनजाति महासंघ कैलालीका अध्यक्ष दलबहादुर घर्तिमगर लगायतले सम्बोधन गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *