dil bdr chaudhary

आदरणीय तीन ठूला दलका नेताज्यूहरु, सरकारमा पदासीन सबै राष्ट्रबादी नेताज्यूहरु, राष्ट्रबादी नागरिक अगुवा, बुद्धिजीबी, समाजसेवी, विज्ञ, राष्ट्रसेवक कर्मचारीलगायत सबै राष्ट्रबादी नागरिकज्यूहरु,थारु नागरिकको हार्दिक अभिबादन (नमस्कार, रामराम, सेवालागि, सेवारो, झोर्ले, वालेकुम सलाम)! स्वीकार्नुस्।

धेरै दिनपश्चात यहाँहरुलाई खुलापत्र लेख्ने बाताबरण र अबसर मिल्यो। यसको लागि खुला दिलले धन्यबाद दिन चाहन्छु। साथै आभार प्रकट पनि गर्न चाहन्छु। राष्ट्रवादी-बिखण्डनकारीको खेल तमाशा शुरु नगरेको भए यो अवसर पनि प्राप्त हुने थिएन, अवसर प्राप्त भएकोले आफूलाई भाग्यमानी पनि ठानेको छु।

धेरै समयदेखि हामी थरुहट मधेशका नागरिकहरु यहाँहरुसँगै रह्यौं, बस्यौं, खायौं, पियौं, सुत्यौं, उठ्यौं, काम गर्यौं। ठूल्ठूला ऐतिहासिक आन्दोलन हाँक्यौं। बि.सं २००७ सालको क्रान्ति होस् या २०३६ सालको जनमत संग्रह होस्, २०४६ सालको जनआन्दोलन होस् या ११ वर्षे जनयुद्ध होस्, या ०६२-०६३ को जनआन्दोलन होस्, हामी निरन्तर सहभागी भयौं, जीवन बलिदानी गर्यौंा। हामी चोखो मनले हरेक कार्य गर्यौंक। पूर्ण बिश्वास गर्यौं। पाहुना सम्झी आफ्नै घरमा बास दियौं, असल मित्र सम्झी घर खेत सुम्प्यौं। हामीसँग भएका कुनै पनि चिज दिन, कुनै कञ्जुस्याईं गरेनौं। तर पनि हामी यहाँहरुको दिलदिमागमा स्थान पाउन सकेनौं। बिश्वास जित्न सकेनौं। बि.सं १८२५ देखि हामी शासन सत्ता बाहिर बस्यौं, डाडु पन्यु यहाँहरुको हातमा रह्यो, जे दिनुभयो, त्यही खायौं। फेरि पनि बिश्वास जित्न सकेनौं। यहाँहरु राष्ट्रबादी नै हुनुभयो, हामी बिखण्डनकारी नै भयौं। राष्ट्रबादी हुनलाई हाम्रो योग्यता पुगेन।

कांग्रेस र कम्युनिष्ट पार्टी खोलेर यहाँहरुले नै अधिकारको कुरा सिकाउनुभयो, संगठित हुन सिकाउनुभयो। लड्न सिकाउनुभयो। अधिकारको लागि लड्दा हामी बिखण्डनकारी भयौं? पञ्चायती ब्यबस्थाको अन्त्य पश्चात बहुदलीय ब्यबस्था आएपछि हामी (आदिबासी जनजाति, मधेसी, मुश्लिम, पिछडा बर्ग)लाई आशा र भरोसा थियो कि हामी सबै अधिकार सम्पन्न हुनेछौं। हामी माग राख्यौं, यहाँहरु सबैले राजतन्त्रलाई दोष दिनुभयो। राजतन्त्र दोषी छ भने ठीकै छ भनी सहमत भयौं। यहाँहरुले भनेअनुसार हामी फेरि जनयुद्धमा सहभागी भयौं, राजतन्त्रको विरुद्ध लड्यौं। युद्धमा हामी हाम्रा धेरै छोराछोरी, दाजुभाइ, बुहारी गुमायौं। धेरै बिदुर, बिधवा भयौं। धेरै अपाङ्ग भयौं। मारिने र बेपत्ता हुनेको तथ्यांक हेरे पुग्छ, हाम्रो योगदान कति छ भनेर। त्यसले पनि पुगेन, ०६२-०६३ को जनआन्दोलनमा सहभागी भयौं, बलिदानी गर्यौं। आज अधिकार माग्ने बेलामा तराईका आदिबासी थारु, जनजाति मधेसि, मुश्लिम, दलित फेरी बिखण्डनकारी भयौं।

आखिर राष्ट्रबादीको योग्यता के हो? हामी तराईबासीहरु त्यत्रो योगदान गर्दा पनि राष्ट्रबादीको अधिकारी किन भएनौं? बिखण्डनकारीको योग्यता के हो? थरुहट मधेसमा बस्नेहरु, आन्दोलनको अगुवाई गर्नेहरु, आन्दोलनमा सहभागी हुनेहरु कसरी बिखण्डनकारी भए? सदियौंदेखि पिल्सिएका, राज्यबाट पाखा पारिएका बिशेषगरी तराईका थारु, जनजाति, मधेसी, मुश्लिम, दलित कसरी बिखण्डनकारी भए? कसरी देशको लागि घातक भए? थरुहट मधेसमा २ प्रदेश हुँदा, पहाडमा नमिसाई प्रदेश बनाउँदा कसरी देश बिखण्डन हुन्छ? राष्ट्रको हितबिपरीत हुन्छ? या यी समुदाय, जाति योभन्दा पहिले बिखण्डनको लागि आवाज उठाए कि बिखण्डनको लागि हतियार उठाए? प्रमाण के छ? सदियौंदेखि राज्यका सारा सेवा सुबिधाहरु एकलौटिरुपमा हकभोग गर्नेहरु, बिशेषगरी पहाडका ब्राम्हन, क्षेत्रीहरु मात्रै कसरी राष्ट्रबादी भए? जवाफ चाहिएको छ। यदि जवाफ छैन भने नैतिकताको आधारमा भए पनि सार्बजनिक रुपमा गल्ती स्वीकार गर्दा, माफी माग्दा राम्रो होला कि! बिशेष गरेर देशका ३ ठूला दलहरुले, सरकारमा रहेका दलहरुले जसले तराईका थारु, मधेसी, जनजाति, मुश्लिम, दलितलाई बारम्बार बिखण्डनकारी देख्छन् र भन्छन्। यसो गर्न सकिएन भने कथित राष्ट्रबादी र बिखण्डनकारीहरुको बीचमा आपसी मेलमिलाप र बिश्वास सम्भव छ? घर नोक्सान हुँदा, क्षति पुग्दा, मर्मत गर्न सजिलो हुन्छ। शरीरमा चोटपटक लाग्दा उपचार गर्न सजिलो हुन्छ, तर मनमा लागेको घाउलाई कसरी पुर्ने? त्यो सोच्नु भएको छ कहिल्यै? बिखण्डनकारी भन्दै बिखण्डनको दिशातिर जबर्जस्ती धकेल्ने, किनारासम्मै पुर्याेउने अधिकार छ तपाईँहरुलाई?

यसो भन्दा यहाँहरुले भन्न सक्नुहोला, हामी बिखण्डनकारी कहाँ भन्यौं, कहिले भन्यौं? तर दुनियाँलाई थाहा छ, तपाईंहरु बारम्बार रेडियो, टिभी, पत्रपत्रिका, इलेक्ट्रोनिक मिडियामार्फत भन्दै आइरहनुभएको छ। मधेसीहरुले एक मधेस, एक प्रदेशको आवाज उठाउँदा होस् या थारुहरुले थरुहट थारुवानको आवाज उठाउँदा होस्। राज्यको पुनर्संरचना आयोगले तराईमा २ प्रदेशको खाका तयार पार्दा होस् वा तराईका आदिबासी जनजाति, थारु,मधेसी, मुश्लिम, दलित सबैले एक स्वरमा थरुहट मधेसमा २ प्रदेशको माग गर्दा होस्, यहाँहरुले बारम्बार भनिरहनुभएको छ=- ‘तराईमा २ प्रदेश दिँदा, देश रहँदैन, बिखण्डन हुन्छ, सिक्किम बन्छ, राष्ट्रको हितबिपरीत हुन्छ, सुरक्षाको दृष्टिले खतरा हुन्छ।’ यो भनेको के हो? तराईलाई पहाडमा नमिसाउँदा देश बिखण्डन हुन्छ, तराईमा २ प्रदेश माग्नेहरु बिखण्डनकारी हुन्, राष्ट्रका हितबिपरीत कार्य गर्नेहरु हुन्, राष्ट्रको सुरक्षाको हिसाबले खतरनाक ब्यक्तिहरु हुन् भन्नखोजेको हैन र? के थरुहट, मधेसमा बस्नेहरुलाई बिखण्डनकारीको आरोप लगाएर राष्ट्रबादी बन्न सकिन्छ? आपसमा बिश्वास बढ्छ? मेलमिलाप र एकता हुन्छ? राष्ट्र बलियो हुन्छ? कहिल्यै सोच्नु भएको छ तपाईँहरु?

अहिले आफूलाई लोकतन्त्र, प्रजातन्त्रको मसिहा ठान्ने देशको पहिलो ठूलो दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ। दुई ठूला दल नेकपा एमाले, एनेकपा माओवादी तपाईँहरु सरकारमा हुनुहुन्छ। राप्रपा नेपाल र फोरम लोकतान्त्रिकलाई अलग्याएर हेर्ने हो भने बाम एकठाम हुनुहुन्छ। थरुहट मधेसका जनतालाई बिखण्डनकारी देख्नेहरुमा तपाईँ बामहरु नै तुलनात्मक रुपमा बढी हुनुहुन्छ। तीन ठूला दलमा एमाले झन बढी राष्ट्रबादी, त्यसपछि कांग्रेस अनि माओवादी भएको छ। तपाईँहरुको बोली, बचन, ब्यबहारले अहिले पहाड राष्ट्र्रबादी, त्यसमा पनि ब्राम्हन, क्षेत्री अतिराष्ट्रबादी र तराईका थारुलगायतका आदिबासी जनजाति, मधेसी, मुश्लिम, दलित बिखण्डनकारी देखिएका छन्। राष्ट्रबादी र बिखण्डनकारीहरुको बीचमा तपाईँहरुले बढाउनुभएको यो दूरीलाई कम गर्ने जिम्मा पनि तपाईंहरुको होइन र? बिखण्डनकारीहरुको दिल, दिमागमा लागेको भित्रि घाउलाई पुर्न सकिएन भने आन्तरिक राष्ट्रबाद बलियो हुन्छ कि हुँदैन, त्यो तपाईँहरुलाई बढी थाहा छ। मैले त खोतलिदिएको मात्रै हो।

महामहिमहरुलाई म स्मरण गराउन चाहन्छु कि यो वा त्यो नाममा सदियौंदेखि शासन गर्ने तपाईँहरु नै हुनुहुन्छ। देशमा उत्पीडनमा परेका जातजातिहरुलाई मिलाएर लैजाने जिम्मा शासक जातिहरुकै हुन्छ भन्ने कुरा पनि थाहै छ। उत्पीडनमा परेका जातिहरुले उत्पीडनबाट मुक्तिको माग गर्नु अधिकार हो, त्यो न्यायसंगत हुन्छ भने सदा शासन सत्तामा बसिरहेका शासक जातिहरुले शासन सत्तामा पहिलेकै जस्तै अधिकार पाउँ, बढी खाईपाई आएको अधिकारलाई कायम गरी पाउँ भनी माग गर्नु अधिकार होइन, त्यो दमन हो। त्यस्तो कार्यलाई न्याय संगत मानिँदैन। नेपालको तराईमा बसोबास गर्नेहरुले युगौंदेखि पहाडबाट ठगिएको, हेपिएको महसुस गर्छन्, त्यसमा पनि पहाडका ब्राम्हन, क्षेत्रीबाट। सीमांकन पनि घुमाई फिराई ६ वटा प्रदेश ब्राम्हन क्षेत्रीकै बाहूल्यता पारेर बनाउनुभएको छ। ब्यबस्थापिका संसद र राष्ट्रिय सभामा पनि तराईको प्रतिनिधित्वलाई नाकाबन्दी गर्नु भएको छ। प्रस्तावनामा राख्नु भएको छ, तर धारामा समानुपातिक समावेशीलाई स्वीकार गर्नुभएको छैन। यो तरीकाले सबैको चित्तबुझाउन सक्नुहुन्छ?

अन्तिममा अनुरोध गर्न चाहन्छु कि तराईबासीहरुलाई बिखण्डनकारीको आरोप लगाउने कार्य तपाईंहरु बन्द गर्नपर्छ, आपसी मेलमिलाप र बिश्वास यसरी सम्भव हुँदैन। साथै जातिबादको बिरोध गर्ने तपाईं कम्युनिष्टहरुले देशमा ब्राम्हन, क्षेत्रीको सामुदायिक शासनलाई संस्थागत गर्नुहुन्छ वा सबै जातजातिको शासन ब्यबस्थालाई संस्थागत गर्नुहुन्छ? राज्यलाई यथार्थमै पुनर्संरचना गर्नुहुन्छ वायथास्थितिमै पुरानै विकास क्षेत्रलाई पुनर्संरचना गर्यौंग भनी ढाँट्नुहुन्छ? यो जिम्मा तपाईँहरुको हो। त्यतिमात्रै हैन, देशलाई निकास दिने, विकास दिने, डोर्यांउने, डुबाउने सबै जिम्मेवारी तपाईंहरु बामसरकार र प्रतिपक्ष कांग्रेसको हातमा छ। देशलाई सिङ्गापुर बनाउनुहुन्छ वा हाइटी बनाउनु हुन्छ, सोच्नुस्, गम्भिर हुनुस् र निकास दिनुस्। देश प्रतिक्षामा छ।

बिखण्डनकारीहरुको तर्फबाट
उही देशको भलो चाहने
थारु नागरिक

दिलबहादुर थारु




Leave a Reply

Your email address will not be published. Required fields are marked *