देउसिरे चित्कार

प्रणव आकाश।

सन् २०१७ मा स्विडेनको सबैभन्दा ठूलो ‘म्युजिक फेस्टिभल’ मानिने ब्राभला म्युजिक फेस्टिभलमा चार जनाको बलात्कार र २३ जनामाथि यौन दुर्व्यवहार भएको रिपोर्ट आयो। २०१६ को सोही फेस्टिभलमा पनि पाँच जना बलात्कृत र १२ जनाको यौन दुर्व्यवहार भएको थियो। यो घटनापछि ब्राभलाले २०१८ को म्युजिक फेस्टिभल रद्द गर्ने निर्णय गर्‍यो।

यो घोषणाको प्रतिक्रियामा स्विडिस रेडियो संचालिका एम्मा क्निकारेले २०१८ मा रद्द भएको ब्राभला फेस्टिभलको सट्टामा ‘म्यान फ्री’ फेस्टिभल हुने घोषणा गरिन्। आफूले ‘ननमेन कुल फेस्टिभल’ हेर्न चाहेको र यो चाहना तबसम्म रहिरहनेछ, जबसम्म सबै पुरुषहरूले महिलालाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा सिक्ने छैनन्। यो विदेशी घटना भयो। भूगोलमा म अझै नजिक आएँ।

तीन वर्ष अगाडि बर्दियामा साथीको घर जाँदा उसको गाउँमा एउटा कचहरी बसिरहेको थियो। पीडक र पीडित पक्ष आमनेसामने थिए। छिनोफानोका लागि गाउँका मटावाँ बुद्धिजीवी डाकिएका थिए। पीडित र पीडक सोही गाउँका १६ वर्षीया युवती र १८ वर्षीय युवक थिए। साँझ घरमा कोही नभएको मौकामा ती युवकले युवतीलाई जबर्जस्ती करणी गरेछन्। युवतीले लाज र डरले कसैलाई भन्न सकिनन्। पछि पीडकले साथीसंगतमा मजाक मजाकमै आफ्नो कर्तुतको खुलासा गरेछन्। त्यसपछि पीडितका दाजुले थाहा पाएर युवतीलाई केरकार गर्दा घटना बाहिरियो र कचहरी बस्यो। पीडित परिवारको इज्जत जोगाउन पीडक र पीडितलाई विवाह गराएर समस्या सल्टाइयो तर ती युवतीलाई जीवनभर बलात्कृत भइरहने अवस्था सिर्जना गराइयो। यो तीजको समय थियो।

दशैँको बेलामा पश्चिमी थारु गाउँहरूमा रातको समयमा एक महिनासम्म ‘सख्या नाच’ नाचिन्छ। नाच हेर्न मानिसहरू झुन्डझुन्ड बनाएर ओल्लो गाउँ, पल्लो गाउँ जान्छन्। चाडपर्वको अवसर पारेर अधिकांश दर्शकहरू नशामा हुन्छन्। यही साल मात्र म घर (दाङ) जाँदा एउटा अप्रिय घटना सुनेँ। चैलाहीका केही महिलाहरू नाच हेर्न भनी अर्को गाउँ गएछन्। नशामा रहेका केही पुरुषहरूले उनीहरूको पिछा गरिरहेका रहेछन्।

घर फर्किने क्रममा सुनसान ठाउँ भेटेर ती पुरुषहरूले उनिहरुलाई लखेट्न थालेछन्। दोस्रो दिन एक महिला बारीको झ्याङमा होस उडेको अवस्थामा भेटिइन् भने बाँकी दुई महिलाहरू अहिलेसम्म पनि बेपत्ता छन्। नेपालीहरूको पर्व तिहार घरदैलोमा भित्रिइसकेको छ। रातारात देउसी-भैलो खेल्ने परंपरा हामीकहाँ छ। देउसी र भैलो खेलको अभ्यासमा गाँसिएको परिचयले सीमा नाघिदिन पनि सक्छ।

यौनको बारेमा खुलेर बहस हुने देशहरूमा त अझै बलात्कार र यौन हिंसाका घटनामा कमी भइरहेका छैनन् भने हामी त वरिपरि जोखिम लिएर हिँडिरहेका छौँ। कतै देउसी-भैलो खेल्ने बहानामा हामी उच्छृङ्खल गतिविधिको योजनामा त छैनौँ? कसैको योजनाको सिकार बन्नेवाला त छैनौँ? झिनो मानवता बोकेर घिस्रिइरहेको समाजले तपाईं पीडितको चित्कार नसुन्न पनि सक्ला।

चाडपर्व यस्ता घटना हुने संभावित समय हुन्। आवेग र चाहना रोक्न नसक्दा यौनजन्य अपराध नहोला भन्न सकिन्न। दाजुभाइ या अन्य नाता पर्नेले तपाईंलाई धेरै पहिलेदेखि नियालिरहेको हुनसक्छ।

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा ‘एन्टी रेप मुभमेन्ट’हरू चलिरहेका बेला यी मुभमेन्ट (आन्दोलन)का लक्षित समूह र भूगोलको बारेमा विचार गरिएका छन् कि छैनन्? शहर केन्द्रित मुभमेन्टले स्थानीयस्तरमा सन्देशको झिल्को फ्याँक्न सकेको छ कि छैन? छापा, सेमिनार, बजारका चोकमा हुने गतिविधि गाउँमा पनि पुगेको छ कि छैन? मुसा भेट्यो कि झम्टिहाल्ने बिरालो प्रवृत्तिबाट हाम्रो समाज ग्रस्त छ। त्यो एकान्तको सिकार जो पनि हुनसक्छ।

जबसम्म यी विरोधहरूलाई स्थानीयस्तरदेखि नै प्रभावकारी बनाइँदैन, विरोध गर्नुको कुनै तुक देखिँदैन। दिनभर विरोध र्‍यालीमा उभिएको पुरुषले बेलुका गएर आफ्नै श्रीमतीलाई यौन दुर्व्यवहार नगर्ला भन्ने के ग्यारेन्टी? जबसम्म महिलाहरू आफ्नै श्रीमानबाट भोग्नुपर्ने दैनिक हिंसाको विरुद्ध बोल्न सक्ने अवस्था आउँदैन, बलात्कार र यौन हिंसारहित समाजको कल्पना गर्नै सकिँदैन। समृद्ध समाजका लागि नारी-पुरुष दुवै आवश्यक पर्छ।

सोच्नुहोस् त?- तपाईं हाम्रै कारणले हाम्रो देशमा पनि ‘मेन फ्री’ कार्यक्रमहरू संचालन गर्नुपर्ने अवस्था सिर्जना भयो भने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *