दर्शकलाई रुवाइन् ‘उर्मिला’ले

कमलरी प्रथा मुक्तिबारे तयार पारिएको डकुमेन्ट्री ‘उर्मिला : माई मेमोरी माई पावर’ किम्फमा देखाइयो। दाङकी पूर्व कमलरी उर्मिला आफू मात्रै मुक्त नभई कसरी अन्यलाई समेत मुक्ति अभियानमा सामेल गराउन सफल भइन् भन्ने सुशान ग्लुथ निर्मित उक्त डकुमेन्ट्रीले देखाउन खोजेको छ।

कुमारीमा भएको उक्त प्रदर्शनीमा स्वयं उर्मिला आफ्ना बाबुआमा र मुक्त कमलरीहरूसँग उपस्थित भएकी थिइन्। ‘आजको लागि मसँग कुनै शब्द छैन,’ डकुमेन्ट्रीपछि दर्शक जिज्ञासामा सुरुवातमा केही भावुक बनेकी उर्मिलाले आफूलाई सम्हाल्दै थपिन्, ‘यहाँ पात्रका रूपमा उर्मिला त देखियो। तर मुक्ति अभियानमा कैयौं व्यक्तित्वको हात छ।’

उनले सरकारलाई मुक्त कमलरीका लागि कामको व्यवस्था गर्न पनि आग्रह गरिन्। उनले अझै पनि झन्डै एक सयको संख्यामा कमलरीहरू अझै साहुको घरमा श्रमशोषण गराउन बाध्य रहेको तथ्यांक दिँदै थपिन्, ‘हामी अझै पनि उनीहरूलाई मुक्त गराउने अभियानमै छौं। तर हाम्रा साथीहरूलाई नाम फेरेर सहर ल्याएकोले पहिचान गर्न केही समय लागिरहेको छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *