खिचरा महोत्सवमा थारुको घरेलु हस्तकला निर्माणसम्बन्धी प्रतियोगिता हुने

कारी महतो/चितवन।
चितवनको खैरहनी नगरपालिका वडा नं. ५ गौचरनमा पुस २८ देखि माघ ८ सम्म हुने पाँचौ खिचरा महोत्सवमा थारु जातिका लोपोन्मुख साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागीताका लागि ल्याइने सामग्रीहरु महोत्सवमा व्यवस्थित रुपमा प्रदर्शनी समेत गरिने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितात्मक प्रदर्शनीमा सहभागीताका लागि ल्याइएका सामग्रीहरुलाई विभिन्न वर्गमा विभाजन गरी हरेक वर्गबाट प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जानकारी दिए । साथै प्रथम, द्वितीय र तृतीय हुन नसकेको सामग्री निर्माणकर्तालाई मेहनत हेरेर उक्त सामग्री निर्माण गरेवापत केहि लागत रकम दिने संयोजक महतोले बताए ।

आधुनिक युगमा प्रवेश गर्नुभन्दा अगाडि थारु जातिले माटो, काठ, बाँस, पराल, डोरी, खडाई, झक्सी, बरुवा इत्यादि जस्ता विभिन्न कच्चापदार्थ प्रयोग गरी दैनिक जनजीवनमा प्रयोगमा आउने सामग्री आफैले बनाउँथे । आधुनिक युगमा प्रवेश गरेपछि त्यस किसिमका ऐतिहासिक महत्वका सामग्रीहरु लोपोन्मुख अवस्थामा छन् । ती सामग्रीहरुको ऐतिहासिकता बारे स्मरण गराउनका लागि पाँचौ खिचरा महोत्सवमा थारु साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिताको आयोजना गरिएको कुरा साँस्कृतिक हस्तकला प्रतियोगिता समितिका संयोजक राजकुमार चौधरीले बताए ।

थारु समुदायले काठबाट हलो, हेङा, खुणबुणिया, पेदहा, खराउँ, गाडा, कोल्हु, पिर्हा, ढोलक, डफु, टिहुकी, खटिया, ढकना, मचिया, बखारी, सन्वाखा, मुसुरा बनाई प्रयोग गर्छन् । बाँसबाट सुइला, बहिङा, तोबणा, छतिया, कोइनी, धेंवरी, लाठी, झर्रा, टाप, घुम बनाउँछन् । त्यस्तै झक्सी तथा खडईबाट ब्यावाँ, बणियार, पटही, डेली, ढडिया, ठठरा आदि बनाइन्छ । धागो तथा डोरीबाट घौका, जाल, जलखरी, झोंकी, जोर, रासा इत्यादि । माटोबाट डुहुरी, कहुला, झोपता, झाँझा, ओथरा इत्यादि र पराल तथा बरुवाबाट बिजिटा, गोनरी, मोरी, दौरी, पथिया, बिणा, बिणिचा बनाएर प्रयोग गर्दछन् । तर ती सम्पूर्ण सामग्रीहरु लोपोन्मुख हुनुका साथै निर्माण गर्ने सीप पनि लोप हुँदै गएकोले यस्ता सामग्री जगेर्ना गर्नुका साथै सामग्री बनाउने सीप नयाँ पुस्तालाई हस्तान्त्रण गर्नका लागि पाँचौ खिचरा महोत्सवको अवसरमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला सामग्री प्रदर्शनी गर्न खोजिएको महोत्सव आयोजकले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *