सात दिने खिचरा महोत्सव समापन, प्रजिअले भने- थारु समुदाय शान्तिका प्रतिक हुन्

कारी महतो/खैरहनी

पुस २८ देखि माघ ५ सम्म भएको चौथो खिचरा महोत्सवको समापन समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले थारु समुदायले खिचरा महोत्सव मार्फत उनीहरु शान्तिका प्रतिक हुन् भन्ने सन्देश दिएको बताएका छन्। माघ ५ गते भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित चितवनका प्रमुख जिल्ला अधिकारीले जिल्ला सदरमुकाम भन्दा टाढा आयोजना गरिएको भए पनि निकै भव्य, सौहार्दपूर्ण रुपमा र शान्त वातावरणमा खिचरा महोत्सव सफल भएकोमा आयोजक कमिटीलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्। प्रजिअ भट्टले खिचरा महोत्सवको शान्ति सुरक्षाको बारेमा आफुले निकै सचेत भएको र सातदिन सम्म आयोजना भएको खिचरा महोत्सवमा शान्ति सुव्यवस्था कायम गर्न अलि कठिन होला भनी सचेत भएको तर कुनै किसिमको उच्छृङ्खल गतिविधि नभएकोमा खुशी व्यक्त गरेका छन्। साथै प्रजिअले आफू पनि माघ १ गते दर्शकको रुपमा यो महोत्सव अवलोकन गरी थारु संस्कृतिसँग सम्बन्धित थारु फुडको स्वाद लिएको खुलासा गरे।

महोत्सवको समापन समारोहमा पत्रकारिता मार्फत थारु भाषा, कला र संस्कृति संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा कलम चलाएर उल्लेखनीय कार्य गर्दै आएका राससका सम्वाददाता नारायण ढुंगानालाई उत्कृष्ट पत्रकारिता पुरस्कारले सम्मानित गरिएको छ भने चितवन पोष्टका सम्वाददाता होमनाथ सापकोटा, नारायणी अनलाइनका सम्वाददाता विकास पौडेल र आभास टेलिभिजनकी सम्वाददाता करुणा देवकोटा र ग्रेट एफएमलाई खिचरा महोत्सवको बारेमा उत्कृष्ट समाचार लेखन, प्रकाशन र प्रसारण गरेवापत थारु पत्रकारिता पुरस्कारले सम्मान गरिएको छ। पुरस्कार राशी जनहि पाँच हजार रहेको छ।

महोत्सव अवधिमा भएको नृत्य प्रतियोगितामा प्रथम हुने आशिष चौधरी, द्वितीय हुने स्मृति भण्डारी र तृतीय हुने प्रतियोगी दिव्या नेपाललाई क्रमशः दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कार र प्रमाण पत्र पनि समापन कार्यक्रममा प्रदान गरिएको छ। फाइनलमा पुग्ने पाँच जना प्रतियोगीहरु सोनम चौधरी, ज्योति चौधरी, बबिता प्रजा, रिता प्रजा र प्रिया पुनमलाई शान्त्वना स्वरुप जनहि एक हजार नगद सहित प्रमाण पत्र पनि सोहि दिन प्रदान गरिएको छ। महोत्सवलाई प्रायोजन गर्ने मुख्य प्रायोजक राइनो बियर, प्रायोजक केयर पोलिक्लिनिक र सहप्रायोजक इको उड पेन्टस, कालिका मोटर पार्टस्का साथै टिकट सौजन्यकर्ता र सहयोगी संस्थाहरुलाई पनि समापनमा सम्मान गरिएको छ।

समापन कार्यक्रमका दिनमा पनि उल्लेख्य रुपमा आएका दर्शकहरुलाई गायक सञ्जय चौधरी, मनोज महतो र दया सिवाकोटीले नचाएका थिए भने धमौरा, सिसुवार लागयतका थारु युवतीहरुको रिमिक्स नृत्यका साथै जेवाईसी र रत्ननगर डान्स एकेडेमीको नृत्य प्रस्तुति रहेको थियो।

महोत्सवको समापन समारोहमा अतिथिहरुलाई प्रचारप्रसार समितिका संयोजक सन्त कुमार चौधरीले स्वागत मन्तव्य र आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। थारु पत्रकार संघ चितवनका सल्लाहकार दिपेश चौधरीले उदघोषण गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *