आर्मी र एपीएफ च्याम्पियन, सरस्वती चौधरी उत्कृष्ट खेलाडी

दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबलमा च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार पुरुषको फाइनलमा आर्मीले अपराजित टिम नेपाल पुलिस क्लबलाई २५–१८, २५–१६, २७–२५ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

महिलातर्फको फाइनलमा एपीएफले न्यु डायमन्ड एकेडेमीलाई पनि ३–० को सोझो सेटमा रोकेको थियो । एपीएफले २६–२४, २५–१५, २५–२३ को सोझो सेटमा नतिजा निकाल्यो । सुरुआतदेखि पुलिसलाई दबाबमा राखेको आर्मीले तेस्रो सेट जित्न भने कडा संघर्ष गर्नुपर्‍यो ।

पुलिसले १७–१४ ले अग्रता बनाएको थियो । तर आर्मीले पुनरागमन गदै खेल आफ्नो पक्षमा पर्‍यो । आर्मीका प्रशिक्षक जगदीश भट्टले विपक्षीको कमजोरीमा फाइदा लिँदै हरेक पोजिसनमा राम्रो खेल्दा सशक्त प्रतिद्वन्द्वी पुलिसमाथि विजय पाएको बताए । पुलिसका मुख्य प्रशिक्षक सरोज श्रेष्ठले लिगभर उत्कृष्ट प्रदर्शन गरेको बताउँदै फाइनलमा रिसिभमा समस्या आउँदा आक्रमण कमजोर भएको बताए ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिता विजेता दुवै टिमले २–२ लाख नगद पुरस्कार प्राप्त गरे । दुवै उपविजेता टिमले १–१ लाख पाए । तेस्रो भएका हेल्प नेपाल र नेपाल पुलिसले ५०–५० हजार तथा चौथा भएका एपीएफ र पश्चिमाञ्चल टप्सले २५–२५ हजार पुरस्कार थापे ।

पुरुषमा आर्मीका धनबहादुर भट्ट र महिलामा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी भए । दुवैले १५–१५ हजार पाए । पुरुषमा पुलिसका इम रानामगर सेटर, आर्मीका ईश्वर थापा डिफेन्स, पुलिसका कुलबहादुर थापा स्पाइकर, आर्मीका मानबहादुर श्रेष्ठ सर्भर, हेल्प नेपालका सन्जुविक्रम शाह ब्लकर र आर्मीका जगदीश भट्ट उत्कृष्ट प्रशिक्षक चुनिए ।

महिलातर्फ पश्चिमाञ्चलकी अरुणा शाही सर्भर, एपीएफकी उषा विष्ट ब्लकर, न्यु डायमन्डकी प्रतिभा माली स्पाइकर, पुलिसकी कमला पुन डिफेन्स, आर्मीकी जानकी भण्डारी सेटर र एपीएफका प्रकाश थपलिया उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबै ५–५ हजारबाट पुरस्कृत भए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *