थाकस चितवनको जिल्ला अधिवेशन फागुन २४ देखि तीन दिन हुने

कारी महतो/चितवन।
१६ फागुन । थारु कल्याणकारिणी सभा (थाकस) चितवनको १२ औं अधिवेशन फागुन २४ देखि २६ गते भव्य रुपमा आयोजना गरिने भएको छ । तीन दिनसम्म हुने जिल्ला अधिवेशन भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीको धनौजी (कमलपोखरी) मा हुने थाकस चितवनका सभापति विश्राम महतोले जानकारी दिएका छन् । अधिवेशन सम्पन्न गर्नका लागि सभापति विश्राम महतोको संयोजकत्वमा २५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । अधिवेशनलाई भव्य रुपमा सफल पार्नका लागि आर्थिक समिति, प्रचारप्रसार समिति, अनुगमन समिति, अतिथि आमन्त्रण समिति, मञ्ज व्यवस्थापन समिति, आवास तथा भोजन व्यवस्थापन समिति, प्रतिनिधि पर्यवेक्षक व्यवस्थापन समिति, साँस्कृतिक समिति लगायत विभिन्न ८ वटा उपसमितिहरु गठन भएका छन् ।

जिल्ला अधिवेशन तयारीको सिलसिलामा थाकस चितवन अन्तर्गत रहेका विभिन्न १० वटा क्षेत्रका अधिवेशनहरु सम्पन्न गरी क्षेत्रीय कार्यसमितिहरु र जिल्ला प्रतिनिधिहरु चयन यसअघि नै भइसकेको छ । विभिन्न क्षेत्रहरुबाट गरी जम्मा ११८ जना निर्वाचनमा भाग लिन पाउने प्रतिनिधिहरु साथै क्षेत्र र गाउँगाउँबाट उल्लेख्य संख्यमा पर्यवेक्षकहरुको उपस्थिति रहने कुरा सचिव सन्तराम महतोले बताए । जिल्लाका विभिन्न क्षेत्र तथा गाउँबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुका लागि थाकस क्षेत्र नं. ५, बेलोध प्रगन्नाले आवास तथा भोजनको व्यवस्था मिलाउने भएको छ ।

फागुन २४ गते साँस्कृतिक कार्यक्रमसहित समुदघाटन, २५ गते बन्दसत्र र २६ गतेका दिन ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन हुनेछ । अधिवेशनको समुदघाटन समारोहमा विभिन्न निर्वाचनहरुमा विजयी भएका चितवनका सम्पूर्ण थारु जनप्रतिनिधिहरु र थाकसलाई सहयोग गर्ने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने जनाइएको छ ।

यही फगुवा यहि १७ र १८ गते परेको थारु समुदायको महत्वपूर्ण चाड फगुवाको उपलक्ष्यमा थाकस चितवनका सभापति विश्राम महतोले सम्पूर्णमा शुभकामना व्यक्त गर्दै चितवनका थारु समुदायले १७ गते भन्दा १८ गतेका दिन अर्थात् धुरहेरीका दिनलाई विशेष महत्वका साथ मनाउने भएकोले चितवनमा १८ गते पनि सार्वजनिक विदा हुनुपर्ने बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *