पूर्व कमलरी उर्मिला चौधरीको कथा किम्फमा उत्कृष्ट

पूर्व कमलरी उर्मिला चौधरीको कमलरी प्रथा मुक्क्तिमा आधारित ‘उर्मिलाः माई मेमोरी माई पावर’ले अन्तर्राष्ट्र्रिय उत्कृष्ट फिल्म घोषित हुँदै १५ सय डलर जित्न सफल भएको छ। चार दिनदेखि चलिरहेको काठमाडौं अन्तर्राष्ट्र्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सोमबार विभिन्न उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।

‘थारू समुदायअन्तर्गत कमलरी प्रथाको मुक्त्तिको कथालाई आधारित बनाएर फिल्म तयार भएको हो। पुरस्कारबाट प्राप्त रकम पूर्व कमलरीको आर्थिक विकासको लागि खर्चिनेछु,’ भावुक हुँदै निर्देशक सुशन ग्लुथले भनिन्। दाङकी पूर्व कमलरी उर्मिलाको पीडा र कमलरी प्रथाको मुक्ति विभिन्न अभियानमा सहभागी भएको कथा ८६ मिनेट डकुमेन्ट्रीमा समावेश छ।

त्यस्तै महोत्सवमा केसाङ छेतेनले निर्देशन गरेको ‘ट्राम्लिङ माउन्टेन’ दोस्रो हुँदै एक हजार डलर जितेको छ भने ‘भर्सो इग्नोटो’ले तेस्रो हुँदै पाँच सय डलर प्राप्त गरेको छ। ‘कमिङ अफ एज’ र ‘आइआइ पासो‘ले ‘जुरी मेन्सन अवार्ड’ पायो।

निर्देशक पूजा गुरुङ र विभूषण बस्नेतको ‘दद्याः द वुडपिकर्स अफ रोथा’ले नेपाल पानारोमा अन्तर्गत उत्कृष्ट फिक्सनको अवार्ड प्राप्त गर्दै ७५ हजार प्राप्त गरे। १७ मिनेट लामो फिल्ममा जुम्लाको एक दम्पतीले गाउँ छाडेर हिँडेपछि उनीहरूको सम्झनामा तयार भएको दद्या निर्माणको कथा समेटिएको छ। ’कथावस्तु मौलिक भएकाले फिल्म निर्माण गर्न सम्भव भएको हो। यस्ता विषयलाई कलात्मक शैलीले प्रस्तुत गर्दा मेहेनत पनि धेरै गर्नुपर्ने हुन्छ,’ निर्देशक पूजा गुरुङले भनिन्।

प्रोमो हेर्नुस्:

देउकी प्रथामाथि निर्माण भएको ’इन सर्च अफ देभकी’ उत्कृष्ट डकुमेन्टङ घोषित हुँदै ५० हजार प्राप्त गर्यो। पत्रकार देवकी बिष्टले निर्देशन गरेको ४५ मिनेटको डकुमेन्ट्रीमा सुदूरपश्चिमको देउकी प्रथाका देउकीहरूको खोजीको कथा समेटिएको छ। ’पत्रकारिता गर्दै जाँदा देउकी प्रथा अझपनि सुदूरपश्चिममा छ भन्ने थाहा पाएपछि अनुसन्धात्मक डकुमेन्ट्री तयार भएको हो। देउकी प्रथाबारे सबैलाई जानकारी गराएर देउकीको जीवनमा परिवर्तन होला भन्नेमा आशावादी छु,’ पत्रकार देवकी बिष्टले भनिन्। त्यस्तै ‘बियोन्ड द ह्वाइट क्यान’ले जुरी मेन्सन अवार्ड प्राप्त गर्यो।

त्यस्तै नेसनल जियोग्राफी च्यानलको ‘एड्भेन्चररर्स अफ द इयर’ अवार्डको मनोनयनमा परेकी नेपाली अल्ट्रा धाविका मीरा राईको कथामा आधारित ’मिरा’ले दर्शक मत सम्मान पाएको छ। ४२ मिनेट लामो डकुमेन्ट्रीमा पूर्व माओवादी लडाकु मीरा राईको संघर्ष र साहसको कथा डकुमेन्ट्रीमा समेटिएको छ। निर्देशक लोयड बेलचरले निर्देशन गरेको डकुमेन्ट्रीभर मिरा राई देखिएकी छिन्।

यसपटक किम्फमा २८ देशका ८० वटा फिक्सन फिल्म, सर्ट फिल्म, एनिमेसन, डकुमेन्ट्री र एक्सपेरिमेन्टल फिल्म समावेश गरिएको छ। ’पर्वतीय फिल्म महोत्सवले अरु पर्वतीय समाजलाई पनि नेपाली समाजसँग जोड्ने काम गर्छ भन्ने हाम्रो विश्वास छ,’ अध्यक्ष बसन्त थापाले भने। हिमाल एसोसियसनले आयोजना गरेको महोत्सवको यो १४औं संस्करण हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *