लगन कहिले पो जुर्ने हो ?

कृष्णराज सर्वहारी।
यो बिहेको मौसम। समयले कति चाँडै कोल्टे फेर्छ भने हेर्दाहेर्दै यो पंक्तिकारको विवाह भएको पनि २०७३ माघ २७ गते २८ बर्षै पार भएछ गाँठेे। थारू समुदायमा त्यसै पनि चाँडै विवाह गर्ने चलन छ। यो ज्यान आईए पहिलो वर्षको जाँच दिइ सकेर सत्र वर्षको अल्लारे उमेरमा पञ्चै बाजा बजाएर डोली चढेर दुलही भित्र्याएको थियो, २०४५ साल माघ २७ गते। अहिले वैवाहिक जीवनको प्रमाणपत्रको रुपमा ३ छोरी छन्, जो वीए फाइनलदेखि प्लस टुसम्म अध्ययनरत छन्। आउने फागुन १२ गते दाजुले आफ्नी छोरीको बिहे गर्दिदै हुनुहुन्छ। थाहा छैन, जीवनको घुम्तीमा मेरा छोरीहरूले कहिले, कस्ता पो जीवनसाथी रोज्ने हुन्।

धेरैलाई यो लेख ब्यक्तिगत गनथन लाग्न सक्ला। तर धेरै बिबाहितहरुलाई यो लेखले आफ्नो जीवनलाई फर्केर हेर्न कर लाग्ला भन्ने मलाई लाग्छ। मैले निकै अगाडिदेखि मनसुवा बनाएको थिएँ कि आफ्नो विवाहको रजत वर्ष धुमधामको साथ मनाउने छुँ। पुनः ससुराली जन्ती जानेछुँ। यो बीचमा कमाएका घनिष्ट साथीभाइहरूलाई निम्त्याउने छु। दिउँसो साहित्यिक कार्यक्रम गर्नेछुँ। बेलुकी रात्री भोजका साथ थारू झुमरा नाचको व्यवस्थापन गर्नेछु। आदि आदि। मेरा अभिभावकले खुशी हुँदै पुनः बिहे भोजको तयारी पनि थालेका थिए। तर समयलाई यो सब मञ्जुर भएन। २०७० सालको सोही बैबाहिक रजत बर्षको साता श्रीमती बिरामी भएपछि कार्यक्रमले फेल खायो।

सानैमा विहे गरेकोले हो कि मलाई आफ्नो विहेको जन्ती अझै पनि केटाकेटीको खेल थियो कि झैँ लाग्छ। तर त्यो सत्य थियो, मैले दाजुभन्दा अघि विहे गरेर सामान्य ज्ञानमा सोधिने प्रश्न परिवेत्ताको उपाधि पाएको छुँ । अव चाँडै नै पीएचडीको उपाधि पनि हात लाग्ला। मैले नेपाल संस्कृत विश्वविद्यालयमा यसको थेसिस बुझाएको छुँ।

विहे गरेको तीन वर्षपछि हाम्रो पहिलो सन्तान जुनु छोरी जन्मिइन्। विहे गरेकै साल मेरो आईए पहिलो वर्षको रिजल्ट आएको थियो। २०४५ सालमा दाङमा एउटा पनि प्लस टु थिएन। महेन्› बहुमुखी क्याम्पस भरतपुर एक मात्र क्याम्पस थियो, जहाँ पहिलो वर्षमा करीब १३ जना कृष्ण नाम गरेका सहपाठी थियौं। ती सबै कृष्णमध्ये म एक्लो कृष्ण पास भएको थिएँ। धेरैको प्रतिक्रिया थियो, विहे गरेपछि प्रगतिको बाटो बन्द हुँदो रहेनछ, सर्वहारीको रिजल्टले यही बताउँछ। हुन पनि बैबाहिक जीवन मेरो कुनै क्षेत्रको उन्नतिमा बाधक रहेन।

म आइए दोस्रो वर्षमा पुग्दा मेरो बुवा टिकाराम चौधरी र दाजु ऋषिराज चौधरीसँगै बीए पहिलो वर्ष ज्वाइन गर्नुभयो। बुवा १६ वर्ष जागिरे जीवन त्यागेर क्याम्पस पढ्न आउनु भएको थियो। उहाँले व्याक दिँदै ५ वर्षपछि आईए कटाउनु भयो भने दाजुले लगातार २ वर्षमै। यसरी उहाँहरु संगै स्नातकमा भर्ना भएपछि हामी तीन बाबु छोरा सँगै क्याम्पस जान्थ्यौँ, आउँथ्यौ। मेरी श्रीमती गाउँको महिला साक्षरता कक्षामा पढ्दै थिइन्। महिला विकास शाखाले त्यो कक्षा सञ्चालन गरेको थियो। उनले हाम्रो विवाह दर्ताको प्रमाणपत्रमा हस्ताक्षर गरेको क्षण सम्भ्किँदा मेरो मन अहिले पनि प्रफुल्लित हुन्छ।

श्रीमानको सफलतामा श्रीमतीको हात दोव्वर हुन्छ भन्ने मलाई लाग्छ। वैवाहिक जीवनको २८ वर्षलाई फर्केर हेर्दा मैले श्रीमतीलाई सुखभन्दा बढी दुःख दिए जस्तो लाग्छ। उनले एक दशक बढी मेरो गाउँ दाङदेउखुरी छुट्की घुम्नामा खेतीबारी स्याहारिन्, वनपात गरिन्। कुनै सन्तान जन्मेको बेला पनि मैले एक किलो फलफूल लिएर पनि हाजिर हुन सकिनँ।

दृष्टिशक्ति कमजोर भएर तीनजनै छोरीहरूको चश्मा लगाउनै पर्ने अहिले अवस्था छ। उनको गुनासो छ, सुत्केरी अवस्थामा पनि मैले सन्तुलित खाना नपाउँदा छोरीहरूको आँखा कमजोर भएको होला। त्यसो त धेरै चिन्ता गरिरहने महिलाहरूको रोग मेरी श्रीमतीले पनि पालेकी छिन्। कहिले ढाडको, कहिले पेटको, कहिले पत्थरी आदिको समस्याको जड उनको बढी चिन्ता गर्ने बानीले झन बढी दुःख दिइरहेको हो की जस्तो लाग्छ। साठीको दशकमा नेपालगञ्ज बस्दाताका पनि मैले उनका लागि त्यहाँका धेरै चिकित्सकहरुको क्लिनीक धाएको छुँ।

पत्रकारितासँगै साहित्य लेखनमा रुचि राख्ने यो पंक्तिकार विहेको एक दशकपछि पुस्तक प्रकाशन थालेको हो। अहिलेसम्म २३ पुस्तक प्रकाशन गरिसक्दा पनि कुनै पुस्तकको विमोचनमा मैले पत्नीलाई उपस्थित गराउन सकेेको छैन। कुनै पुस्तकको भूमिकामा उनलाई सम्झेको छैन। दर्जनौँ पुरस्कार थाप्दा पनि कुनै पुरस्कार समारोहमा लैजानलाई मनाउन सकेको छैन। कारण उनी विशु्द्ध गृहिणी हुन मात्रै रुचाउँछिन्। मेरो लेखनमा उनको ठूलो भूमिका छ, मेरा केटाकेटीको स्याहार, पढाइमा उनले पर्याप्त ध्यान नदिएको भए मैले लेखनमा समय पक्कै पाउने थिइनँ।

जीवन कुमालेको माटाको भाँडो बनाउने चक्रझैँ घुमिरहन्छ। मलाई सानैमा ज्योतिषीले ८० वर्षसम्म बाँच्छस् भनेको छ। तर मलाई ज्योतिषमा विश्वास लाग्दैन। विश्वास नभएपनि केही महिना पहिला न्यूरोडको एक ज्योतिषकहाँ हात हेराउन गएको थिएँ। पीएचडीको पेपर बुझाएपछि स्वतन्त्र लेखन गरेर जीवन बिताउने मनसुवा पालेको थिएँ। तर ज्योतिषले तेरो त जिन्दगी जागिर खाएरै सिद्धिन्छ पो भन्यो बा। एक दशक (२०६२–२०७२) दश टु पाँच जागिर नखाएरै बिताइयो। तर २०७३ सालबाट पुनः पत्रकारिताको दुःखारी पेशा पुनः शुरु भएको छ। साँच्चै ज्योतिषले मिलाउँछ कि क्या हो? ज्योतिषले यो पनि भनेको थियो कि तिमी बुढा बुढीको जिन्दगी झगडा गरेरै वित्छ। डेरामा आएर श्रीमतीलाई सुनाउँदा भनेकी थिइन्– छाड्नुस् त्यस्ता बकमफुस्के कुरा। सानातिना झगडा त कुन जोइ पोइको हुन्न र? त्यही झगडामा त माया लुकेको हुन्छ।

मलाई श्रीमतीको त्यस्तो भनाइले शित्तल पार्योय। थाहा छैन, मेरो विहेको स्वर्ण वर्ष आउला कि नआउला? म त्यत्ति लामो समयसम्म कुर्न पनि चाहन्न। छोराछोरीको विहे गरेर सम्धी हुनु अगावै आफ्नो विवाहको अवसरलाई पुनः ताजगी गराउन चाहन्छु। कोही दुःखमा पर्दा नेपालीमा एउटा भनिने आहान छ, उसले बल्ल देख्यो बाबुको बिहे। तर मैले आफ्ना छोरीहरूलाई जन्ती लैजाने योजना बनाएर बाबुको बिहे देखाउने सोंच अझै पनि ठाँटी राखेको छैन। हेरौँ, त्यो लगन कहिले पो जुर्ने हो?
साभारः नयाँ युगवोध दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *