पोखरामाथि वीरगञ्चजको रोमाञ्चक विजयी

नागेन्द्र चौधरी/बारा।

सहारा क्लब पोखरामाथि रोमाञ्चक जित हात पार्दै वीरगन्ज युनाइटेड क्लब सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सिमरा रंगशालामा शनिबार भएको खेलमा सहारामाथि १–० को जित निकाल्दै वीरगन्ज प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो। वीरगन्जको जितमा विकास राईले निर्णायक गोल गरे।

सहाराको रक्षापंक्ति सम्हालिन नपाउँदै खेलको दुई मिनेटमा विकासले गोल गरे। डिबक्सभित्रबाट विकासले प्रहार गरेको सहाराका कप्तान सुसन गुरुङको खुट्टामा लागेर गोल भएको थियो। विकासको प्रहार रोक्न सुसन असफल देखिए।

खेलको सुरुवातमै गोल खाएपछि दबाबमा देखिएको सहारामा तालमेलको अभाव देखिन्थयो। एकेडेमीका तीन खेलाडीसहित मैदानमा उत्रिएको सहाराले वीरगन्जविरुद्ध पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन। सहाराको फिनिसिङमा तालमेलको अभाव खड्कियो।

खेलमा अग्रता लिएपछि पहिलो हाफमा वीरगञ्ज हाबी भयो। सुरुवातदेखि आक्रामक खेल खेलेको वीरगन्जले खेलको ३३औं मिनेटमा कप्तान अमर डंगोलको पासलाई विकास राईले फितलो प्रहार गरे। डिबक्सभित्रको बलमा उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। पहिलो हाफको अन्तिम समयमा पाएको तीन वटा उत्कृष्ट अवसर वीरगन्जले चुकायो।

खेलको दोस्रो हाफमा सहाराले सुधारिएर प्रदर्शन गरेपनि स्कोर गर्न नसक्दा पराजय भोग्न पुग्यो। दोस्रो हाफमा सहाराले वीरगन्जलाई दबाबमा राख्दै बनाएको थुप्रै अवसर चुकाउन पुग्दा हार आत्मसाथ गर्न बाध्य भयो ।

सहाराका सहायक प्रशिक्षक दिपेश योञ्जनले खेलाडीबीच तालमेल नमिल्दा पराजय भोग्न पुगेको बताए। दोस्रो हाफमा केही सुधारिएर प्रदर्शन गरेपनि गोल गर्ने अवसर चुकाउदा पराजय भोगेको योञ्जनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *