नेपाली खेलकुदमा थारुको उपस्थिति

प्रदिप लेखी।

नेपाली खेलकुदमा थारु समुदायका खेलाडीको महत्वपूर्ण योगदान छ । सिमित स्रोत साधानबाट सञ्चालन भइरहेको नेपाली खेलकुदमा थारु समुदायबाट उत्पादन भएका खेलाडीहरुले ओलम्पिकमा समेत सहभागिता जनाएका छन् । विशेष गरी एथलेटिक्स, फुटबल, भलिबल, मार्शल आर्टलगायतका खेलमा थारु समुदायका खेलाडीको उच्चस्तरका प्रदर्शन देख्न पाइन्छ । हालः फुटबलमा क्रियाशिल रहेका भरत खवासले चर्चित थारु खेलाडी हुन् भन्दा फरक पर्दैन । एथलेटिक्सका ओलम्पियन तिलकराम थारु, देवी चौधरी, सविता चौधरीलगायतका खेलाडीले नेपाली खेलकुदमा महत्वपूर्ण योगदान दिएका छन् ।

नेपाली खेलकुदका विज्ञ् दीवाकरलाल अमात्यसमेत थारु समुदायले नेपलाको खेलकुदमा महत्वपूर्ण योगदान दिएको स्वीकार्नुहुन्छ । नेपाली खेलकुदमा थारु समुदायको विषयमा अनुसन्धान गरेर अगाडि बढ्ने हो भने क्षमतावान खेलाडी उत्पादन गर्न सकिने उनको तर्क छ । एथलेटिक्सको ४०औं राष्ट्रिय खेलकुदमा पनि थारु खेलाडीहरुको राम्रो उपस्थिति रहेको थियो । त्यसको रिजल्टलाई अध्ययन गर्ने हो भने ३० प्रतिशत पदक विजेता खेलाडी एक्लो थारु समुदायबाट मात्र छ । यति धेरै समुदाय बसोबास गर्ने मुलुकमा ३० प्रतिशत थारु समुदाय आउनु भनेको ठूलो कुरा हो । एथलेटिक्सको १०० देखि १५ सय मिटरसम्मको दौडको मेडल तालिकालाई अध्ययन गर्ने हो भने अधिकांश राष्ट्रिय रेकर्ड थारु समुदायको खेलाडीको नाममा छ । आकल झुक्कल अन्य समुदायका खेलाडीको नाममा रेकर्ड बनेको देखिन्छ नत्र सबै थारु समुदायको हातमा रेकर्ड छ ।

‘एथलेटिक्सको छोटो र मध्यदूरीको दौडमा थारु समुदायको विलक्षण प्रतिभा देखिएको छ । त्यस विषयमा सम्बन्धित निकायले अनुसन्धान गरेर अगाडि बढ्ने हो भने हामीले थारु समुदायलाई खेलकुदको माध्यमबाट अगाडि बढाउन सक्छौं,’ श्रेष्ठ भन्छन्, ‘उनीहरुको जीवनशैली, शारीरिक बनावटले पनि खेलकुदमा महत्वपूर्ण योगदान दिनसक्ने पुष्टि हुनछ ।’ अमात्यका अनुसार थारु समुदायका खेलाडिको शरिरको तल्लो भाग लामो हुने गर्छ ।

अमात्यका अनुसार देशका ६ जिल्लामा बसोबास गर्ने थारुहरुको विषयमा महत्वपूर्ण अध्ययन गरेर खेलकुदमा विशेष अभ्यास दिलाउने हो भने थारु समुदायले महत्वपूर्ण योगदान दिन सक्छन् ।

फुटबलमा थारुको योगदान
नेपालकै सर्वाधिक लोकप्रिय फुटबल खेलमा पनि थारु समुदायका खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । मोरङका देवनारायण चौधरी कुनै समय नेश्नल टिमका नायक थिए । उनलाई हेडर बादशाहका उपनामले पनि नेपालमा चिनिथ्यो त्यसबेला देवनारायणले गरेको उत्कृष्ट हेड गोलकै कारण नेपाललाई कतिपय अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल बनेको थियो । यसका साथै देवनारायण महेन्द्र पुलिस क्लबका एउटा खम्बा खेलाडीका रुपमा पनि स्थापित थिए ।

अहिले भरत खवास एन्फा एकेडेमीबाट छनोट भएर राष्ट्रिय स्तरका खेलाडी बनेका छन् । उनी आर्मीमा छन् । उनी पनि चौधरी झैँ मोरङमा नै हुर्केका हुन् ।

भरत नेपाली राष्ट्रिय टिम बाट साग र सोलिडारिटी कप जस्ता प्रतियोगिताहरुमा गोलगर्दै दशकै पछि नेपाली फुटवल इतिहाँसमा अन्तर्राष्ट्रि«य उपाधिको खडेरी तोड्दै आफूलाई स्टार खेलाडीका रुपमा स्थापित गराउन सफल बनेका छन् ।

त्यसैगरी सर्लाहीका आदित्य चौधरी पनि एन्फा एकेडेमीमा छनोट भएर यु–१४ बाट आफ्नो फुटबल करियरको सुरुवात गरेका खेलाडी हुन् । यु–१४ हुँदै यु–१६ र यु–१९ खेल्दै आफूलाई नेपाली राष्ट्रिय टिममा डिफेन्डरको भूमिकामा स्थापित गराउन सफल भए । बंगबन्धु गोल्ड कप, साग र सोलिडारिटी कपमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै एउटा सफल डिफेण्डरको रुपमा नेपाली फुटबल इतिहासमा स्थापित गराउन सफल भइसकेका छन् ।

नवलपरासीका अमृत चौधरी गाउँबाट खेल्दै हिमालियन शेर्पा क्लबमार्फत पहिचान बनाउन सफल भएका खेलाडी हुन् । उनी पछि एपिएफ टिमा आबद्ध भएका छन् । उत्कृष्ट गोलरक्षकका रुपमा आपनो परिचय बनाएका अमृतले बंगलादेशमा भएको बंगबन्धु र भारतको गोहाटीमा भएको साग गेममा राष्ट्रिय टिममा छनोट भएर गोल रक्षकको भूमिका निभाउने मौका पाएका थिए । अहिले उनी नेपाली गोलरक्षकहरुमा तेस्रो स्थानमा पर्ने गरेका छन् ।

फुटबलमा अमिट छाप छोड्न सफल भएका यी खेलाडीहरुले अवसर र मौका पाएका कारण आफ्नो क्षमता प्रस्तुत गरे । यस्ता थुप्रै उत्कृष्ट थारु समुदायका खेलाडीहरु अझै पनि आँखा पर्न सकेका छ्रैनन् । यो हाम्रो विडम्बना नै हो ।

कतिपय क्षमतावान खेलाडीले आफ्नो घर परिवारको दैनिकी गुजारा गर्नका लागि खेल जीवनलाई तिलाञ्जली दिएर अर्कै पेसाामा लाग्नुपरेको अवस्था छ । विलक्षण प्रतिभावान खेलाडीलाई समेत राज्य संरक्षण गर्न नसक्नु हाम्रो लागि अर्काे विडम्बना हो ।

नेपालको खेलकुद राजधानीमा केन्द्रीत छ । उपत्यकाका पुहँचवालाहरुको नियन्त्रणमा खेलकुद गतिविधि नियतन्त्रण हुने भएकाले पनि थारु समुदायका उत्कृष्ट खेलाडीले अझै अवसर पाउन सकेका छैनन् ।

हामीले माथि फुटबलका स्टार खेलाडीहरुको विषयमा केही चर्चा गर्यौं । तर फुटबलबाहेक भलिबल, एथलेटिक्समा पनि नेपालका उत्कृष्ट थारु खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा देशको इज्जत जोगाइराखेका छन् । तर पनि उनीहरुलाई विशेष सुविधाको विषयमा भने आनाकानी गरिन्छ । जुन थारु समुदायमात्र नभएर सम्पूर्ण खेलाडीका लागि दुखको कुरा हो ।

खेलकुद क्षेत्रमा थारु समुदायले महत्वपूर्ण योगदान दिन सक्ने कुरालाई राज्यले अझै पहिचान गरेर विशेष किसिमको योजना तथा कार्यक्रम नल्याएनु विडम्बना भएको खेलकुद विज्ञ् दिवाकरलाल अमात्य बनाउछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ पनि खेलकुदमा थारु समुदायले उत्कृष्ट पदर्शन गर्दै आएको र सो समुदायमा फरकखालको प्रतिभाव भएको स्वीकारे । त्यसविषयमा ओलम्पिक कमिटीले विशेष ध्यान दिने समेत प्रतिबद्धता व्यक्त गर्न उनी पछि पर्दैनन् ।

थारु समुदायको खानपानदेखि विशेष साँस्कृतिक क्रियाकलापले समेत खेलकुदमा योगदान दिनसक्ने भएकाले ती विषयमा राज्यस्तरबाट विशेष अनुसन्धान र अध्ययन गरि विशेष प्रशिक्षणको सुविधा दिएको खन्डमा नेपाली खेलकुदलाई यो समुदायले नयाँ उचाईमा पुर्याउनेमा दुई मत रहँदैन । (थारु पत्रकार संघ नेपालको मुखपत्र फूलरियाबाट साभार)
लेखक थारु पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *