थारु समुदायमा ‘प्रभु’को प्रलाेभन

केही समय अघि जिल्लाको डुरुवामा एक चौधरी बृद्ध बिरामी परे। गाउँका स्थानीयले पुरानै ‘रित’ बमोजिम धामी झाँक्री डाक्न भने। मृतकका छोराले मानेनन्। गाउँलेले अस्पतालमा लैजान भने। उनले त्यो पनि मानेनन्। इसाई धर्मका अनुयायी उनले सख्त बाबुलाई प्रभुको शरण (चर्च) मा पुर्याए। केही दिनपछि उपचार नपाएर उनको चर्चमै मृत्यु भयो।
मृत्युपछि संस्कारका विषयमा विवाद भयो। सिंगो थारु समुदायको गाउँका गाउँलेले पुरानै रित बमोजिम मृतकको दाहसंस्कार गर्न चाहे। पुरानै रिती रिवाज पालना गर्दै आएका गाउँलेले इसाई संस्कार भित्रिन नहुनेमा जोड दिए। तर इसाई धर्माबलम्बी छोराले मानेनन्। उनीहरुबीच विवाद भयो। गाउँमा कुरा नमिलेपछि यो घटनाको उजुरी तुलसीपुर प्रहरीसम्म पुग्यो।

त्यहाँ पनि कुरा मिलेन। अन्ततः गाउँलेको हार भयो। छोराले इसाई संस्कार अन्तर्गत बाबुको अन्तिम संस्कार गरे। ‘जान त दाहसंस्कारमा हामी पनि गयौँ,’ एक स्थानीयले भने, ‘हामीहरु त्यहाँ दुखी बन्यौँ, तर मृतकका छोरा हाँस्दै थिए, उनीहरुको संस्कारले मृत्युपछि हाँस्न सिकाउँदो रहेछ।’

थारु समुदाय आफ्नो धर्म संस्कृति तथा रिती रिवाजमा ‘कट्टर’ समुदाय हो। यहाँ सम्मकी आफ्नो पुरातन धर्म संस्कार कसैले तोड्यो भने यो समुदायका नागरिक सजायको भागिदार बन्नु पथ्र्यो। तर, अहिले थारु समुदायको धर्म संस्कति माथिको ‘कट्टरपन्थी’ इसाई धर्मको प्रवेशले तोडिँदै गएको छ।

थारु समुदायभित्र बढ्दै गएको इसाई धर्मका कारणले यो समुदायको पुरानो संस्कृति सखापै हुने होकी भन्ने चिन्ता थारु अगुवाहरुमा छ। २०६२÷०६३ यता इसाई धर्मको प्रहार थारु समुदायमा अत्यधिक बढेको छ। जिल्लाका पुराना महतवा रामप्रसाद चौधरी भन्छन्, ‘क्रिश्चियन धर्मले हाम्रो पुरानो धर्म संस्कृति ध्वस्त बन्ने खतरा बढ्दै गएको छ।’
नारायणपुरका गिरीराज चौधरी इसाई धर्मको गुरु बन्ने उद्देश्य बोकेर केही समय अघि राजधानी छिरे। परिवारसहित राजधानी छिरेका उनी महिना दिनसम्म प्रभुकै शरणमा उतै बसे। एक महिना लामो प्रभु पाठ सिकेर उनी प्रशिक्षकका रुपमा गाउँ झरे। उनले गाउँका थारु समुदायका नागरिकलाई इसाई धर्ममा प्रवेश गराउनकालागि अथक प्रयास गरे। तर उनका नातेदार आफन्तीले उनको यो कदमलाई असैह्य माने।

अन्ततः आफन्तीको चर्को दवाबका कारण उनी इसाई धर्म त्याग्न बाध्य भए। उनले यो धर्म त्यागेपछि आँफू आर्थिक प्रलोभनमा परेर त्यो धर्ममा प्रवेश गरेको गाउँलेलाई प्रष्ट पारिदिएका थिए। ‘आर्थिक अवस्था राम्रो हुन्छ भनेर लोभ देखाएका थिए,’ उनको भनाइ उदृत गर्दै एक गाउँलेले भने, ‘पछि आफन्तले धेरै गाली गरेपछि उनी पुरानै संस्कृतिमा फर्किएका छन्।’

पछिल्लो समयमा थारु समुदायमा अत्यधिक फड्को मारेको इसाई धर्म यहाँका हरेक थारु बस्तीमा छिरिसकेको छ। यहाँ सम्मकी यो धर्मका गुरु बनेरसमेत थारु समुदायकै नागरिकले चर्च हाँकिरहेका छन्। थारु समुदायमा बढ्दो इसाईकरणले यो समुदायका अगुवाहरु नै अचम्मित छन्। उनीहरु भन्छन्, ‘सोझा साझा थारुलाई लोभ देखाएर धमाधम क्रिश्चियन बनाइएको छ।’

कसरी छिरे थारु समुदायमा प्रभु ?
थारु समुदायमा बढ्दो इसाईकरणको मुख्य कारण भनेको महतवाको भूमिका गौण हुनु हो। पहिले गाउँको न्यायाधीशको भूमिकामा रहेका उनीहरु अहिले पछिल्लो समयमा भूमिकाविहीन हुँदा थारु संस्कृतिमाथि पश्चिमाहरुको दबदबा बढेको थारु अगुवाहरुको बुझाइ छ।

पञ्चायती ब्यवस्था अघि थारु समुदाय एकजना अगुवाको निर्देशन अनुसार चल्थ्यो। टोल समाजको विकास, धर्म संस्कृति पालना, तथा समाजमा हुने हरेक काम उनै अगुवाको निर्देशन अनुसार चल्थ्यो। गाउँमा हुने विवाह, पूजाआजा समेत महतवाको अनुमति बेगर हुन सक्दैन थियो।

ती अगुवालाई थारु भाषामा ‘महतवा’ भनिन्छ। यी महतवा गाउँका न्यायाधीश सरह हुन्थे। गाउँमा हुने झै–झगडा, विवाद उनै महतवाको ‘फैसला’ मा टुंगिन्थे। ‘महतवाको भूमिका त्यो बेला धेरै हुन्थ्यो, गाउँ समाजमा कुनै पनि काम गर्दाखेरी महतवाको अनुमति बिना हुँदैनथ्यो,’ जिल्लाका पुराना महतवा रामप्रसाद भन्छन्, ‘महतवा गाउँका न्यायाधीश हुन्थे।’
गाउँमा हुने चोरी, डकैती वा अन्य कुनै समाजलाई अहित गर्ने काम कसैबाट भए महतवाले कारवाहीको फैसला सुनााउँथे। अनि कारवाही गरिन्थ्यो। थारु संस्कृति, धर्मका कट्टर थारु समुदायले यी विषयलाई पनि उत्तिकै महत्व दिन्थ्यो। कसैले थारु संस्कृति पालना नगरेको खण्डमा दोषीलाई सजाय दिइन्थ्यो। गाउँमा यस्ता मुद्दाहरु सिधै महतवासम्म पुग्थे।

संस्कृति उलंघन गरेको खण्डमा कसुर अनुसार दोषीको कुखुरा वा सुंगुर मारेर दण्ड दिइन्थ्यो। ‘धर्म संस्कृति रितीरिवाज कसैले मानेका छैनन् भने उसलाई कति सजाय दिने? सानो सजाय भनेको कुखुरा मारिदिने हुन्थ्यो,’ चन्द्रप्रसाद सम्झन्छन्, ‘ठूलो कसुर ठहरिए सुंगर मारेर सजाय दिइन्थ्यो।’ उनका अनुसार सुंगुर मारिदिनुनै त्यो बेलाको ठूलो सजाय मानिन्थ्यो र गाउँलेमा त्यो सबै भन्दा ठूलो बेइजत भएको कहलिन्थ्यो।

यस्ता मुद्दाहरु सुरुमा महतवा कहाँ पुग्थे। महतवाले फैसला गर्न नसके ‘प्रगन्ना’ (महतवाहरुको समिति) मा पुर्याइन्थे। जिल्लामा त्यो बेला पाँचवटा प्रगन्ना थिए। प्रगन्नामापनि यस्ता मुद्दाहरु नटुंगिए ‘मालमेनी’ (जिल्लास्तरीय न्याय केन्द्र) मा पुर्याइन्थे। यहाँ पनि सम्भव नभए केन्द्रबाटै ‘डौराहा’ टोली आउँथ्यो र अन्तिम फैसला गरिदिन्थ्यो। यसरी आफ्नो संस्कृतिको सानो गल्तीमा पनि कारवाही भोगिने डर थारु समुदायमा थियो। उनीहरु आफ्नै कला संस्कृतिमा बाँधिएका थिए। ‘पहिला धर्म, संस्कृति पालना

नभएपछि कारवाही भोग्नु पथ्र्यो र मान्छे डराएर धर्म संस्कृति पालना गर्थे,’ चन्द्रप्रसाद भन्छन,् ‘यसर्थ महतवाको भूमिका त्यो बेला ठूलो हुन्थ्यो।’ पञ्चायती व्यवस्थापछि गाउँका हरेक मुद्दा ‘पन्च’ ले हेर्न थाले। गाउँका मुद्दा महतवा भन्दापनि पञ्चायत प्रमुखसम्म पुग्न थाले। चन्द्रप्रसाद भन्छन्, ‘पञ्चायती व्यवस्थापनि महतवा गौण बन्न थाले।’

बहुदलीय व्यवस्थापछि थारु समुदायका मुद्दा महतवाबाट झनै बिलाउन थाले। गाउँका सानातिना मुद्दाहरु पनि प्रहरी समक्ष पुग्न थाले। लोकतान्त्रिक व्यवस्थापछि महतवाहरुको भूमिका शून्य प्रायनै बन्यो। गाउँका थारु समुदायका नागरिकहरुले महतवाले तोकेका परिधी तोड्दै स्वतन्त्रताको उपभोग बढी गर्न थाले। थारु समुदायमा स्वनिर्णयको संस्कार विकसित हुन थाल्यो। यसको प्रभाव धर्म संस्कृतिमापनि पर्न गयो। ‘लोकतान्त्रिक व्यवस्थापछि मान्छेहरु बढी स्वतन्त्र भए, आफ्नो पुरानो संस्कृति परम्परा तोड्नेसम्मको स्वतन्त्रता मौलायो,’ चन्द्रप्रसाद भन्छन्, ‘अहिले थारु समुदायमा मौलाएको इसाईकरणको मुल कारण पनि यही नै हो।’

इसाईकरण मौलाएका यस्ता थारु बस्तीमा ‘फुट’ समेत देखा पर्न थालेका छन्। एकताबद्ध बनेर गाउँ समाज हाँकेका उनीहरु अहिले धर्मान्तरकै कारण विभाजित बन्दै गएका छन्। जिल्लाको कर्मटिया गाउँमा यस्तै विविधताका घटना देखिन्छन्। ‘उहाँ (क्रिश्यिचन) र हामीहरु बीच सहयोगको भावना कम बन्दै गएको अवस्था हो,’ यो गाउँका महतवा भन्छन्, ‘हामीहरुको पूजाआजामा उहाँहरुलाई निम्ता गर्छौँ तर उहाँहरु आउनु हुन्न, उहाँहरुले आँफूहरुलाई अलि उपल्लो तहको जस्तो व्यवहार देखाउनु हुुन्छ।’
भित्री दाङ भन्दा पनि मुख्यतः इसाईकरण देउखुरी क्षेत्रमा ब्याप्त भएको पाइन्छ। थारु बस्तीमै चर्च खोलेर इसाईका बहुमत अनुयायी थारुहरु उत्पादन भैरहेका छन्। देउखुरीका प्रायः सबै थारु बस्तीमा चर्च स्थापित छन्। जिल्लाको राप्ती पारि गोबरडिहाका–९ खैराका चुन्नुराम चौधरी एक्लैले यो गाउँमा सुरुवात गरेको इसाईकरणमा अहिले थारु समुदायका नागरिकहरुको बहुमत पुर्याएका छन्।

उनी पाष्टर रहेको खैरा सुसमाचार मण्डलीमा ८० धर्माबलम्बी छन् यी मध्य ७० को हाराहारीमा थारु समुदायका नागरिकहरु मात्रै छन्। ‘थारु समुदायका नागरिकमा यो धर्मको प्रभाव धेरै राम्रो परेको छ,’ उनी भन्छन्, ‘अहिले हरेक गाउँका चर्चमा हेर्ने हो भने थारु नागरिकनै बढी देखिनुहुन्छ।’

जिल्लामा २०३९ देखि इसाई धर्मको बिउ रोपिएको यसका अगुवाहरु बताउँछन्। घोराहीमा रहेको प्रतापी चर्चबाट मौलाएको यो धर्म झण्डै बीस बर्षअघि देखि थारु बस्तीमा प्रवेश गरेको थियो।

सुरुसुरुमा महतवाको निर्देशनमा रहेका थारुले यो धर्मलाई खुलेर समर्थन गर्न सक्ने अवस्था थिएन। तर शान्ति प्रकृयापछि थारु बस्तीमा इसाईकरण ब्यापक बन्दै गएको क्रिश्चियन धर्मका थारु अगुवा मध्यका गोबरडिहाका टिकाराम चौधरी बताउँछन्। ०५६ देखि यो धर्ममा प्रवेश गरेका उनले अहिलेसम्म ८ सय थारु समुदायका नागरिकलाई यो धर्ममा समेटिसकेका छन्। ‘पहिला थारु समुदायमा ब्यापक प्रचार बन्न नसकेका कारण पनि धेरैलाई यो धर्मको महत्व र अर्थ थाहा थिएन,’ उनी भन्छन्, ‘तर शान्ति प्रकृयापछि यसको ब्यापक प्रचारसँगै अधिकांश मान्छेहरु खुलेरै आउन लाग्नु भयो।’

सदियौँदेखि आँफूहरुलाई आर्थिक रुपमापछि पारिएको गुनासो गर्ने थारु समुदायका नागरिक जिल्लामा साहुको अधियाँ किसान थिए। उनीहरुले अहिलेपनि आँफूहरु आर्थिक रुपले माथि उस्कन नसकेको बताउँछन्। आर्थिक रुपमा माथि उठ्ने चिन्तनमा रहेका उनीहरुकालागि ‘प्रभु’ गतिलो स्रोत बनिदिएको दाबी गरिन्छ।

‘यो धर्ममा लागेका धेरै मानिस पैसामै बिकेका हुन्,’ थारु महतवा चन्द्रप्रसाद भन्छन्, ‘सदियौंदेखि आर्थिक अभावमा अधियाँ किसान बनेका अधिकांशलाई आर्थिक लाभको लोभ छ।’
तर यसमा लागेका थारुले भने उपचार पद्धतिलाई प्रमुख कारण बताउने गरेका छन्। रोग ब्याध लागेपछि ‘धामीझाँक्री’ गर्ने थारु समुदायमा अहिले प्रभुको पाठको विश्वास बढाउन खोजिएको छ। ‘धामी झाँक्री सबै भ्रम हो, यो भन्दा प्रभुनै महान हुनुहुन्छ भन्ने सबैलाई परेको छ,’ थारु पाष्टर टिकाराम भन्छन्, ‘प्रभुुले दुखी थारुलाई हेरिरहनु भएको छ भन्ने विश्वास हाम्रो समुदायमा छ।’

कतिपयले जाँड रक्सी छोड्ने उपायका रुपमा पनि यो धर्मलाई अंगालेको उनको भनाइ छ। ‘जाँड छोड्नै नसक्नेहरु भने यहाँ आएर पनि फर्किएका छन्,’ उनी भन्छन्, ‘अधिकांश भने यहाँ जीवन सुधार्छु भन्दै आउनु भएको छ।’

जिल्लाका झाँगिदै गएको इसाई हरेक थारु बस्तीमा पुगिसकेको भएपनि अहिलेसम्म थारु समुदायका कति नागरिक यो धर्ममा लागेका छन् भन्ने यकिन भने छैन। तर जिल्लाभरी हजारौँ थारु समुदायका नागरिक इसाई बनिसकेको दाबी यसमा लागेका अगुवाको दाबी छ। फरक फरक गुटमा विभाजित भएर इसाईकरण फैलाइएका कारण यो संख्या यकिन भन्न नसकिने यो धर्ममा लागेका थारु अगुवा बताउँछन्।

‘इसाई धर्मको बाटो एउटै छैन, फरक फरक समूह अर्थात एनजिओ मार्फत चलिरहेको छ,’ आफ्नो इसाई ग्रुप एनजिसी नाम बताएका टिकाराम भन्छन्, ‘देउखुरीमा मात्रै ५–६ वटा ग्रुपले इसाई धर्म चलाइरहेका छन्, यसर्थ पनि यी सबै समूहमार्फत के कति थारु यो धर्ममा छन् भन्ने यकिन गर्न सकिन्न।’ यी समूहलाई विदेशी डोनरले चलाइरहेको बताउँदै उनले कार्यक्रम संचालनका लागि बजेट आउने गरेको बताए। त्यो बजेट समाज विकास, तथा सचेतनामुलक कार्यक्रममा खर्च हुने गरेको उनको भनाइ छ।

देवेन्द्र बस्नेत/नागरिक दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *