रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा

नागेन्द्र चौधरी/बारा।

रुपन्देही ११ लाई हराउँदै हिमालयन शेर्पा सिमरामा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा सोमबार भएको खेलमा रुपन्देहीमाथि १–० को जित निकाल्दै शेर्पा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो। शेर्पाको जितमा निशान लिम्बुले निर्णायक गोल गरे। खेलको ५२ औ मिनेटमा लिम्बुले गोल गरेका थिए।

साविक उपबिजेता रुपन्देहीले खेलको सुरुवात आकर्षक गरेपनि गोल गर्ने थुप्रै राम्रा अवसर चुकाएको थियो। खेलको ३ मिनेटमै रुपन्देहीका दिपक राईको प्रहार शेर्पाका गोलरक्षक किशोर गिरीले बचाउ गरे। खेलको २० औं मिनेटमा शेर्पाका सुरज हमाल वन भर्सेस वनको स्थितिमा चुके। उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। सुरुवातदेखि राम्रा अवसरको सिर्जना गरेका दुबै टिमको फिनिसिङ भने सन्तोषजनक रहन सकेन।

खेलको दोस्रो हाफमा  शेर्पाले रुपन्देहीलाई सुरुदेखि नै दबाबमा राख्यो। शेर्पाले आक्रामक खेल खेल्दै दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेलमा अग्रता लिएको हो। खेलको एक गोलले पछि परेपछि दबाब झेल्न पुगेको रुपन्देहीका खेलाडीलाई शेर्पालाई रोक्न हम्मेहम्मे पर्यो।

शेर्पाले ६४औं मिनेटमा शेर्पाका विश्वास श्रेष्ठले मिलाएको क्रसमा दुई खेलाडी गोल गर्न चुके। बिश्वासको क्रसलाई सुरज हमाल र रिचार्ड पुनले सदुपयोग गर्न सकेनन्।

खेलको अन्तिम पाँच मिनेटमा खेलमा फर्कने थुप्रै अवसर सिर्जना गरेको रुपन्देहीले गोल गर्न नसक्दा हार आत्मसाथ गर्न बाध्य भयो।
खेलको म्यान अफ दी म्याच शेर्पाका निशान लिम्बु बने। उनले पाँच हजार नगद प्राप्त गरे। प्रतियोगिताअन्तर्गत मंगलबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र वीरगन्ज युनाइटड क्लबबीच हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *