थरुहट क्षेत्रमा थारु भाषालाई कामकाजी भाषा बनाउनुपर्छ : मन्त्री दहित

दशैंको अवसरमा बर्दियाको राजापुर नगरपालिका २ बालाबजारमा डस्या शुभकामना तथा जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रम सम्पन्न गरिएको छ । सोही अवसरमा थारु समुदायले मान्ने गरेको परम्परागत दशैं विधि र यसको महत्वमाथि प्रकाश पारिएको थियो ।
बर्दियाली थारु विकास मञ्च काठमाडौं, राजापुर शाखा र बालाबजार ब्यबस्थापन समितिको संयुक्त आयोजना र जंग्रार साहित्यिक बखेरी, बर्दियाको मिडिया संयोजनमा भएको शुभकामना कार्यक्रममा राजापुर नगरपालिकाका जनप्रतिनिधि, गेरुवा गाउँपालिकाका जनप्रतिनिधिलाई भूमीसुधार तथा ब्यबस्था मन्त्री डा. गोपाल दहितले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
बर्दियाली थारु विकास मञ्चका संस्थापक अध्यक्ष तथा नेपाल लोकतान्त्रिक पार्टीका महामन्त्री मिनराज चौधरीले थारु समुदायलगायत पछाडि पारिएका समुदायको सबाललाई अझै पनि संविधानले सम्बोधन गर्न नसकेको भन्दै आफूहरु जहिले पनि संविधान संशोधनको पक्षमा रहेको र उत्पीडित वर्गको उत्थानमा रहेको बताए । थारु समुदायको पहिचा मेटाइँदै र उनीहरुको अधिकारबाट वञ्चित गराएको भन्दै जनताहरु यसप्रति सचेत रहनुपर्ने बताए ।
सो अवसरमा, राजापुर नगरपालिका प्रमुख शिवप्रसाद थारुले राजापुरको विकास, निर्माण तथा जनताको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । उनले यसका लागि जनताहरुले पनिस्थानीय निकायलाई सहयोग गर्नुपर्ने बताए ।
प्रमुख अतिथिको रुपमा रहेका माननीय भूमीसुधार तथा ब्यबस्था मन्त्री डा. गोपाल दहितले आफुले सबैभन्दा पहिले भूमीहिन, कमैया वर्गहरुको समस्या सम्बोधनका लागि बिभिन्न पहल गर्दै गरेको र आफ्नो कार्यकालमा सधैं यसकार्यमा कटिबद्ध रहने बताए । मन्त्री दहितले थारु समुदायमा विद्यमान कमलरीहरुलाई परिचय पत्र प्रदान गरेको जानकारी गराए ।
थारु समुदायको संस्कृतिको बारेमा बोल्दै उनले थारु समुदायको आफ्नै खालको संस्कृति र पहिचान भएको बताए । थरुहट क्षेत्रमा सरकारी कामकाजका लागि थारु भाषालाई प्रयोगमा ल्याउनुपर्ने नगरपालिका तथा स्थानीय निकायहरुलाई उनले सुझाब दिएका थिए ।
‘यो संबिधानले दिएको अधिकार हो । अधिकारको उपभोग गर्नुपर्छ । तसर्थ थरुहट क्षेत्रका सरकारी कार्यालयहरुमा थारु भाषालाई कामकाजको भाषा बनाउनु पर्ने र सरकारी बिद्यालयहरुमा समेत थारु भाषामा पठनपाठन गर्नुपर्छ,’ मन्त्री दहितले भने ।
अहिलेको देउवा नेतृत्वको सरकारको ५६ जनाको मन्त्री मण्डलमा गोपाल दहित मात्र पिएचडी गरेका मन्त्री हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री दहितले दशैंमा गाउने डिन नच्वा गीत समेत गाएका थिए ।
कार्यक्रममा बालाबजारको समस्या र सवालको सम्बोधनका लागि वडा नं. २ को वडा अध्यक्ष, राजापुर नगरपालिकाका प्रमुख र भूमीसुधार तथा ब्यवस्था मन्त्रीलाई बजार ब्यबस्थापनि समितिका अध्यक्ष अंग्रेज कुमार थारुले ज्ञापन पत्र बुझाएका थिए ।
कार्यक्रमको उद्देश्यमाथि बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सिताराम थारुले प्रकाश पारेका थिए । सोम डेमनडौराद्धारा सञ्चालित सो कार्यक्रममा डेढ दर्जन बढी बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुका साथै थारु सांस्कृतिक झाँकीहरु हुडुंग्वा, छोक्रा, सख्या, भुम्रा र बर्किमार गित समेत प्रस्तुत गरिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *