भारतमा हुने कराँते च्याम्पियनसिपका लागि अविनाश चौधरी छनोट

दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदको कराँतेतर्फ एकल कातामा कांस्य जितेकी विमला तामाङसहित ३७ खेलाडी तेस्रो दक्षिण एसियाली कराँते च्याम्पियनसिपका लागि शनिबार छनोट भएका छन्। सिनियर, जुनियर र क्याडेटमा गरी ३७ खेलाडी भारतको नयाँदिल्लीमा हुने च्याम्पियनसिपका लागि छनोट भएका हुन्।

सिनियर महिला एकल काताको फाइनलमा बालाजु डोजोकी विमलाले सुदूरपश्चिमाञ्चलकी सर्शा साधुलाई पराजित गरिन्। महिला टिम कातामा बालाजु डोजोकै विमलासहित कृपा गुरुङ र सुनिभा श्रेष्ठ छनोट भए। सातदोबाटोमा भएको प्रतियोगिताको सिनियर महिला ४५ केजीमा सुदूरपश्चिमाञ्चलकी सर्शा साधु, ६१ केजीमा वादोरियोकी रूपा महर्जन, ५५ केजीमा पूर्वाञ्चलकी अस्ता राई तथा ५० केजीमा मध्यमाञ्चलकी एलिना विक पहिलो हुँदै छनोट भए।

सिनियर पुरुषको ५० केजीमा बालाजुका मनीष थापा, ६० केजीमा बालाजुका राजकुमार रसाइली, ६७ केजीमा बालाजुकै नवीन रसाइली, ७५ केजीमा पश्चिमाञ्चलका चन्द्र बुढा, ६८ केजीमा पूर्वाञ्चलका रोशन धामी तथा ८४ केजीमा बूढानीलकण्ठका अविनाश चौधरी छानिए। सिनियर पुरुष एकल कातामा सुदूपश्चिमाञ्चलका ललित खत्री तथा टिम कातामा पश्चिमाञ्चलका चन्द्र बुढा, निर्मल पुन र सुमन पाइजा छनोट हुन सफल भए।

एकदिने छनोट प्रतियोगितामा २ सय ७ खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य फत्तबहादुर गुरुङले जनाए। दक्षिण एसियाली कराँते सेप्टेम्बर २२ देखि २६ सम्म हुनेछ।

http://bit.ly/2bNme8m




Leave a Reply

Your email address will not be published. Required fields are marked *