गायिका नितु चौधरी मोडलिङमा रमाउँदै

अविनाश चौधरी/धनगढी।
गायन क्षेत्रमा लागेको छोटो समयमै चर्चा पाएकी थारु गायिका नितु चौधरी (कुश्मी) ले मोडलिङ पनि थालेकी छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरकी नितुले आफैले गाएको गीतको म्युजिक भिडियोमा मोडलिङ गर्न थालेकी हुन् । चर्चित थारु गायक रामकुमार कठरियासंगै गाएको ‘चिनी मिलाइल जैसिन बोल टुँहार’, ‘जैसे बगिया सुहान लागे’ बोलको गीतको म्युजिक भिडियोमा उनले अभिनय गरेकी छन् ।

२०७० चैतदेखि औपचारिक रुपमा गायन यात्रा थालेकी उनले रहर पूरा गर्नका लागि म्युजिक भिडियोमा अभिनय पनि गरेको बताइन् । ‘म आफूलाई गायिकाकै रुपमा चिनाउन चाहन्छु’, नितुले भने–‘तर, रहर पूरा गर्नका लागि अहिलेसम्म तीन वटा म्युजिक भिडियोमा अभिनय पनि गरें ।’

थारु समुदायमा अहिले आधुनिक थारु गीतको ‘क्रेज’ बढेको छ । समुदायको मागलाई मध्यनजर गरेर आफूले आधुनिक गीतमात्रै गाएको नितुले बताइन् । तर, एउटा कलाकारले सबैलाई समेट्नु पर्ने भएकाले सांस्कृतिक गीत पनि गाउने उनको भनाइ छ ।

नितुले स्वर दिएको सबै गीत थारु समुदायमा लोकप्रिय भएका छन् । सङ्गीतको औपचारिक प्रशिक्षण समेत नलिएर गायनमा लागेकी उनको गायिकीको थारु समुदायमा चर्चा चुलिएको छ । अझ राम्रो गाउनका लागि सङ्गीत सिक्ने रहर रहेको नितुले बताइन् ।

सानैदेखि गीत गुनगुनाउने नितुको गायिकी यसअघि भने औपचारिक कार्यक्रममा मात्रै सीमित रहेको थियो । उनले ग्रामीण क्षेत्रमा हुने विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिने गरेकी थिइन् । परिवारबाट पूर्ण सहयोग समर्थन भएपछि अब व्यावसायिक रुपमै गायन क्षेत्रमा लागेकी छन् ।

गायन क्षेत्रमा लागे पनि एउटा कलाकारलाई गाएर बाँच्न भने कठिन रहेको अनुभव आफूलाई भएको उनले बताइन् । कलाकारहरुलाई अगाडि बढाउनका लागि समाजको सहयोग अत्यन्त आवश्यक रहेको नितुले उल्लेख गरिन् ।
‘गीत गाएर एउटा कलाकारलाई बाँच्न धेरै गाह्रो रहेको मैले अनुभव गरें’, उनले भनिन्–‘गीतमा गरिएको लगानी अनुसार आम्दानी हुँदैन । यद्यपि, धेरथोर पारिश्रमिक पाउने गरेकी छु ।’

नितुको पछिल्लो म्युजिक भिडियो ‘जैसे बगिया सुहावन लागे’ यसै हप्ता सार्वजनिक भएको छ । यो म्युजिक भिडियो मार्फत उनको गायिकी र अभिनय दुवैको प्रशंसा भएको छ । यसअघि, नितु र रामकुमार कठरियाकै स्वरमा रहेको ‘अरघट्हा होगिनु बनदिदी टुँहार प्यारमे’ बोलको गीतले निकै चर्चा पाएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *