खिचरा महोत्सव अन्तिम तयारीमा, उत्कृष्ट दुई पत्रकार सम्मानित हुने

कारी महतो थारु/खैरहनी।

खिचरा महोत्सवको उत्कृष्ट प्रचारप्रसार तथा समाचार लेखन र प्रकाशनमा योगदान पुर्याउने दुई जना पत्रकारलाई हरेक वर्ष महोत्सवको उदघाटन सत्रमा सम्मान र पुरस्कृत गरिने खिचरा महोत्सव मूल आयोजक समितिले जनाएको छ । खैरहनी न.पा.– ५, गौचरन (जबकौली दुर्गामन्दिर) चौरमा २०७३ पुस २८ देखि माघ ५ सम्म चल्ने चौथो खिचरा महोत्सवको अन्तिम तयारी बारे जानकारी गराउनका लागि आज भएको पत्रकार सम्मेलनबाट उक्त कुरा उदघोष गरिएको हो ।

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान ! बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान !!’ मूल नारा रहेको चौथो खिचरा महोत्सवमा प्रवेश शुल्कका रुपमा रु.५०।– र विद्यार्थीका लागि (परिचयपत्रका आधारमा) रु.३०।– कायम गरिएकोमा सर्वसाधारण जनताका माग र सुझावलाई मध्यनजर गर्दै टिकट दरमा पुनर्विचार गर्दै टिकट शुल्क घटाएर रु.४०।– र विद्यार्थी वर्गका लागि रु.२०।– कायम गरेको जनाइएको छ ।

विविधतालाई राष्ट्रिय गौरव र सम्पतिको रुपमा अङ्गिकार गर्दै सबै जातजाति, भाषा र संस्कृति संरक्षण र फल्नेफुल्ने अवसर पाउनुपर्दछ । महोत्सवको महत्व बारे प्रकाश पार्दै प्रचार प्रसार समितिका संयोजक सन्तकुमार चौधरीले बताए। उनले यस महोत्वसले आपसी एकता, सहयोग, भाईचारा, सद्भाव, सहअस्तित्व र सहसम्मानलाई प्रवर्द्धन गर्ने बताए।

यसवर्षदेखि प्रवेश शुल्क (टिकट) बाट प्राप्त हुने प्रति टिकट रु.१।– असहाय तथा अनाथ बालबालिकाका लागि छुट्याईनुका साथै महोत्सवबाट बचत हुने रकम थारु साँस्कृतिक संग्रहालय भवन निर्माणमा खर्च गरिने जनाइएको छ । महोत्सव अवधिभर करीब बीस लाख खर्च गरी सात लाख बचाउने अनुमान गरिएको छ ।

महोत्सव सम्पन्न गर्न ३०१ सदस्यीय खिचरा महोत्सव मुल आयोजक समिति र २५ वटा उपसमितिहरु गठन गरिएको छ । महोत्सवमा थारु खानाका परिकारहरु जस्तैः चिचर, घोङ्घी, माछा, निचा, ग्वागा, नकगर रोटी, ढिकरी रोटी, हाँसको मासु लगायतको परिकार पाइनुका साथै अन्य फुड स्टलहरु रहने कुरा मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले पत्रकारहरुका जिज्ञासालाई प्रष्ट पार्दै भने।

थारु सँस्कृति झल्काउने नाचगीतहरु जस्तैः झमटा, ठेकरा, झर्रा, झुमरी, रसधारी, डफ, फगुवा लगायतका साँस्कृतिक नाचगीतका साथै राष्ट्रिय र स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुति रहने जनाइएको छ । राष्ट्रिय कलाकारहरुमा काली प्रसाद प्रसाद बासकोटा, अलमोडा राना, शशी रावल, माण्डवी त्रिपाठी, सञ्जय चौधरी, मनोज महतो, श्रीनिवास चौधरी, केशवराज महतो, दया सिवाकोटी, अञ्जन डल्लाकोटी लगायत गायकहरु आउने निश्चित भएको र थप कलाकारहरुसँग समयको लागि अझै कुराकानी भइरहेको जनाइएको छ । त्यस्तै युवाहरुलाई लक्षित गरेर लाइभ इन कन्सर्टका लागि नेटिभ ब्याण्ड र इथोस ग्रुप पनि महोत्सवको आकर्षणका रुपमा रहने जानकारी साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानकारी दिनुभयो । लोकदोहोरीको डिमाण्ड बढी भएकोले मिलन लामा लगायत राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको वाद्यवादन टोली सहित कलाकारहरुको विशेष प्रस्तुति रहने जानकारी गराइएको छ ।

महोत्सवमा कृषि उपज बाली बिरुवा प्रतियोगिताको पुरस्कारका लागि करीब ९० हजार छुट्याइएको र नृत्य प्रतियोगिताको पुरस्कारका लागि रु २५ हजार छुट्याइएको जनाएको छ । थारु साँस्कृतिलाई जगेर्ना गर्नका लागि महोत्सव परिसरमा मिनि संग्रहालय बनाउने आर्थिक समितिका संयोजक रहनु भएका थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरीले बताए।

‘कला र संस्कृतिलाई जगेर्ना गर्नका लागि त्यसलाई व्यावसायिक बनाउनुपर्छ” महोत्सवको सहयोगी संस्थाका रुपमा रहेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विसुरालले बताउ। उनका अनुसार ‘चितवनमा अन्तरिक र बाह्य पर्यटक थारु संस्कृति हेर्नका लागि उल्लेख्य रुपमा आउने भएकोले यसलाई व्यावसायिक रुपमा अगाडि बढाउनुपर्छ।’

त्यस्तै सहआयोजकका रुपमा रहेको खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत, सहयोगी संस्था खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ, नेपाली काँग्रेसका शशी खनिया, माओवादी केन्द्रका रामेश्वर पोखरेल लगायतले बोल्दै आफ्ना तर्फबाट हरेक कुरामा सक्दो सहयोग गर्ने बताए। अतिथि आमन्त्रण र सत्कार समितिका संयोजक राजेन्द्र चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा खैरहनी नगरपालिकाका दलीय संयन्त्रका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक घजेन्द्र बहादुर कार्की र नेपाल पत्रकार महासंघ चितनका कोषाध्यक्ष होमनाथ सापकोटा, चितवन जिल्लाभरिका पत्रकारहरु, महोत्सवका उपसमितिका संयोजकहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलन खैरहनी नगरपालिका हलमा मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकारहरुलाई महोत्सव स्थलको फिल्डभिजिट पनि गराइएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *