प्रधानमन्त्रीलाई लहरुमा डुलाउने रहर पूरा भएन

अविनाश चौधरी/धनगढी।

राष्ट्रको कार्यकारी प्रमुखलाई परम्परागत शैलीमा स्वागत गर्ने तयारी गरेका कैलालीको हसुलिया–२ बड्का मुडा गाउँका कृषकको रहर पूरा हुन सकेन। किसानले थारु समुदायको परम्परा अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लहरु (सानो बयलगाडा) मा बसाएर डुलाउने तयारी गरेका थिए। उनीहरुले लहरुलाई कृषि उपज खुर्शानी, काउली, भन्टा, बाँस लगायतले सजाएका थिए।

बुधबार उदासीपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गहुँ सुपरजोनको उद्घाटन गर्न आउनु भएका प्रधानमन्त्री दाहाललाई सोही लहरुमा बसाएर स्वागत गर्ने र डुलाउने तयारी गरिएको थियो। तर, सेनाको हेलिकप्टर मार्फत उदासीपुर पुगेका प्रधानमन्त्रीले समय अभाव भन्दै लहरु नचढेपछि अलि–अलि दुःख लागेको तारा कृषि समन्वय समिति बड्का मुडाका अध्यक्ष एकराज चौधरीले बताए। उनले जिल्ला स्थित कृषि विकास कार्यालय र सुपरजोन लागू भएको चार वटै गाविसका कृषक समन्वय समितिले गरेको निर्णयको आधारमा प्रधानमन्त्री दाहाललाई लहरुमा चढाएर स्वागत गर्ने कार्यक्रम तय भएको बताए।

‘उहाँ (प्रधानमन्त्री) देशको विशिष्ट व्यक्ति हुनुहुन्छ। सकेसम्म लहरुमा चढाएर डुलाउने रहर थियो’, चौधरीले भनेे–’तर, समय अभाव भन्दै चढ्नु भएन। केहि हद्सम्म दुःख लाग्यो।’ विशिष्ट व्यक्तिलाई लहरुमा चढाएर स्वागत गर्ने थारु समुदायको निकै पुरानो परम्परा हो। अचेल यो परम्परा हराउँदै गएको बताइएको छ। आफ्नो पुरानो परम्परा झल्काउने र राष्ट्र प्रमुखलाई नयाँ तरिकाले स्वागत गर्ने उद्देश्यका साथ लहरुमा बसाउने निर्णय भएको चौधरीले बताए। हेलिकप्टरमा प्रधानमन्त्रीलाई अनुभवी सेनाका क्याप्टेनले उडाए पनि लहरुका ड्राइभर कृषक भोला चौधरी रहेका थिए।

उनले प्रधानमन्त्री चढेको हेलिकप्टर ‘ल्याण्ड’ हुने हेलिप्याड बनाइएको मोहनी बजारमा लहरु रोकेका थिए। तर, हेलिकप्टरबाट ओर्लेर प्रधानमन्त्री दाहाल गाडी चढे। प्रधानमन्त्री दाहाललाई आफ्नो लहरुमा चढाएर मोहनी बजारदेखि झण्डै एक किलोमिटर टाढा रहेको सुपरजोन कार्यक्रम उद्घाटन स्थल लौसासम्म लैजाने आफूले तयारी गरेको लहरुका ड्राइभर चौधरीले बताए।

‘सकेसम्म मेरै लहरुमा बस्नु हुन्छ भन्ने आशा थियो’, चौधरीले भने–’तर, उहाँ गाडी चढ्नुभयो।’ प्रधानमन्त्री दाहाललाई थारु परम्परा अनुसार लहरुमा स्वागत गर्नका लागि मुडाका किसानले तीनदिनसम्म तयारी गरेका थिए। उनीहरुका अनुसार पुस ३ गतेदेखि लहरु सजाउने कार्य थालिएको थियो। लहरु सजाउनमा करिब ६/७ हजार रुपिया पनि खर्च भएको समूहका कृषक रामकुमारी चौधरीले बताइन्।

‘निकै मिहिनेत गरेर लहरु सजाएका थियौं’, उनले भनिन्–’प्रधानमन्त्री दाहाल बसी दिनुहुन्छ भन्ने अपेक्षा पनि थियो। तर, उहाँ बस्नु भएन।’ आफूहरुले मिहिनेत गरी सजाएको लहरुमा प्रधानमन्त्री नबसेपछि झण्डै ६ किलोमिटर टाढाबाट उदासीपुर पुगेका मुडाका कृषक खिन्न भएर फर्केका थिए।

प्राप्त जानकारी अनुसार मोहनी बजारदेखि प्रधानमन्त्री दाहाल लहरुमा बस्ने र उनलाई विभिन्न गाविसबाट आएका कृषकहरुले परम्परागत झाँकी सहित स्वागत गर्ने कार्यक्रम रहेको थियो। तर, दाहाल सोही दिन काठ्माण्डौं फर्किनु पर्ने र लहरुमा बस्दा केहि समय लाग्ने भएकाले उनी उदासीपुरमा गाडी चढेको जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *