थारू समुदायमा अष्टिम्की अनुष्ठान [पर्व विशेष]

कृष्णराज सर्वहारी।

नेपालका थरीथरीका आदिवासी जनजातिमा कृष्णगाथा जीवन्त संस्कृतिका रूपमा रहेको छ । पश्चिमा थारूहरूको अष्टिम्की (कृष्णजन्माष्टमी)मा पनि कृष्णगाथा गाइन्छ । अष्टिम्की शब्दको उत्पत्ति अष्टमी र टीका दुई शब्दबाट भएको हो, जसको अर्थ भदौ महिनाको अष्टमी तिथिमा कान्हा जन्मेकाले उनलाई टीका लगाउनु भन्ने हुन्छ । पश्चिमा थारू समुदायमा हालसम्म संरक्षित भित्तामा कोरिने कला अष्टिम्की चित्र मात्रै हो ।

अष्टिम्कीको अनुष्ठान विधि
अष्टिम्की पूजामा हप्ता दिन अघिबाट वनबाट काठ दाउरा, पात जुटाउन सुरु गरिन्छ । महिलाहरूले नयाँनयाँ लुगा पनि हप्ता दिनअघि नै सिलाइसकेका हुन्छन् । अष्टिम्कीको व्रत बस्ने अघिल्लो बिहान डँट्कट्टन (दर खाने) खाएर यसको सुरुआत हुन्छ । अष्टिम्कीमा व्रत बस्ने बिहान भाले बास्नुभन्दा पहिले डँट्कट्टन (दर खाने) खाइन्छ । यसका लागि दिनभरि माछा मार्ने चलन छ । माछा अरू दिन पनि मारिन्छ तर त्यस दिनको माछा मार्ने कामलाई विशेष मानिन्छ । कारणवश त्यस दिन माछा मार्न सकिएन भने दर नै खल्लो मानिन्छ । कसैले भाले बासेपछि खायो भने ऊ जुठो परेको ठहरिन्छ र व्रत बस्न पाउँदैन । व्रत बसेको दिन बिहानैदेखि चित्र बनाउन सुरु हुन्छ । सूर्यास्तपछि अष्टिम्कीमा व्रत बस्नेहरू चित्र बनाइएको घरमा पूजा गर्न जान्छन् ।

पूजा विधि
साँझ परेपछि व्रत बस्नेहरू नयाँ लुगामा सजिएर अष्टिम्की बनाएको घरमा जान्छन् । उनीहरूको शृंगार अष्टिम्की÷सखिया काव्यमा राधाले शृंगार गरेभन्दा कम हुँदैन । अष्टिम्की पूजा गर्न जाने महिलाको पोसाकमा एकरूपता भने हुँदैन । साथमा थालमा एक माना चामल, हरियो काँक्रा, काँक्रा नभए, भोगटे, निबुवा, स्याउ लगायतका फलफूल, थालको चामलमाथि माटोको दियो पनि बालेका हुन्छन् । अष्टिम्की चित्र बनाइएको घरमा गाउँभरिका महिलाहरू जम्मा हुन्छन् । व्रतालु मात्रै नभएर त्यहाँ हेरालुहरूको पनि उस्तै भीड लागेको हुन्छ । सबैजना जम्मा भइसकेपछि त्यस घरकी मूली अगुनियाँले सुरुमा पूजा गर्छिन् ।

अष्टिम्कीको सबैभन्दा माथि कृष्णको चित्र बनाइएको हुन्छ । टीका लगाउने काम त्यहीँबाट सुरु हुन्छ र क्रमशः सबै चित्रमा लगाइन्छ तर सबैभन्दा तल्लो कोठामा बनाएको बरमुरुवा अर्थात् बाह्र शिर भएको रावणको चित्रमा भने कसैले टीका लगाउँदैनन् । उसलाई टीका लगाएमा रुने खालका बच्चा जन्मिने जनधारणा छ तर पाको उमेर भएकाहरूले भने ठट्यौली पारामा टीका लगाइदिन्छन् । यसरी टीका लगाइसकेपछि अगियारी दिइन्छ । सल्लाको धूप, नौनी मिसाएर आगोमा हवन गर्ने प्रक्रियालाई अगियारी भनिन्छ ।

अगियारीपछि लोटाको पानी बिजोडपटक अगियारी क्षेत्रमा घेरो हालिन्छ, जसलाई पर्छना भनिन्छ । अष्टिम्कीमा टीका लगाउनुभन्दा पहिले आफूले ल्याएका चामल त्यहाँ ओछ्याइएको गुन्द्रीमा राख्छन् । चामलको छेउछाउमा काँक्रा र बीचमा दियो हुन्छ । कसैको पूजा नसकिँदै दियो निभ्यो भने व्रत बसेको बेला लुकेर केही खाएको हुनसक्ने अनुमान लगाइन्छ । गाउँका केटाहरू पूजाका लागि ल्याइएको काँक्रा काट्न तयार हुन्छन् । पूजा सकिएपछि उनीहरूले काँक्राको भेट्नो काटेर पातसहित यथास्थानमा राख्छन् । कसैले पश्चिमपट्टिको कुनामा दुई थान जरासहितको मकैको घोगा पनि टिप्छन् । काटिएका काँक्रा पूजा हेर्न आएकाहरूलाई बाँड्छन् र बचेका काँक्रा घर लिएर जान्छन् ।

फलाहार भोजन
अष्टिम्की विशेष गरेर फलाहार पर्व भएकाले यसमा पहिलो दिन फलफूलमात्रै खाइन्छ । जब पूजा सकेर व्रतालुहरू घर फर्किन्छन्, घरमा खानका लागि विभिन्न थरीका फलफूलहरू तयार गरिएको हुन्छ । खानुभन्दा पहिले पनि पूजा गर्नुपर्छ । खाने ठाउँमा गाईको गोबरले लिपपोत गरेर आगो राखिन्छ र त्यसैमा अगियारी दिइन्छ । अगियारी सल्लाको धूप, नौनी र खानलाई तयारी अवस्थामा रहेका सबै वस्तुबाट थोरै निकालेर आगोमा चढाइन्छ र पर्छने काम गरिन्छ । पर्छने कामपछि आफ्ना चेलीबेटीका लागि ‘अग्रासन’ निकालिन्छ । साँझको भोजनमा काँक्रा, केरा, अम्बा, स्याउ, नासपाती फलफूल तथा दही, दूधलगायत हुन्छ ।

अष्टिम्कीको गायन
सबैले खानपिन सकेपछि पुनः अष्टिम्की बनाएको घर जम्मा हुन्छन् र रातभर अष्टिम्की गीत गाउँछन् । गीत प्रायः महिलाले गाउँछन् । देउखुरी क्षेत्रमा भने पुरुषहरूले मात्रै गाएको देखिन्छ । गीत गाउँदै रातभर जाग्रम बस्छन् । गीत स्थानअनुसार फरक भए पनि सबै क्षेत्रमा सृष्टिकै कथाबाट अष्टिम्की गीतको सुआत हुन्छ ।
पहिल ट सिरिजल ढरटी मडागिन
सिरिजी ट गइल कुस कही र डाभ
सिरिजी ट गइल कुस कही डाभ
सिरिजी ट गइल री अन्न र पुरुस
अर्थात् पहिले सिर्जना भइन् धरती माता, त्यसपछि सिर्जियो कुश, अनि सिर्जिए अन्न पुरुष । यहाँ अन्न पुरुषको रूपमा सृष्टिकर्ताका रूपमा गुर्वावालाई मानिन्छ । गुर्वावालाई थारू समुदायमा ब्रह्मको रूपमा लिइन्छ । दिनभरिको निराहार व्रत फुकाएपछि अष्टिम्की चित्र पूजा गरिएको घरमा महिलाहरू दुई समूह भई अष्टिम्की गीत गाउँछन् । यसमा कुनै बाजाको प्रयोग हुँदैन । सहभागीहरू गुन्द्रीमा वर्गाकार बसाइमा बसेका हुन्छन् । हेर्न आउने सहभागीहरूले पनि स्वर मिलाई साथ दिन्छन् । अष्टिम्कीको मुख्य गायकले गाइसकेपछि दुई समूहमा रहेका सहभागीले पालैपालो दोहर्‍याउँछन् । कृष्णगाथामा राधा र कान्हाको प्रेमप्रसंग, कंश वधको कथावस्तु त छँदैछ, कान्हाका बाबु ईसरुले आफैं हलो बनाई खेतीपाती गरेका छन् । उनकी आमा जासु खेतमा खान पुर्‍याउन गएकी छन् । यसरी कृष्णगाथालाई थारू समुदायले आफ्नै मौलिक शैलीमा प्रस्तुत गर्ने गरेका छन् ।

व्रत तोडेर बेलुकी वाचन गर्ने बसेका सहभागीहरू बिहान पूजा गर्ने टोली आएपछि त्यो दिनको गीत टुंग्याउँछन् । अर्काे दिन बेलुकी पुनः सुरु गर्छन् । अष्टिम्कीको गीत सबै वाचन गरेर सकाउनुपर्छ, नभए अष्टिम्कीको गीत जति बाँकी हुन्छ, दसैंको सखिया नाचका सहभागीहरूले त्यहीँबाट जोडेर गीत गाउँछन् ।

अस्राई जैना (विसर्जन)
महिलाहरूले एकाबिहानैदेखि अष्टिम्की विसर्जनका लागि टपरी तयार पार्छन्, जुन साधारण टपरीभन्दा विशेष प्रकारको हुन्छ । टपरीमा पातकै पाँच या सातवटा दियो जोडिएको हुन्छ । अघिल्लो दिन बिहान सबै जम्मा भइसकेपछि आफ्नो चामलमाथि राखिएको काँक्रोको भेट्नो र पात पनि त्यही टपरीमा राख्छन् र पुनः दियो पनि बाल्छन् । अगुन्या आफ्नो सबै सामान तयार गरेर निस्किएपछि अरू पनि सँगै घाट, नदी, कुलामा विसर्जनका लागि लाग्छन् । यस विधिलाई अस्राई जैना भनिन्छ । पूजाविधि सेलाएर आउने सदस्यहरू घर फर्किंदासम्म भोजन तयार भइसकेको हुन्छ । चेलीबेटीहरूलाई अग्रासन (कोसेली) दिन टाढा टाढा जानुपर्ने भएकाले पूजाविधि सेलाएर आउने सदस्य आउनेबित्तिकै बिहानको फरहार (फलाहार भोजन) चाँडै गर्छन् ।

फरहार
पूजा विसर्जनपछि आआफ्नो घरमा खँरिया, फुलौरी, पोँइ र झिलंगीको गेडागुडी, सुकेको माछा, भात तयार गर्छन् । सबै पकवान तयार भएपछि ‘फरहार’ गर्छन् । फरहारको शाब्दिक अर्थ फलाहर भए पनि बिहानको खानामा दाल, भात, तरकारी हुन्छ । फरहार गर्ने बेला पनि साँझमा झैं खानुअघि अगियारी दिई आफ्ना चेलीबेटीका लागि अग्रासन निकाल्ने चलन छ ।

अग्रासन (कोसेली)
चेलीबेटीहरूको नाममा निकालिएको खानेकुरालाई अग्रासन भनिन्छ । बिहानको फरहार खाएर सकिएपछि आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जान्छन् । धेरै दिनपछि दिदीबहिनीसँग दाजुभाइको भेटले सद्भाव, आत्मीयता बढाउँछ । चेलीहरू आफ्ना दाजुभाइलाई मीठोमसिनो ख्वाई सम्मान गर्छन् । भेटघाटबाट मनमा लागेको पीरव्यथा सुन्ने सुनाउने अवसरका रूपमा पनि लिइन्छ ।

टुंग्याउनी
अष्टिम्की मनाउने विधिमा धेरै फेरबदल भइसकेको छ । अरू चाडपर्वजस्तै यो पर्व पनि विकृत बन्दै गएको छ । धेरैले आधुनिकताको नाममा फजुल खर्च गर्ने, सम्मानको नाममा महँगा पेय पदार्थ, रङहरूको प्रयोग, मौलिक परिकारभन्दा बाह्य परिकार बनाउने चलन बढेको छ । अष्टिम्की चित्र नबनाएर पोस्टर टाँसेर पूजा गर्ने चलनको सुरुआत भएको छ । गीत गाउने परम्परा पनि हराउन थालेको छ । त्यसैले अष्टिम्की चित्र बनाउने गोष्ठी, कार्यशाला, जागरण अभियान चलाइनु जरुरी देखिन्छ । खुसीको कुरा, केही वर्षयता काठमाडौंमा पनि सामूहिक ढंगले अष्टिम्की मनाइन थालिएको छ ।

अन्नपूर्ण टुडेबाट।तस्बिर :विवेक चौधरी/दाङ




Leave a Reply

Your email address will not be published. Required fields are marked *