खिचरा महोत्सवमा नृत्य र कृषिबाली प्रतियोगिता हुने

कारी महतो थारु/चितवन।

थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ को आयोजनामा खैरहनी न.पा.पुस २८ देखि माघ ५ सम्म हुन गईरहेको चौथो खिचरा महोत्सवमा खुला नृत्य प्रतियोगिता र कृषिबाली प्रतियोगिता हुने जनाइएको छ ।

नृत्य प्रतियोगिताको लागि २५ गते अडिसन कार्यक्रम गरी छनौट भएकाहरुलाई मात्र पुस २९ गते प्रतियोगितामा सामेल गराउने र त्यस दिन छनौट भएकाहरुलाई माघ ४ गते फाइनलमा सहभागी गराउने कुरा नृत्य प्रतियोगिता कार्यक्रमका संयोजक हरिशरण चौधरी (९८४५०८९७००)ले जनाएका छन् । उनले नृत्य प्रतियोगिताका लागि रु ५० तिरेर नाम दर्ता गराउनु पर्ने बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई रु दश हजार, सात हजार र पाँच हजार साथै चार जनालाई शान्तवना स्वरुप रु १००० नगद तथा प्रमाण पत्र पुरस्कार राखिएको कार्यक्रम संयोजक हरिशरण चौधरीले बताए ।

त्यस्तै कृषकहरुलाई प्रोत्साहन गर्नका लागि विभिन्न जातका तरकारी बाली प्रतियोगिता गराइने र ती बालीहरुमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद तथा प्रमाण पत्र पुरस्कारको व्यवस्था गरिएको कुरा कृषि परिसर व्यवस्थापन समितिका संयोजक गोपाल चौधरीले बताएका छन् ।

त्यसका लागि जिल्ला कृषि विकास कार्यालय चितवनसँग सहकार्य गरिने जनाए । गतवर्ष पनि टमाटर, काउली, भन्टा, बन्दाकोपी, ब्रोकाउली, भेडे खुर्सानी, पिरो खुर्सानी, मुला, लसुन, फर्सी, लौका, मकै इत्यादि बालीहरु प्रतियोगिता गराई कृषकहरुलाई पुरस्कृत गरिएको र यसवर्ष पनि त्यसलाई निरन्तरता दिदै उत्कृष्ट ठहरिएका बालीहरु कृषि परिसरमा प्रदर्शनीका लागि राखिने जनाइएको छ । प्रतियोगितामा सहभागी हुनका लागि पुस २७ गते आफ्ना बालीहरु महोत्सव परिसरमा पुर्याउनुपर्ने छ ।

महोत्सवमा थारु खानाका परिकार, विभिन्न जातजातिका साँस्कृतिक नृत्य, बाल उद्यान, कृषि परिसर, थारु साँस्कृतिक सामग्री प्रदर्शनी, अन्य व्यापारिक स्टल साथै विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुका जोडदार प्रस्तुतिहरु महोत्सवका आकर्षण रहने कुरा मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *