टीकापुरको कथा : निरन्तर चह्र्‍याउँदै छ घाउ

कृष्णराज सर्वहारी।

असारको अन्तिम साता टीकापुर पुग्दा बजारको मुख्य चौरस्ता खड्ग चोकमा ओर्लिएँ, त्यहाँ ठडिएको पूर्व मंत्री खड्ग बहादुर सिंहको शालिक मुस्कुराइ रहेको थियो, मानौ टीकापुरलाई केही भएकै छैन। मैले अबेर नगरी घातक मुस्कान दिइरहेका खड्गको शालिकको तस्विर लिएँ। शालिकसंग सम्बाद गरें– के छ, टीकापुरको ताजा हालखबर? उसले प्रत्युत्तरमा भनेझैं लाग्यो– टीकापुरलाई के नै भएको थियो र? सब ठीकठाक थियो, ठीकठाक छ।

लगत्तै मैले बजारमा रहेका एक दुइजना थारु समुदायका सर्वसाधारणसंग भलाकुशारी गर्न कोशिश गरें। तर ती पनि शालिकझैं  लागे, ‘ठीके बा’ सम्म भने, थप केही उत्तर दिएनन्।

केही दिन पहिले मोटरसाइकल दुर्घटनामा दाहिने हातको बुढी औला च्यापिएर घाउ पाकेपछि म उपचारको लागि सरासर टीकापुर अस्पताल पुगें। थारु समुदायका चिकित्सकले मुस्कानसहितको निशुःल्क सेवा गरे। यो त्यही अस्पताल थियो, जहाँ २०७२ भदौ ७ गतेको घटनापछि उपचार गराउन आएका बिरामी तथा कुरुवा समेत समातिएका थिए। टीकापुर घटनामा मुनुवा–१ कञ्चनपुरका सुन्दरलाल कठरिया र राजकुमार कठरिया तथा मुनुवा गाविस–४ का हरिनारायण चौधरी घाइते भएपछि उनीहरुको उपचारका लागि रेडक्रसकर्मीले टीकापुर अस्पताल पुर्‍याइदा समातिएका थिए। हुँदा हुँदा थारु अनुहार भनेर अस्पतालका चिकित्सकहरु पनि बस्ने अवस्था नरहेपछि भाग्न बाध्य भएका थिए।

टीकापुरको कथा

कैलाली टीकापुरको इतिहास धेरै लामो छैन। राजा महेन्द्र कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्षमा वि. संं २०२४ सालतिर शिकार खेल्न आउँदा विरामी परेपछि चिकित्सकहरुले स्वस्थ वातावरण भएको ठाउँँमा आराम गर्न भनेपछि कर्णाली नदीको किनारमा रहेको यो ठाउँँ छानिएको थियो। करिब एक महिनासम्म राजा महेन्द्रको मुकाम त्यही भयो। तत्कालीन मन्त्री खडगबहादुर सिंहको पहलमा सो ठाउँमा बसोबास र विकासका लागि विकास समिति ऐन २०१३ अनुसार टीकापुर विकास समिति बनाइयो। सरकारले २०२७ सालमा घना जंगल रहेको यो ठाउँँमा ३ हजार ३ सय विघा जग्गा गुरुयोजना अनुरुप विक्रीवितरण गर्ने अनुमति दियो। दशैँको टीकाको दिनदेखि यो ठाउँको जंगल फँडानी गर्न थालिएकोले यो ठाउँको नाम ‘टीकापुर’ रहन गएको भनाइ छ।

hospital-agi-lekhakटीकापुर नगर बसाउनुभन्दा पहिले नै यो क्षेत्रमा २०२२ सालतिर दा¨बाट आएका थारुहरुको बसोबास थियो। टीकापुर नगर बसाउने क्रममा थारु र मगरहरुले अनवरत रुपमा कुनै ज्याला नलिइ ‘बेगारी’ गरेका थिए। टीकापुरमा थारु र मगरले जंगल फडानी गरी बस्न योग्य बनाएपछि विभिन्न जिल्लाबाट पहाडी समुदाय आउन सुरु भएको हो। पहाडको तुलनामा तराइमा अन्न उत्पादन निकै बढी हुने र औलो उन्मुलन भइसकेकोले यहाँँ पहाडतिरका मानिसको बसोबास बढ्दै गयो। पहाडका विभिन्न जिल्लामा बाढीपहिरो लगायतका कारणले घरबार गुमाएकाहरुको यहाँँ आउने क्रम बढ्यो। टीकापुरमा थारु र मगरपछि अछामका मान्छेको आगमन भयो। अहिले तिनीहरुको ठूलै जनसंख्यासंगै टीकापुरको सबै क्षेत्रमा हालीमुहाली छ। समग्रमा २०७२ भदौ ७ को घटना मिलेर बसेको दावी गर्ने अछामी तथा सहेर बसेको थारुहरुको लडाइ थियो, जसमा प्रशासनले अछामीहरकै साथ दियो।

टीकापुर डेटलाईनमा कान्तिपुर दैनिकको लागि समाचार सम्प्रेषण गरिरहेका मित्र गणेश चौधरीसंगको सहकार्यमा टीकापुर घटनाको एक बर्ष पुगेको भदौ ७ गतेकै दिन पुस्तक ल्याउने गरी काम भइ रहेको थियो। त्यसैको सिलसिलामा म टीकापुर झरेको थिएँ। गणेश व्यस्त रहेको जानकारी आएपछि म टीकापुरको नजिकको गाउँ बनगाउँ एक्लै कुदें। मेरो मनुसवा त्यहाँको बरघर (अगुवा) लाई भेट्नु थियो। तर उनी भेटिएनन्। फर्किदा उनका एक छिमेकी आधा बाटो साथमै थिए। उनलाई आफ्नो उद्धेश्य बताएपछि भने– ‘बरघर त घरमै थिए, तपाईलाई नौलो मान्छे देखेर छैनन् भन्दिए होलान्।’यसले टीकापुर घटनाको डर त्रास बर्ष दिनमा पनि कायमै रहेको देखाउँछ।

टीकापुरको फुलबारी एफएम जलाइएको छ। एफएमका संचालक रेशम चौधरी हालै दिल्ली भ्रमणमा गएका प्रम पुष्पकमल दाहालसंगको तस्विर सार्वजनिक भएपछि भाइरल बनेका छन्। ज्यानमाराहरुलाई छाडिनु हुन्न भन्ने अभिव्यक्ति आइरहेको छ। दिनहुँ एफएमको खरानी हेरेर आउने गरेको जनाउँदै एफएमका संचालक रेशम चौधरीका बाबु लालबीर चौधरीले भने– ‘एफएम त जोगिएन, तर त्यस परिसरमा रहेका रुखविरुवा पनि दिनहुँ दिनदहाडै फँडानी गरेर लगिदै छ। हामीलाई प्रशासनले सौताको व्यवहार गरिरहेका छ।’ उनले अगाडि भने– ‘२०७२ भदौ ७ को टीकापुरको घटनापछि जिल्लामा एकपटक पनि सर्वदलीय बैठक बस्न सकेन। टीकापुरमा सद्भाव कायम गर्न संचारकर्मीहरुले यसबारे भूमिका खेल्दिनु पर्‍यो।’ स्थानीय क्याम्पसका लेक्चरर बालकुमार चौधरी टीकापुरको अवस्थामा अझै कुनै सुधार नआएको टिप्पणी गर्दै भन्छन्– ज्यान मारेको आरोपमा एक समूह जेलमा छन्, घर जलाएको आरोप लाग्नेहरुलाई मुद्धा समेत लगाइएन। उनीहरु निस्पि्कक्री साथ घुमिरहेका छन्। यसले समस्याको निकास दिनेछैन। केन्द्रमा मुद्धा मामिला आफ्नो ठाउँमा छ। स्थानीय स्तरमा पीडित र पीडक पक्षबीच सद्भाव हुने खालका कार्यक्रम गर्न ढिलाइ गर्नुहुन्न।

दशैंमा लुगाः आकाशको फल

टीकापुर घटनामा मुछिएका लोग्ने जेल गएपछि टीकापुर नगरपालिका–१ ठाडापुरकी रामदैया चौधरीलाई साँझ विहानको छाक टार्नै समस्या छ। पाँच वर्षको नाबालकले बाबा कहिले आउछ भनेर बारम्बार सताउँदा उनको छाती चिरिएर आउँछ। ३ बच्चाकी आमा उनले भनिन्–’मजुरी गरेर ल्याएको रकमले चामल किन्न नि पुग्दैन। के खाएर बाँच्नु। दशैंमा नयाँ लुगा हाल्नु त आकाशकै फल खस्नु बराबर हो।’

रामदैयाले भावशुन्य आँखामा टोलाउँदै भनिन्– कमाउने जमीन पनि छैन। जग्गाको नाममा एक कट्ठा घरबाससम्म छ। अइचो पैचौ दिने खालका इष्ट मित्र पनि छैनन्। कोसंग माग्नु? त्यसैले, कैयो रात भोकै सुत्नु परेको छ। चिन्ताले सुकुटी हुँदा पनि बालबच्चाका मुख हेरेर बाँचेकी छु। उनीहरु नभएका भए उहिल्यै आत्महत्या गरिसक्थे होला।

मुनुवा–१ कन्चनपुरका दिलबहादुर चौधरीका बुवा मोतीरामले टीकापुर घटनामा छोरा जेल गएपछि स्याहर्न नसकेर भएको एक हल गोरु पनि बेचिदिए। खान लाउनकै समस्या भएको बताउँदै उनले भने–’हामी लट्ठी टेक्ने भइसक्यो, त्यसमाथि श्रीमति विरामी छे। छोराले सबै काम गर्थ्यौ। सबै बर्बाद भयो हजुर। अधिया बटैया गरेर खान एक हल गोरु थिए। स्याहर्न नसकेपछि बेचिदिएँ।’

मोतीरामले अगाडि भने–’मेरो छोरा कुनै पार्टीमा लागेर राजनीति गर्ने पनि होइन। बरघरले उर्दी जारी गरेपछि उ आन्दोलनमा खाली हात गएको हो। उ कसैसंग झगडा गर्ने खालको पनि होइन। उसलाई छानवीन गरेर छोडिदिएको भए हुन्थ्यो।’

भदौ ७ गतेको घटनामा घाइते भइ अस्पताल पुर्‍याइएका सुन्दरलाल कठरिया पक्राउ परेपछि उनको घरमा पनि रुवाबासी छ। उनका पत्नी सीतादेवी कठरियाको पति पक्राउ परेपछि आँसुका डिल सुकेका छैनन्। जो होचो, उसको मुखमा घोचो भनेझैं यस बीचमा दैवले पनि उनीहरुको परिवारलाई सताएको छ। दुइ साता अघि १८ बर्षीया छोरीको कालगतिले मृत्य भएपछि आँसुको डिल भत्किएर भेल भइ बगेका छन्। सीतादेवी रुँदै भन्छिन्– उसका बाबा यही भएका भए, केही जुगार गर्दा हुन्। रकम जुटाउन सकेको भए बिरामीले थलिएकी छोरी शायद बाँच्ने थिइ। बाउ छोरीको भेटसम्म भएन। लोग्ने छुटेर आए, छोरी  कहाँ गराइस् भनी सोध्दा म के पो जवाफ दिम्ला?

computer-insitute-ka-sahvagai-sanga-lekhakसामान किन्न इण्डिया

मुनुवा गाउँको मामा भान्जा कम्प्युटर इन्सिटिच्युटमा अध्ययनका क्रममा भेटिएका डेढ दर्जन युवाहरुसंग भलाकुशारी गर्दा एकाधबाहेक सबै सामान किन्न सीमा जोडिएको इण्डियाको टिकुनिया बजार जाने गरेको बताए। स्थानीय रामचन्द्र कुश्मीलेे भने– टीकापुर घटनापछि युवाहरुलाई टीकापुर बजार जान जाँगर मरेको छ। उनीहरु बरु मन मिल्ने साथीहरुसंग हुल बाँधेर टीकापुरबाट २० किलोमीटर दुरीमा रहेको टिकुनिया साइकलमा हुँइकिन्छन्, २ साताको सामान लिएर फर्किन्छन्।

संविधान घोषणा भएको बर्ष दिन पुगेको अघिल्लो दिन टीकापुर घटनामा मुछिएका थरुहट नेता लक्ष्मण थारुलाई भेट्न केन्द्रिय कारागार सुन्धारा पुग्दा उनी आफ्नो पार्टी फोरम लोकतान्त्रिकका नेताहरुको रवैयाबारे असन्टुष्टि पोखे– खै, पत्रपत्रिकामा दशैं अगावै टीकापुरका कैदी पनि छुट्ने हल्ला त छ, तर हामी विश्वस्त छैनौ। हाम्रा पार्टीका नेताहरुलाई पुनः सत्ताकै बागडोर सम्हाल्नै मरिहत्ते छ। उता धनगढी कारागारमा रहेका कैलाली क्षेत्र नं ३ फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष रामप्रसाद चौधरीले भने जेलमा रहेका टीकापुर घटनाका दुइ दर्जन बन्दी चाँडै छुट्ने खबरले खुशियाली छाएको बताए।  उनले यस पंक्तिकारसंग टेलिफोन अन्तर्वार्तामा भने–अब जेलमा जिन्दगी सड्ने भो भन्ने गुनासो गरिरहने मित्रहरुलाई पछिल्लो पटक बिमलेन्द्र निधिको कैदी बन्दीहरुको सजाय मिनाहा गर्ने सूचनाले उत्साहित बनाएको छ।

हालै दुइजना युवा थारुवान डटकमका सम्पादक मदन चौधरी तथा थारु नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरीले सुखद खबर सुनाए– ‘दशैंमा नयाँ लुगा र अन्य आवश्यक सरसामान लिएर टीकापुर घटनामा पक्राउ परेका परिवारलाई सहयोग गर्न  जाँदैछौं।’ मदनले अमेरीकाबासी थारुहरुसंग तथा दिलबहादुरले जिल्लाबासीसंग सहयोग जुटाएका छन्।

टीकापुर घटना आरोपमा पक्राउ पर्नेहरुको अधिकांशको आर्थिक अवस्था निकै कमजोर छ। ज्याला मजुरी गरी जीवन निर्वाह गर्दै आएका उनीहरुका परिवारका मुलीलाई पक्राउ गरिएपछि परिवारलाई खान लाउनको समस्या छ। पीडितहरुको केटाकेटीका धेरैको पढाइ बटुंगो भएको छ। बीच बीचमा केहीले स्टेशनरीसम्म सहयोग दिने गरे पनि नियमित शुल्कको अभावमा धेरैको पढाइ रोकिएको हो। भेटिएका पीडित परिवारका प्राय सबैको एउटै अनुरोध छ– हाम्रा मान्छे निर्दोष छन्, उनीहरु दशै अगावै छुटेर आइ दिए हुन्थ्यो, अरुले दिएका दशै ससैंका लुगासुगा बरु क्यै चाहिन्न।

(गणेश चौधरीको सहयोगमा)




Leave a Reply

Your email address will not be published. Required fields are marked *