कविता : सिकलसेल एनिमिया

भुपाल राई

के यो भक्त भानुभक्तको राष्ट्रिय भाषा हो ?
अथवा राममणी आदिको सजातीय कविता !
या गोर्खाली हिन्दूस्तानाको राजकीय धर्म !
अथवा महेन्द्रको लवेदा सुरुवाल !
वा शासकीय नश्लको सेफद अनुहार !
के हो यो
‘सिकल सेल एनिमिया’ ?
जसले चुसिरहेछ- भित्रभित्रै
निरन्तर एउटै जातिको रगत ?
भाषा जस्तै
भारदारी नश्ल र धर्म जस्तै
बिभेदकारी भएर
रोगले पनि
सिध्याइरहेछ
केवल थारु जातिको अनुवंश—-
के हुरी चलेकै हो
पश्चिमी मैदानको दलदलतिर ?
जसले एकाएक घटाएको छ कुचिकारहरुको कष्ट !
बढार्नु पर्ने साढे सत्र लाख थारुहरु
बिस्तारै बिस्तारै
आफै बढारिदै गए भने
अवश्य घट्ने छ केहि प्रदुषण
सिथिल बन्नेछ पहिचानको अवाञ्छित हल्ला
र आफैँ कम हुनेछ
राज्यको अतिरिक्त बोझ
रह्यो देशको कुरा
देश त एक निरपेक्ष खण्डहर हो
जो बिना थारु पनि चलिनै रहनेछ
चलिनै रहनेछ—– ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *