दुई गठबन्धनलाई हार चखाउने को हुन् भूमिगत रेशम चौधरी ?

लखन चौधरी/धनगढी।
आम निर्वाचन २०७४ को नतिजा आउने क्रम जारी छ । सबैतिर वामगठबन्धनको चर्चा परिचर्चा चुलिएको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा भने राष्ट्रिय जनता पार्टीबाट रेशम चौधरी विजय भएका छन् ।
टीकापुर घटनाको मुख्य आरोपीसमेत रहेका चौधरी ३४ हजार ३४१ मत ल्याई प्रतिनिधि सदस्यमा निर्वाचित भएका छन् । जबकि उनको निकट्तम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार ४०६ मै चित्त बुझाउनुप¥र्यो । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार इश्वरी न्यौपानेले ११ हजार २०३ मतमै सीमित भइन् ।
टीकापुर घटना घटाएको आरोप लागेपछि उनी झण्डै २६ महिनादेखि प्रवासमा बस्दै आएका छन् । प्रवासबाटै वारिसनामार्फत् उम्मेदवारी दिएका उनी २० हजार ९३५ मतान्तरले विजयपश्चात राज्यले उनलाई र थारु समुदायलाई कसरी सम्बोधन गर्छ भन्ने सबैको जिज्ञासाको विषय बनेको छ ।

को हुन् रेशम चौधरी ?
कैलाली जिल्लाको जानकी गाउँपालिका ६ (साविक दुगौली गाविस ९) जगतपुरमा २०३४ साल असोज २१ गते जन्मेका उनी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनदेखि वाककलामा रुची राख्थे । प्राराम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालय पटाभार बर्दियाबाट र माध्यमिक शिक्षा टीकापुरस्थित विरेन्द्र विद्या मन्दिरबाट लिएका उनी त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका छन् ।
०४७ सालमा माध्यमिक स्तरको थारु भाषाको जोग्नी साहित्य पत्रिका परिवारको प्रधान सम्पादक रहेका उनी ०५१ सालमा विरही नामक कविता संग्रह र मोर विहान नाम कतिसमेत प्रकाशन गरेका छन् । साहित्य र पत्रकारितामा दख्खल राख्ने उनको रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारिता गरेको अनुभव छ । हाल टीकापुरलगायत ३ ठाउँमा उनको फूलबारी एफएम स्थापना भएको छ ।
गायन तथा सांगीतिक क्षेत्रमा पनि अब्बल मानिने उनी रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक तथा क श्रेणीको गायक मानिन्छन् । उनले हालसम्म ९३ वटा सांगीतिक एल्बम निकालेको बताउँछन् । खेलकुदमा अति नै शौखिन उनी काराँतेमा थ्री डन गरेका छन् । भने खेलमै स्थायी जागिरे समेत भए ।
जुनकारण उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, शुक्ल दिक्षित पुरस्कार, जयराज जैरु प्रकोप उद्धार पदक, गद्दी आरोहण पदकलगायत थुप्रै राष्ट्रिय पुरस्कार तथा पदकबाट सम्मानित भएका छन् ।

सधैं चर्चामा रेशम
बहुमुखी प्रतिभाका धनी रेशम चौधरी टीकापुर घटना र हालको निर्वाचनले मात्रै चर्चामा छैनन् । उनी बेला बखत चर्चामा रहने व्यक्तित्व मध्येका एक हुन् । उनको चर्चा हुनुको केहि कारण छ । सञ्चारको पहुँच नपुगेको तत्कालीन टीकापुरमा फूलबारी एफएम सञ्चालन गर्नु मात्रै नभर्ई, टीकापुरमा फूलवारी महोत्सव सञ्चालन गरी नेपालभरका कलाकारहरुको कुम्भ मेलाको आयोजना गर्ने नै उनै रेशम हुन् । हात्तीहरुको फुटबल खेल देखाउने, रेसलिङ खेल देखाएर पनि उनी निकै चर्चामै हुन्थे । त्यतिमात्रै नभई, कुनैबेला हेलिकप्टरमार्फत टीकापुरमा पुष्प वर्षात गराउने पनि उनै हुन ।
टीकापुरको लागि नौलो गतिविधि गरेर उनी टीकापुर र आफ्नो सामाजिक छबि बढाए । यिनै छबिकै कारण उनको आवश्कता महसुस गरी टीकापुरको स्थानीयहरुले हालको निर्वाचनमा अत्याधिक भोट दिई विजय गराए ।
टीकापुर घटनापछि कफ्र्युको समयमा थारुहरुको घरमा आगजनी भयो भने आगजनीमा संलग्न कोही पक्राउ परेन । तर उनलाई राज्य पक्षले एकोहोरो रुपमा घटनाको मूख्य योजनाकारको आरोप लगायो । यस्ता विभिन्न कारणले थारु समुदायले आफूहरु हेपिएको, दमन गरिएको, अन्यायमा परेको महसुस गरेको बताइन्छ । यस्ता भावनाको कारण पनि थारु गैरथारु मतदाताहरुले एकलौटी रुपमा रेशमलाई भोट दिएको बताउँछन् थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी ।
उनले भन्छन्– ‘सबै राजनीतिक दलले थारु समुदायको माग मुद्धालाई वेवास्ता गर्दै गएका छन् । तर माग मुद्दा उठाएकै कारण कोही जेलमा पर्नु, प्रवासी बन्नुपर्ने बाध्यता भएको छ । जुनकारण थारु मतदाताले आफ्नो आस्थाको आधारमा नभई नैतिकता र टीकापुर घटनाको पीडितहरुलाई न्याय दिनुपर्छ भनेर पनि भोट दिए, यसलाई राज्य लगायत सम्बन्धित पक्षले गम्भीर ढंगले लिनुपर्ने जरुरी छ ।’
नेपालको नयाँ संविधान बन्ने क्रममा अखण्ड सुदूर पश्चिम र थरुहट/थारुवान आन्दोलन उत्कर्षमा पुग्यो । हालको संविधान अखण्ड सुदूरपश्चिम पक्षधरको मात्रै माग सम्बोधन गरेको छ भने थरुहट पक्षधरको माग मुद्दा सम्बोधन भएन । जुनकारण थारु समुदाय सामाजिक र मनोवैज्ञानिक रुपमा हारेको महसुल गर्दै आएका थिए । उक्त पीडा थारु मतदाताले निर्वाचनमार्फत व्यक्त गरेको थारु अगुवाहरुको बुझाई छ ।
चुनावी प्रचार प्रसारको क्रममा पनि रेशम चौधरीको प्रचारशैली निकै पृथक थियो । उनले सामाजिक सञ्जालसहित आधुनिक प्रविधिको प्रयोग गरी आफ्ना प्रचारकहरुलाई चुनावी घरदैलोमा खटाए । एकदमै मार्मिक र यथार्थपरक विषयवस्तुको कारण पनि उनी मतदाताको मन जितेको बताइन्छ । उनी निर्वासित भए पनि प्रोजेक्टरमार्फत गाउँ–गाउँमा आफ्नो पीडा सुनाएर जनताहरुको सहानुभूत लिन सफल भए । जुन चुनावी प्रचारकै क्रममा उनको प्रचारकहरुमाथि प्रहरी हस्तक्षेप पनि भयो ।

के भन्छन् रेशम चौधरी ?
एक अर्कोसँग परस्परविरोधी अखण्ड सुदूरपश्चिम र थरुहट÷थारुवान आन्दोलन भयो । त्यस्तैबीच २०७२ साल भदौ ७ गते आठ प्रहरीसहित एक बच्चाको ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते कफुर्य लागेको समयमा टीकापुरस्थित सयौं थारुहरुको घरमा आजजनी भयो ।
तर त्यस घटनाको सत्यसत्य छानबिन नगरी राज्यले आन्दोलनको नेतृत्व गरेकै भरमा झुठो मुद्दा लगाएको रेशम चौधरीको भनाई छ । अस्पतालमा उपचार गराइरहेका, खेतमा काम गरिरहेका, जिल्लाभन्दा वबाहिर रहेका निर्दोष थारु तथा आन्दोलनका नेता एंव कार्यकर्ताहरुलाई विभिन्न मुद्दा लगाइ जेलमा कोचेको उनको भनाई छ । हाल कैलाली कारागारमा पुर्पक्षको लागि २५ जनालाई थुनामा राखिएको छ ।
हालको आमनिर्वाचनबाट जनताहरुले आफू निर्दोष भएको प्रमाणित गर्नुका साथै थारु समुदायको माग र मुद्दा सम्बोधन उचित रुपमा सम्बोधन गर्नुपर्छ भनि अत्याधिक मतले आफूलाई विजय गराएको उनी बताउँछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *