थारु लोककथा: बेङ्टुर्या रानी

प्रस्तुती : प्रणव आकाश

एकादेशमा एउटी राजकुमारी थिइन्। निकै सुन्दरी उनको नाम थियो- बेङ्टुर्या रानी।

दरबारमा उनको दाजु र भाउजू मात्र थिए। दाजुले खुब माया गर्थे। उनलाई तर भाउजूले भने देख्यो कि गाली गर्न थाल्थिन्। टुहुरी नन्दलाई खुब सताउँथिन्। यो कुरा दाजुलार्इ राम्रोसँग थाहा भए पनि श्रीमतीको अगाडि केही बोल्न सक्दैनथे।

कृष्णजन्माष्टमीमा सबै सखीहरु कृष्णजीको व्रत बस्नका लागि नयाँ नयाँ कपडाहरु सिलाउन थाल्छन्। राजकुमारीसँग सिलाउनका लागि नयाँ कपडा हुँदैन। उनी रुँदै भन्न थाल्छिन्, ‘भाउजूले माया गरेको भए मैले पनि भाउजूसँग माग्थेँ होला।’

नयाँ कपडा नभएकाले यसपालीको व्रत नबस्ने निर्णय गर्छिन्। यस्तो निर्णय सुनेर राजकुमारीका सखीहरुले भाउजुसँग जन्माष्टमीको लागि कपडा मागिदिने र यदि नदिए आफ्नै कपडा लगाउन दिने वाचा गर्छन्। राजकुमारी खुसी हुँदै कृष्णजीको व्रत बस्न राजी हुन्छिन्।

अर्को दिन फूलपाती सेलाउन जाने बेलामा उनकी भाउजूले कपडा दिँदै बोल्छिन्, ‘लेऊ झुलुवा। जस्ट डेहटु ओस्ट घुमाख लन हो। कहोरे ट्याच से केल डाग लागल डेखम टो टुहार मुरि काट्के यिहे झुल्वा रङ्गिम।’ (लेऊ कपडा। जस्तो दिएको छु फर्किँदा त्यस्तै ल्याउ। यदि दाग लागेको देखेँ भने तिम्रो घाँटी काटेर यहि कपडा रंगाउँछु।)

राजकुमारी चुपचाप कपडा लिन्छिन् र लगाएर खोलामा सेलाउन जान्छिन्। कतै केही गरी कपडामा दाग नलागोस् र भाउजूले घाँटी काट्न नपाउन् भनेर सखीहरुको कपडामाथि आफ्नो कपडा राख्छिन्। कपडा राखेर सखीहरुसँग जिस्किँदै नुहाउन थाल्छिन्।

नुहाइसकेर कपडा लगाउन जाँदा राजकुमारी झसंङ्ग हुन्छिन्। कपडामा खै कतिखेर हो चराले बिस्ट्याइदिएको हुन्छ। जति धुँदा नि दाग जाँदैन। राजकुमारीलार्इ फसाउन उनकी भाउजू आफैं चरा बनेर आएकी रहिछन्।

कपडामा चराले बिस्ट्याएको दाग देखेपछि भाउजू रिसाएर भोकै बस्न थाल्छिन्। दाजुले श्रीमतीलाइ धेरैपल्ट खाना खुवाउन खोज्छन्। भाउजूले नखाने जिद्दि गर्दै भन्छिन्, ‘कि मै भुख्ल मुवम कि टुहार बहिन्यक रकटले म्वार झुल्वा रंगाडेउ।’ (कि आफ्नी बहिनीको घाँटी काटेर मेरो कपडा रंगाइदेऊ कि म यसरी नै भोकै मर्छु।)

आफूले धेरै माया गर्ने बहिनीको प्राण बचाउने कि जिवनसाथिकोरु दाजु दोधारमा पर्छन। अन्ततः बहिनीको घाँटी काटेर श्रीमतीको कपडा रंगाउँछन् दाजुले।

बेङ्टुर्या रानी मरेपछि पुनस् दुईवटा रुप लिन्छिन्। दिनभरी भ्यागुतीको भेषमा गाउँका गोठालाहरुको आसपासमा ओहोरदोहोर गर्छिन् र रातमा सुन्दरीको भेषमा बस्न थाल्छिन्। एउटा गाउँको कान्छो राजकुमारले गोठालो जाँदा राजकुमारीको दोहोरो भेषबारे थाहा पाउँछन् र नजिक हुन थाल्छन्। यत्तिकैमा उनीहरुबीच प्रेम हुन्छ।

एकदिन राजकुमारले उनलार्इ आफ्नो दरबारको खोपीमा लगेर राख्छन्। दिनभरी भ्यागुती बनेर उनी आँगनको छेउछाउ डुलिहिँड्थिन र रात पर्न थालेपछि खोपीमा मान्छेको भेष धारण गरेर बस्थिन्। राजकुमारले एकदिन आफ्नी आमासँग जाडोमा आगो ताप्नका लागि माटोको लैया बनाइदिन अनुरोध गर्छन्। सुरु–सुरुमा त आमाले वास्ता गर्दिनन्। राजकुमारले बारम्बार उही कुरा भनेपछि आमाले लैया बनाइदिन्छिन्। लैयामा आगो राखेर आमाले राजकुमारको खोपीमा राख्दिन्छिन्। बेङ्टुर्या रानी मान्छेको भेष धारण गरेर निदाइरहेको बेलामा राजकुमारले उनको खोल जलाइदिन्छन्।

दोस्रो दिन राजकुमार बिहानै खेतमा जान्छन्। राजकुमारको विस्तारा टक्टक्याउन जाँदा उनकी आमाले विस्तारामा सुतिरहेको बेङ्टुर्या रानीको रुप र जोवन देखेर मुच्र्छा पर्छिन्। दरबारभरी उनको सुन्दरताको चर्चा हुन्छ। घरमा भोजभत्तेरको तयारी हुन थाल्छ।

खेतमा हलो जोतिरहेका राजकुमारका तीन दाजुभाइ ठट्टा गर्दै हुन्छन्। कान्छो बोल्छ, ‘डाडुहुँक्र, आझ बासी डेहे के आइ जानो?’ (दादा हजुर, आज खाजा दिन को आउला?) दाजुहरु एकैसाथ बोल्छन्, ‘अर टै भ्वाज नि कर्ल हुइट्या, ट्वा भौजिन ट ऐहि काहुँ।’ (अब तैँले बिहे नै गर्या छैनस्, तेरा भाउजुहरु त आउलान् नि।) कुरा सक्किएकै थिएन, परबाट बेङ्टुर्या रानी बासी दिन त्यतै आउँदै गरेको सबै राजकुमारहरुले देख्छन्। कान्छोबाहेक बाँकी दाजुहरु उनको सौन्दर्य र रुपको अगाडि मुच्र्छितझैँ हुन्छन्।

बासी खाँदा उनले कान्छा राजकुमारलाइ भन्छिन, ‘गोरु चह्राए सक्कुओर लैजैहो गोस्या, नैनीताल भर झुक्क फे जिन लैजैहो।’ (गोरु चराउन सबैतिर लैजानु राजकुमार, तर नैनिताल भुलेर पनि नलैजानु।’ केही दिन उनको कुरा कान्छो राजकुमारले गम्भीर रुपमा लिन्छन् र गोरु नैनितालतिर लैजाँदैनन्। विस्तारै उनले राजकुमारीले भनेको कुरा बिर्सिदै जान्छन्। यता दरबारमा बिहेवारी भएर सुख शान्तिसँग जीवन बिताइरहेका हुन्छन् दुवैजना।

एकदिन गोरु तिर्खाएपछि पानी खुवाउन राजकुमारले नैनीताल लानुपर्ने बाध्यता आउँछ। पानी खाने बेला सबै गोरु तालको हिलोमा गाडिन्छन् र निस्किन सक्दैनन्। तालको देवताले उनलाइ बेङ्टुर्या रानीको भोग चढाउन आग्रह गर्छन्। वर्ष दिन खेती गरेर खुवाउने गोरु बिना घर पुगियो भने परिवारले दुःख पाइन्छ र आफू पनि घरनिकाला भइन्छ भन्ने भय लिएर विचरा राजकुमारले नैनीतालमा बेङ्टुर्या रानीको भोग चढाउँछन्।

केही दिनपछि फेरि बेङ्टुर्या रानी नैनीतालको छेउमा एउटा बाँसको थानको रुप धारण गरेर जन्मिन्छिन्। बाँसको थान एकदमै राम्रो र सप्रेको हुन्छ। एउटा डोमुवा त्यही बाटो जाँदै गर्दा राम्रो बाँस देखेपछि बाँसुरी बनाउनका लागि काट्न थाल्छ। बाँस काट्न थाल्दा डोमुवाले आकाशवाणी सुन्छ, ‘हेर हेर डोमुवा, वाह्रपाछ छ्वारस, मान्झ ग्यांरा लिहस।’ (हेर हेर डोमुवा, छेउछाउको छोड्नु, बीचको भाग लिनु।)

डोमुवाले यताउती हेर्छ तर कोही देख्दैन। फेरि काट्न खोज्दा उही आवाज आउँछ। आवाजमा भनेझैँ डोमुवाले बाँसुरी बनाउन बाँसको बीचको भाग काट्छ। उसले बाँसुरीमा मुख राख्नेबित्तिकै मीठो गीत गुन्जिन थाल्छ, तर त्यो गीतको आशय डोमुवाले बुझ्दैन। केही दिनमै उसले धेरै सम्पती कमाउन थाल्छ।

डोमुवा बाँसुरी बजाउँदै दरबारमा पुग्छ। बेङ्टुर्या रानीको जेठानी ढकिया बुन्दै हुन्छिन्। डोमुवाको बाँसुरीले गाउँछ …

टु ट जे जेठिनिया हो, भल ढकिया बिनठो
टुहार डिउरा नै जन्ल कि, डेल नैनी टालम भोग।
(तिमी त ए जेठानी, ढकिया बुन्छौ
तिम्रो देवरले जानेनन कि, दिए नैनीतालमा भोग)

गीत सुनेर जेठानी दङ्ग पर्छिन् र डोमुवालार्इ रानीको ९सासु० कक्षमा सुनाउन पठाउँछिन्। बासुरी गाउँछ …

टु ट जे सासू हो, भल लरका खेलैठो
टुहार पुटा नै जन्ल कि, डेल नैनी तालम भोग।
(तिमी त ए सासू, बालबच्चा खेलाउँछौ
तिम्रो छोराले जानेनन कि, दिए नैनीतालमा भोग।)

याड्डै! जा जा डोमुवा, म्वार छावन ओ रज्वह सुना। भारी मिठ गिट सुनैल्या जे ट का। (ओहो! जाउ जाउ डोमुवा, राजकुमार र राजालाइ सुनाउ। एकदम मीठो गित सुनायौ तिमीले।’

रानीले डोमुवालाइ अर्को कक्षमा पठाउँछिन्।
टुँ ट हो जेठुवा भल हरवा जोटैठो
टुहार भैया नै जन्ल कि, डेल निनि ताल म भोग।
(तिमी त ए जेठाजु, हलो जोत्छौ
तिम्रा भाइले जानेनन कि, दिए नैनीतालमा भोग।)
टु ट जे ससुर्वा भल हरवा बनैठो
टुहार पुटा नै जन्ल कि डेल नैनी तालम भोग
(तिमी त ए ससुरा, हलो बनाउँछौ
तिम्रो छोराले जानेनन कि, दिए नैनीतालमा भोग।)

सबै घरपरिवारले यो गीत बेङ्टुर्या रानीको परिवार छोड्न नसक्नुको पीडा हो भनेर बुझे। बुझेर मात्रै के गर्नु, बेङ्टुर्या रानीको भोग चढाइसकिएको थियो। तै पनि उनीहरुले डोमुवालार्इ कान्छा राजकुमारको खोपीमा गीत सुनाउन पठाइदिन्छन्। बाँसुरी फेरि गाउँछ …

टुँ ट जे जिन्गिक जोर्ह्या, भल बर्ढा चरैठो
टुहार अकिल नै पुगल कि डेलो नैनी तालम भोग
कि लहनु बासक ठनुवा
परनु डोमुवाके हाठ
(तिमी त ए जीवन जोडी, गोरु चढाउँछौ
तिम्रो बुध्दि पुगेन कि, दियौ नैनीतालमा भोग
लिएँ मैले बाँसको थान
परेँ डोमुवाको हात)

बाँसको थान र डोमुवाको हात भन्ने कुरा सुनिसकेपछि कान्छो राजकुमारलाई कुरा बुझ्न गाह्रो पर्दैन। डोमुवासँग बाँसुरी माग्छ तर उसले सजिलै दिन मान्दैन। थुप्रो धनदौलत र सम्पत्ती पाउने भएपछि डोमुवाले बाँसुरी दिन्छ। रात परेपछि बेङ्टुर्या रानी बाँसुरीको खोलबाट निस्केर मान्छेको भेष धारण गर्छिन्। फेरि राजकुमार र बेङ्टुर्या रानीको भेट हुन्छ। राजकुमारले आमालार्इ फेरि लैया बनाउन लगाउँछन् र उनी सुतेको बेला खोल जलाइदिन्छन्। त्यसपछि मान्छे बनेर परिवारसँग बेङ्टुर्या रानी र कान्छो राजकुमार सुखसाथ जीन्दगी बिताउँछन्।

शब्दार्थ:

लैयास् जाडो महिनामा आगो राख्नका लागि थारु समुदायमा बनाइएको नाङ्लो जस्तो माटोको बस्तु
बासीस् बिहानिको खाजा

लोककथाबारे मेरो अनुभुति:

खेती किसानी गर्नु र गाईवस्तु पाल्नु, थारु समुदायमा निकै अगाडिदेखि चलिआएको पेशा हो। म बालख छँदा फुर्सदमा कि त खेतमा हजुरामासँग चरा धपाउन दौडिन्थेँ कि त बिरामी छाता र केही खानेकुरा बोकेर हजुरबासँग गोठालो जान्थेँ। यी दुवैजनासँग जानुको मेरो एउटै स्वार्थ हुन्थ्यो, सुपर पावरफुल कि त एकदम कमजोर पात्रहरुले भरिएका रमाइला लोककथा सुन्ने। बेङ्टुर्या रानीको कथा मैले हजुरबाको मुखबाट पहिलोपटक गोठालो जाँदा नै सुनेको थिएँ।

कथाको सुरुवातमा देखिने छुच्ची भाउजूको चरित्रले बाल संवेदनामा गहिरो अर्थ राखेको थियो। ०५७ सालतिर होला, कमैया र कमलहरीहरु अझै मुक्त भसकेका थिएनन। जमिन्दारले गाउँलेहरुमाथि गरेका ज्यादती निकै पीडादायक र निन्दनीय थिए। जब हजुरबाले कथामा भाउजु(नन्दको प्रेमविहिन सम्बन्धको बारेमा सुनाउनुभयो, मलार्इ जमिन्दारका पत्नीहरुले फुपू, काकीमाथि गरेको घिनलाग्दा र कलुषित व्यवहार याद आएको थियो। लाग्थ्यो, बेङ्टुर्या रानीले र फुपू, काकीले मिलेर विद्रोह गर्नुपर्छ तर न त, बेङ्टुर्या रानीको विद्रोह सुनेँ न त फुपू, काकीको। समाजको निरिह पात्रहरुको समानान्तर कथा।

कथाको बीचबीचमा बेङ्टुर्या रानीको पुनर्जन्मले चकित बनाउँथ्यो। मनमनै आफ्नै मृत्युको काल्पनिक भ्रम आफैंमाथि छरेर पुनस् जिवित भएर मुस्कुराउँथे। हलो जोत्ने कुरा, गोरु चराउन जानु, म जुन समुदाय, रहनसहनमा हुर्किँदै थिएँ, त्यसै समुदाय वरिपरि घुम्ने कथाका प्लटले यो कथा साँच्चै हाम्रै समुदायको कथा होझैँ लाग्थ्यो।

स्मरण छ, भेग्वाको एक साइडमा हजुरबाले जहिले पनि मुरली बोकिरहनु हुन्थ्यो र मलार्इ सिजन अनुसारका गीत छहारीमा बसेर सुनाउनुहुन्थ्यो। धेरै लोककथाहरुमा प्रयोग गरिएका जिवन्त समाज भेटिने गीत उही मुरलीबाटै सुन्न पाएको थिएँ। हजुरबामा मैले डोमुवाकै एक रुप देख्थेँ। हजुरबामार्फत् कला र संगीतप्रेमी थारुलाइ न्याय गरेको महसुस गर्थेँ। राजा भएर पनि आम नागरिकझैँ हलो जोत्नु, गोठाला जानुले आश्चर्यवोध गराउँदथ्यो र आफू पनि कुनै राजा बन्ने कल्पना गरिन्थ्यो। यो लोककथाले मलार्इ बच्पनमा थारु समुदायको सामाजिक, साङ्गीतिक र सोझो जनजीवनसँग घुलमिल गराएको थियो। म आफैंलाई आफ्नो बारेमा बुझाउन यस लोककथाले खेलेको भूमिका अथाह छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *