विजय गच्छदारको पार्टीमा पहिरो

कृष्णराज चौधरी/काठमाडौं।

मधेसी जनधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर कुर्मी चौधरीले पार्टीबाट राजिनामा दिएर नयाँशक्ति पार्टीमा प्रवेश गरेपछि विजयकुमार गच्छदारको पार्टीमा पहिरो जान थालेको छ। आइतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय उपाध्यक्ष चौधरीले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएसँगै सोमबार बाबुराम भट्टराई संयोजक रहेको नयाँशक्ति पार्टीमा प्रवेश गरेका छन्।

सोमबार कपिलवस्तुको तौलिहवामा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री चौधरीसहित फोरम लोकतान्त्रिककै केन्द्रीय सदस्यहरू शलाहुद्दीन मुसलमान, जी आउर रहमान, केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला संयोजक मोहम्मद टफिक मुसलमान, समाज कल्याण परिषद्का कोषाध्यक्ष कुञ्जबिहारी चौधरी, राष्ट्रिय महिला आयोग सदस्य धनेश्वरी चौधरी, फोरम लोकतान्त्रिकका कपिलवस्तु जिल्ला उपाध्यक्ष गौरीशंकर चौधरी, जिल्ला सचिव काशीराम यादवलगायत ३ सय बढी नेता तथा कार्यकर्ता नयाँशक्तिमा प्रवेश गरेका छन्।

पार्टी अध्यक्ष विजय गच्छदारले पार्टीको नीति र सिद्धान्तलाई लत्याउँदै स्वेच्छारी ढंगले एकलौटी रूपमा हाँकेको, इमानदार तथा निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको, मधेस र मधेसी जनतासंँग पटकपटक घात गरेको आरोप पार्टी छाडेका चौधरीले लगाएका छन्।

सोमबारमात्र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको उपस्थितिमा काभ्रेको अम्बोटेमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेकोमा सभा बिथोलिएको थियो। उनका कार्यकर्ता र स्थानीय युवाबीच भीडन्त भई हवाइ फायरसमेत भएपछि गच्छदार बिनाकार्यक्रम फर्केका थिए। तर फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले काभ्रेको कार्यक्रममा मिडियाबाजी बढी भएको जनाउँदै कांग्रेसका पूर्वअध्यक्षहरू पूर्णसिंह लामा, कृष्ण तामाङसहित डेढ सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश गरेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए।

उनले पार्टीका पूर्वकेन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरी कुर्मी यसअघि सद्भावना, एमाले, तमोलपा पार्टी चहारिसक्नुभएकाले तिहुन चाख्दै हिँड्ने नेताबारे कुनै टिप्पणी नगर्ने बताए।

कैलालीमा पनि असन्तुष्टि
केही महिना पहिले मात्रै फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रामप्रसाद चौधरी, केन्द्रीय पार्षद जगन्नाथ चौधरी, सीता थारु, विलारु चौधरी, देशराज चौधरी, कैलाली जिल्ला सदस्य घनश्याम कुश्मी, सदस्य सीताराम चौधरी, कालीचरण चौधरी, रामचन्द्र चौधरीलगायत सक्रिय कार्यकर्ताले पार्टी परित्याग गरेका थिए।

टीकापुर घटनामा फोरम लोकतान्त्रिकका दर्जनौं कार्यकर्ता गिरफ्तार तथा सयौं कार्यकर्ता वारेण्टेड भई भागाभागको अवस्थामा रहे पनि कार्यकर्ताको संरक्षण गर्न नसकेको आरोप गच्छदारमाथि छ। फोरम लोकतान्त्रिकबाट प्रत्यक्ष रूपमा कैलाली ३ बाट सभासद जितेका सुशील कोइराला सरकारमा रामजनम चौधरी स्वास्थ्य मन्त्रीसम्म भए भने कैलाली १ बाट प्रत्यक्ष सभासद जितेका जनकराज चौधरी वातावरण समिति सभापति छन्।

कोइराला सरकारमा गृहमन्त्री रहेका गच्छदार गृहमन्त्री छँदा कैलाली कारागारमा गई टीकापुर घटनाका कैदी राजनीतिक बन्दी रहेकाले चाँडै रिहा हुने आश्वासन दिनुभएको थियो। तर गच्छदारको आश्वासन लगत्तै टीकापुर घटनाका अन्य थप आरोपी समातिएपछि कार्यकर्ता चिढिएका छन्। कैलालीमा पार्टीलाई जिताउन सकृय भूमिका खेल्ने धनगढी कारागारमा रहेका केन्द्रीय सदस्य लक्ष्मण थारु पनि गच्छदारसँग असन्तुष्ट छन्।

देवको असुन्तुष्टि कायमै
फोरम लोकतान्त्रिक पार्टीको थिंक ट्याकमध्येका जितेन्द्र देवको असुन्तुष्टि पार्टी अध्यक्ष गच्छदारप्रति कायमै छ। पटकपटक सरकारको अगुवाइ गर्दै गच्छदार मन्त्री भएपछि देव आफ्नो नेतृत्वमा प्रचण्ड सरकारमा सामेल हुन चाहेका थिए।

मन्त्री हुन नपाउने समूहका कारण एकताका झण्डै पार्टी फुटको संघारमा पुगेको थियो। राप्रपाबाट फोरममा छिरेका गच्छदारका जिल्लाबासी नरेन्द्रकुमार चौधरी, पूर्वखेलकुद सदस्य सचिव हरिबाबु चौधरीसमेतले गच्छदारको साथ छाडिसकेका छन्। अघिल्लो चुनावमा सुनसरीबाट एमालेकी भगवती चौधरीसँग अत्यन्त झिनो मतले जित्नुभएका गच्छदार आफ्नो राजनीतिक सुनिश्चितताको दौडधुपमा हुनुहुन्छ। तर फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले धने, ‘यसलाई हामीले सहज ढंगले लिएका छौं। पार्टी परित्याग गर्नेहरूसँगै, प्रवेश गर्नेहरू पनि उत्तिकै छन्।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *